नरेन्द्रमान श्रेष्ठ
नेपालमा केवल टेलिभिजनमार्फत विदेशी टेलिभिजन च्यानल हेर्ने गरिरहेकोमा मंसिर १६ गतेदेखि कतिपयको टेलिभिजनमा विदेशी च्यानल आएन । यसले कतिपयलार्ई आफूले नियमित हेर्ने गरेको विदेशी टेलिसिरियलहरू अकस्मात् हेर्न नपाएकोमा रिस पनि लाग्यो होला । त्यसो त कतिपयलाई विदेशी टेलिभिजन च्यानल नआएकोमा पनि केही फरक पनि परेन होला ।
मानिसलाई बाँच्नका लागि नभई नहुने अति आवश्यकीय पानी धाराबाट नआएमा त केही फरक पर्दैन भने विदेशी टिभी नआए के नै फरक पर्ला र ? दिनको १६ घण्टा बिजुली नआए त फरक नपर्नेहरूका लागि टिभी नआए के फरक पर्ला त ? नेपालका नेताहरू, सरकारले झुठो आश्वासन दिँदा पनि देश भ्रष्टाचार, कमिसनतन्त्रमा लिप्त हँुदा अदालतले भकाभक भ्रष्टाचारी, अपराधीहरूलाई छाड्दा त फरक नपर्ने नेपाली नागरिकका लागि विदेशी टिभी च्यानल नआएमा केही फरक पर्ला र ? विदेशी टिभी च्यानल नआएकोमा ठीक भयो भनेर भन्नेहरू पनि त होलान्, एकातिर विदेशी टिभीलाई शुल्क तिर्न परेन भने अर्काेतिर खाना पनि समयमा खान पाइयो होला, बूढीले हिन्दी टेलिसिरियल हेरेर समयमा खान नपाउने थुप्रै छन् ।
विदेशी टिभी नआएकोले कतिपयले समयमा खान पाए होला, तर पनि कतिपयलाई हामीले पनि सेटअप बक्स राख्न प¥यो भनेर बूढीले किचकिच पनि गरिरहेका छन् होला । सायद यो समस्या धेरैको घरमा भइरहेका छन् होला । भन्नु पर्दा डिजिटलले विदेशी टिभी च्यानलका दर्शकहरूलाई एक किसिमको आतंक नै सिर्जना ग¥यो भन्दा पनि फरक नपर्ला । त्यसो त विश्वमा पछिल्लो समयमा नयाँ–नयाँ प्रविधिहरूको विकास भइरहेका छन् नयाँ–नयाँ प्रविधिको प्रयोग भइरहेका छन् । नयाँ–नयाँ प्रविधिहरूको प्रयोग गर्न समयको पनि माग हुन सक्छ ।
टेलिभिजन च्यानलहरू पनि डिजिटल हुनु राम्रो हो, यसले स्तरीय, राम्रो, सफा कार्यक्रम हेर्न पाउँछन् दर्शकहरूले । तर, कतिपय दर्शकलार्ई आर्थिक भार पर्ने भएकोले एनागल र डिजिटल दुईटै प्रयोग गर्न दिनुपर्छ भन्ने धेरै दर्शकको भनाइ रहेको देखिन्छ । विगतमा विदेशी टिभी च्यानल हेर्नको लागि घरको छानोमा एन्टेना ठड्याउनुपथ्र्यो, राम्ररी कार्यक्रम हेर्नका लागि वेला–वेलामा एन्टेना मिलाउनुपर्दथ्यो, तर अहिले शुल्क तिरेरै भए पनि राम्रोसँग विदेशी टिभी च्यानलहरू हेर्न पाइरहेका छन् दर्शकले । नयाँ–नयाँ प्रविधिको प्रयोगले भने दर्शकहरूमा आर्थिक भार पर्ने गरिरहेका छन् भने देशको करोडौँ रकम विदेशमा गइरहेको छ । यसमा सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
देशमा थुप्रै नेपाली टिभी च्यानलहरू प्रसारण भइरहेका छन् । नेपाली र नेवारी भाषाका २० वटा च्यानलभन्दा बढी नेपाली टिभी च्यानलहरू प्रसारण भइरहेका छन् । देशमा नै विभिन्न विषयमा विविध नेपाली टिभी च्यानलहरू मनोरञ्जनात्मक, कृषि, धार्मिक आर्थिक, न्युज च्यानलहरू प्रसारण भइरहेका छन् । तर, पनि कतिपय नेपाली दर्शकहरू विदेशी च्यानल खास गरी हिन्दी च्यानलहरू प्रति आकर्षित भइरहेका छन् । विदेशी टिभी च्यानल खास गरी हिन्दी टेलिसिरियल नहेरी खाएको नै नपचेको जस्तो गर्ने नेपाली दर्शकहरू पनि नभएको भने होइन ।
त्यसो त नेपाली टिभी च्यानलहरूले दर्शकहरूलाई आकर्षित गर्न नसकिएको हो कि कतै दर्शकहरूले नै नेपाली टिभी च्यानलहरू हेर्न मन नपराएको हो कि वा नेपाली टिभी च्यानलहरूले दर्शकहरूको रुचिका विषयमा कार्यक्रमहरू बनाउन नसकिएको हो कि ? त्यसो त टिभीका दर्शक भनेको धेरैजसो महिला, केटाकेटी, गृहिणीहरू नै हुने गरेका छन् । नेपाली दर्शकको रुचि र चाहनाअनुसारको कार्यक्रमहरू बनाउन नसकिएकै हुन् कि ? त्यसो त अधिकांश नेपाली टिभी च्यानलहरूमा समाचारहरू राजनीतिक विषयका कार्यक्रमहरू राजनीतिक सरोकारका कार्यक्रमहरू नै धेरैजसो प्रसारण हुने गरेका छन् । तर, विदेशी टिभी च्यानलहरू खासगरी हिन्दी टिभी च्यानलहरूले खासगरी महिला गृहिणी, युवायुवतीहरूलाई ध्यानमा राखेर कार्यक्रमहरू प्रसारण गर्ने गरिरहेका छन् ।
यसले पनि दर्शकहरू उतापट्टि आकर्षित भएका हुन् कि ? नेपालमा थुप्रै विदेशी टिभी च्यानलहरू केबललाइनमार्फत प्रसारण भइरहेका छन् । केबललाइनबाट विदेशी टिभी हेर्ने दर्शकले केही शुल्क तिर्नुपर्ने हुन्छ । नेपालीको कमाइ टिभीको नाममा मनोरञ्जनको नाममा महिनैपिच्छे करोडौँ रुपियाँ विदेश गइरहेको छ । त्यसमा पनि अहिले फेरि एनालगको सट्टा डिजिटल जडान गर्नुपर्ने बाध्यताले गर्दा दर्शकलाई बढी आर्थिक भार पर्ने देखिन्छ । एनालगबाट डिजिटलमा जाँदा सेटअप बक्स जडान गर्नुपर्ने हुन्छ । सेटअप बक्सको लागि अलग्गै शुल्क तिर्नुपर्छ । महिना–महिनामा रिचार्ज पनि गरिरहनुपर्ने हुन्छ । सेटअप बक्सको पनि केबलवालाहरूले न्यूनतम पाँच सयदेखि तीन हजारभन्दा बढीमा बिक्री गरिरहेका छन् ।
सेटअप बक्सको मूल्यमा पनि समानता छैन । एनालगमा एउटै लाइनबाट दुई–तीन वटा टिभी हेर्न सकिन्छ भने सेटअप बक्स राख्दा एउटा बक्सले एउटा टिभी मात्र हेर्न सकिन्छ । परिवारमा दुई–तीन वटा टिभी हेर्ने गरिरहेका छन् भने सेटअप बक्स पनि अलग–अलग नै राख्नुपर्ने हुन्छ । रिचार्ज पनि अलग–अलग नै गर्नुपर्ने हुन्छ । यसले गर्दा विदेशी टिभी च्यानल हेर्ने दर्शकमा आर्थिक भार बढी पर्ने देखिन्छ । सेटअप बक्सले पनि देशको करोडौँ रकम बिदेसिने देखिन्छ ।
त्यसो त इन्टरनेसनल टेलिभिजन एकाइ आइटियुले नै एनगल प्रविधिलाई विस्थापित गरी डिजिटल प्रविधि लागू गर्नुपर्ने नियम लागू गरेको थियो । तर, पनि हाम्रो जस्तो देशका लागि एनागल र डिजिटल दुवै प्रयोगमा राखिराख्नुपर्ने धेरैजसो दर्शकहरूको भनाइ रहेको देखिन्छ । कतिपय दर्शकहरूको आफ्नो च्वाइस र क्षमताअनुसार हेर्न पाउनुपर्ने भनाइ छ । हाम्रा दर्शक पनि कम बाठा छैनन् । एउटा केबललाइन लिएर आफ्नो घरमा भाडामा बस्नेलाई मात्र नभई छरछिमेकलाई पनि वितरण गरेर फाइदा लिन्छन् । यसले केबलवालाहरूलाई त नोक्सान नै हुन्छ । राजस्वमा पनि नकारात्मक असर पर्छ । अब डिजिटलमा गएपछि यस्तो हुने सम्भावना रहँदैन भनेर पनि सरोकारवालाहरू बताउँछन् । तर, चोरको हजार दाउ भन्ने उखान पनि छ । खाने मुखलाई जुँगाले छेक्छ र ? भनेर पनि भन्ने गरेका छन् ।
एकातिर एनागलबाट डिजिटलमा जाने भएपछि दर्शकलाई बढी आर्थिक भार पर्ने देखिन्छ भने नेपालको करोडौँ रकम बिदेसिने देखिन्छ, तर पनि विदेशी टिभी च्यानलहरूप्रति आकर्षित भइरहेका नेपाली दर्शकलाई स्वदेशी च्यानलहरूले आकर्षित गर्न सकिरहेका छैनन् वा कोसिससमेत गरेका छैनन् । विदेशी टिभी च्यानलहरूप्रति आकर्षित भइरहेका कतिपय दर्शकलार्ई नेपाली टिभीप्रति आकर्षण गर्नुपर्छ । नेपाली टेलिभिजन च्यानलहरूले आफ्ना कार्यक्रमहरू निर्माण गर्दा सबै वर्गका दर्शकलाई ध्यानमा राखेर उनीहरूको चाहना र रुचिलार्ई ध्यान दिनुपर्छ ।
प्रतिक्रिया