काठमाडौैं । सरकारले शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणालाई मुख्य केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको छ ।
सरकारले चालु आर्थिक वर्षका कार्यक्रमको समिक्षा गरी राम्रा कामलाई निरन्तरता दिइने भएको छ । तर, नीति तथा कार्यक्रममा कस्ता विषय समेटिएका छन् भनेर शिर्ष नेता बाहेक कसैलाई पनि थाहा दिइएको छैन । प्रधानमन्त्रीको कोर टिमलाई मात्र नीति तथा कार्यक्रमका बारेमा जानकारी दिएको र छलफल भएको नेकपाका स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको ‘कोर टीम’ले तयार गरिरहेको नीति तथा कार्यक्रमबारे नेताहरू भने अनभिज्ञ छन् । ‘संसदीय दलको बैठकमा प्रधानमन्त्रीज्यूले वृद्ध भत्ता बढ्छ भन्ने संकेत गर्नुभएको थियो, त्यो बाहेक नीति तथा कार्यक्रमबारे सांसदहरूसँग छलफल नै भएन,’ नेकपाका एक सांसदले भने । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कंडेल र प्रधानमन्त्रीका सहयोगीहरूले नीति तथा कार्यक्रमको ड्राफ्ट गरिरहेका छन् । ड्राफ्ट तयार गरेर अर्थमन्त्री खतिवडा विश्व बैंकको कार्यक्रममा सहभागी हुन फिजी गएका छन् । सोही ड्राफ्टलाई प्रधानमन्त्री ओलीले रातिको २ बजेसम्म बसेर अध्ययन तथा परिमार्जन गरिरहेका छन् ।
मंगलबार बसेको सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा समेत प्रधानमन्त्री ओलीले आफुले रातको २ बजेसम्म बसेर नीति तथा कार्यक्रम हेरिरहेको जानकारी गराएका थिए । उनले यो चालु आर्थिक वर्षमा विकास सोचे अनुरुपले गति लिन नसकेकोपनि स्विकार गरेका छन् । तर, आउदो बजेटमा त्यसलाई पूर्ति गर्ने गरी नीति तथा कार्यक्रम आउने बताए ।
‘विगतको वर्षमा कतै धेरै कार्यक्रम र योजना, कतै बजेट कम भएको भन्नेखालको गुनासो पनि आएको थियो । यसपटक त्यस्तो हुन दिँदैनौं ।’ उनले भने,‘आगामी आर्थिक वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतलाई धेरै पछाडि छोडेर जाने गरी नीति तथा कार्यक्रम ल्याउँदैछौं ।’ सरकारले सबै क्षेत्रलाई समान ढङ्गले कार्यक्रम र बजेट दिने गरी योजना बनाएको प्रधानमन्त्री ओलीले उल्लेख गरे । सामाजिक सुरक्षाका कार्यक्रमलाई केन्द्रमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
सरकारले विकास गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागिरहेको दावी गरेपनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने सन्तुष्ट देखिएको छैन । पूर्व बजेट छलफलविनै संसद्मा नीति तथा कार्यक्रम पेश गर्न लागेको भन्दै कांग्रेस चिडिएको छ । सरकारले दुई तिहाइको दम्भ देखाएर संसदीय परम्परा मिच्न खोजेको आरोप कांग्रेसले लगाएको छ ।
प्रधानमन्त्री ओली निकटस्थ नेताका अनुसार ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सफल तुल्याउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ । यसअघि नेकपा सचिवालय बैठकले परिवर्तनको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो । चुनावको समयमा नेकपाले जनतासामु लगेको घोषणा पत्रलाई आधार बनाएर नीति तथा कार्यक्रम आउने नेकपा नेताहरू बताउँछन् ।
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्वाचन घोषणापत्र अनुसारको नआएको, जनताले अपेक्षा गरेअनुसार हुन नसकेको भन्दै नेकपामा पार्टीभित्रै असन्तुष्टि थियो । तर सरकारले अघिल्लो वर्षलाई आधार वर्ष भएको भन्दै अब समृद्धिको यात्रा अगाडि बढ्ने बताउँदै आइरहेको छ । तर, आफ्नै सांसदलाई थाहा तथा सुझाव नलिई बनाइएको नीति तथा कार्यक्रमको विरोध हुने संकेत पाएपछि नेकपाले शनिवार संसदीय दलको बैठक आव्हान गरेको छ ।
शुक्रबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । त्यसको विरोध हुने थाहा पाएपछि शनिवार विहानदेखी सांसदसँग सुझाव माग्ने कार्यतालिका बनाएको छ । संसद्मा सरकारको नीति तथा कार्यक्रमपछि २१ गते बस्ने संसदीय दलको बैठकमा छलफल हुनेछ । मंगलवारको बैठकमा ओलीले आफू व्यस्त रहेको भन्दै सुझावहरू उपनेता र सचेतक मार्फत् उपलब्ध गराउन आग्रह गरेका थिए ।
ओली–प्रचण्डविच छलफल
सत्तारुढ नेकपाका दुई अध्यक्षले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन निरन्तर छलफलमा जुटिरहेका छन् । केही दिनदेखी प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । ‘संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको अन्तिम सल्लाह हामी गदैछौं,’ प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानु अघि अध्यक्ष दाहालले भृकुटीमण्डपस्थित मजदुर दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नीति, कार्यक्रम र बजेटको तयारीमा पनि छलफल हुन्छ । पोहोरका राम्रा– नराम्रा कार्यक्रम, कमजोरी र सफलताको कार्यक्रमका विषयमा छलफल गछौं ।’
प्रतिक्रिया