जीवनजल नै पाइन छाड्यो

काठमाडौं, ११ असार । वर्षासँगै विभिन्न जिल्लामा झाडापखालाका बिरामी बढिरहेका छन् । तर, स्वास्थ्य संस्थामा भने बिरामीका लागि आवश्यक औषधिको अभाव हुन थालेको छ ।
वर्षात्का लागि आवश्यक दुई करोड रकमबराबरको औषधि समयमै खरिद गर्न नसक्दा देशभरका स्वास्थ्य संस्थामा झाडाका लागि आवश्यक औषधि जीवनजल र मेन्ट्रोनको अभाव भएको हो । स्वास्थ्य मन्त्रालयले असारअगावै झाडा–पखालाका लागि छुट्टयाइएको दुई करोड रुपियाँको औषधि खरिद गरी जिल्लामा पठाइसक्नुपर्ने थियो । तर, असारको पहिलो सातासम्म पनि औषधि खरिद हुन सकेको छैन । समयमै औषधि खरिद गर्न नसकेपछि यो वर्ष झाडापखालाको जोखिम बढी हुने समय असारदेखि भदौसम्म औषधि अभाव हुने देखिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुर खरिद प्रक्रियामा भएको ढिलाइका कारण यो वर्ष झाडापखाला प्रकोपको सिजनभर औषधि अभाव हुने बताउँछन् । ‘बल्ल औषधि खरिद गर्ने निर्णय भएको छ,’ निर्देशक डा. ठाकुरले भने, ‘अब यो निर्णयअनुसार खरिद गर्ने हो भने पनि औषधि आउन अझै तीन महिना लाग्छ ।’
नियमानुसार औषधि खरिदको निर्णय विश्व बैंकमा सहमतिका लागि पठाइन्छ । विश्व बैंकले सहमति जनाएपछि टेन्डरलगायत प्रक्रियाबाट औषधि खरिद गर्दा कम्तीमा पनि तीन महिना लाग्छ । यस हिसाबले असार दोस्रो साता औषधि खरिदका लागि सम्झौता भए पनि असोज दोस्रो साता नभई औषधि आउने छाँटकाँट छैन ।
मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष सकिन लागेकाले विभागले रकम फ्रिज हुनबाट जोगाउन हतारमा ७ असारमा औषधि खरिद गर्ने निर्णय गरेको छ । बजेट फ्रिज हुनुभन्दा ढिलै भए पनि खरिद प्रक्रियामा गएर रकम काममा लगाउन बिहीबार बसेको औषधि खरिद समितिको बैठकले उक्त निर्णय गरेको स्रोतको दाबी छ । ‘विभिन्न विवाद निकालेर औषधि खरिद गर्न ढिला गरे,’ स्रोतले भन्यो, ‘अहिले औषधि अभाव भएको चिन्ताले भन्दा पनि रकम नै फ्रिज हुने डरले औषधि खरिद गर्न लागेका छन् ।’
‘जिल्लाका अस्पतालमा मात्र होइन, धेरै स्वास्थ्य तथा उपस्वास्थ्यचौकीमा अहिले झाडाका बिरामीको लाइन लाग्न सुरु भएको छ तर उनीहरूका लागि औषधि जीवनजल र मेन्ट्रोनसमेत सकिने अवस्थामा पुगेको छ,’ डा. ठाकुरले भने, ‘कतिपय जिल्लाबाट त औषधि सकिएको गुनासोसमेत आइसकेको छ ।’
दुई वर्षअघि झाडापखालाकै कारण मध्यपश्चिम र सुदूरपश्चिममा तीन सयभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष पनि त्यस्तो अवस्था अउन सक्ने भएकाले सरकारले झाडापखालाको महामारी देखिएका १८ जिल्लालाई उच्च जोखिमका जिल्लाका रूपमा लिएर सतर्कता अपनाइएको निर्देशक डा. ठाकुरले बताए । उनका अनुसार उच्च जोखिममा राखिएका जिल्लामा जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेलधुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुर छन् । काठमाडौं उपत्यकालाई समेत जोखिम क्षेत्रका रूपमा हेरिएको छ ।

प्रतिक्रिया