प्रदीप उप्रेती
घरेलु राजनीतिक द्वन्द्वको चपेटामा परेको मुलुकले द्वन्द्वात्मक प्रभावका कारण आर्थिक सम्पन्नता हासिल गर्न कदापि सक्दैनन् । किनकि, द्वन्द्वको मूल कारक तत्व भनेकै आर्थिक अराजकता एवं गरिबी नै हो । यस अवस्थाबाट मुक्ति त्यो वेला सम्भव रहन्छ, जब आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ । जबसम्म मुलुकमा स्थायी शान्ति बहाल रहने अवस्था रहँदैन तबसम्म आर्थिक प्रगतिका सम्भावनाहरू अत्यन्त न्यून रहन्छन् । यसका लागि पूर्ण शान्ति तथा राजनीतिक स्वतन्त्रताको सुनिश्चितता अर्को महत्वपूर्ण तत्व हो । किनकि, द्वन्द्वात्मक त्रासको परिवेशमा नागरिक समाजले आर्थिक विकासका लागि आवश्यक पर्ने खाकाहरूमा सही निर्णय दिन सक्दैन । तसर्थ द्वन्द्वात्मक पृष्ठभूमिलाई अन्त्य गर्ने निहित उद्देश्यले हालै मात्र मुलुकमा तिनै तहको निर्वाचनसम्बन्धी कार्यक्रमहरू सम्पन्न भई नतिजासमेत प्राप्त भइसकेको छ ।
राजनीतिक समस्या समाधान भइसकेको वर्तमान परिवेशमा मुलुकको हितको खातिर आर्थिक समृद्धि गर्नुपर्ने हुन्छ । यस अवस्थापश्चात् मुलुकमा धनी र गरिबबीचचको असमानतालाई क्रमबद्ध रूपमा अन्त्य गर्दै आर्थिक विकास एवं समृद्धि हासिल गर्न सम्भव देखिन्छ । तर, यसका लागि राजनीतिक स्थिरता आवश्यक पर्छ । बारम्बार मुलुकमा सरकार परिवर्तन हुने क्रमले राजनीतिमा अराजकता हाबी हुने प्रबल सम्भावना रहन्छ । यसपश्चात् विकृत राजनीतिको प्रभावस्वरूप सरकार बनाउने र खसाउने कार्यले प्राथमिकता पाई नागरिक सरोकारका कार्यमा अवरोध सिर्जना भई नैराश्यको वातावरण तयार हुने परिस्थिति जन्म हुनेछ । यस भ्रमलाई चिर्न मुलुकमा हालै सम्पन्न भएको निर्वाचनजन्य गतिविधिले केही सकारात्मक परिणाम औँल्याएको देखिन्छ । स्थिरता र समृद्धि नामक नाराका प्रभावस्वरूप निर्वाचनको परिणाम वाम गठबन्धनको पक्षमा अत्यधिक मात्रामा पर्न गएको हो । यस परिणामले अन्ततः मुलुकका अन्य लोकतान्त्रिक शक्तिलाई अवश्य पनि झस्काएको छ भन्दा फरक नपर्ला ।
वर्तमान मुलुकको राजनीतिमा मतपरिणामले निम्ताएको अवस्थापश्चात् प्रजातन्त्रको मूलभूत आदर्शअनुसार अल्पमतको पनि कदर गर्दै मुलुकमा आसीन रहेका अन्य लोकतान्त्रिक शक्तिहरूलाई काँधमा काँध मिलाएर लैजानुपर्ने अवस्था सिर्जना भएको छ । यसका अतिरिक्त मुलुकको भौगोलिक परिवेशअनुसार छिमेकी राष्ट्रको हकमा चिढाएर भन्दा रिझाएर कार्य गर्न सक्षम रहेमा कुटनीतिको क्षेत्रमा अत्यधिक सफलता हात लाग्नुको साथै शान्ति एवं स्थिरताका लागि यस प्रकारका कदमहरू कोसेढुङ्गा साबित हुने देखिन्छ । अन्यथा वैदेशिक कुटनीतिको क्षेत्रमा असफलताबाहेक अन्य केही हात नलाग्ने प्रस्टै छ । यस्ता क्रियाकलापले मुलुकको छवि विश्वमाझ धमिलिन जान सक्ने सम्भावनाहरूलाई नकार्न सकिँदैन ।
तसर्थ नेपालका वाम शक्तिले पुरातन वाम विचारधारामा आधारित नभई वर्तमान एक्काइसौँ शताब्दीको प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता प्रति पूर्ण–कटीबद्ध रहेको प्रत्याभूति बहुसख्यत नेपाली समाज देखिन लिएर विश्व जनमतलाई देखाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको छ भन्दा त्यति अत्युक्ति नहोला ।
यस तथ्यलाई थप प्रस्ट्याउनका लागि आजका वाम शक्ति पनि मुलुकका अन्य लोकतान्त्रिक शक्तिसरह केवल प्रजातन्त्रका हिमायती राष्ट्रवादी शक्ति मात्रै हुन्, देखिनबाहेक किमार्थ अधिनायकवादका पक्ष–पोषक हुन सक्दैनन् । तसर्थ वाम गठबन्धनसँग विश्व जनमतलगायत अन्य कुनै समूह पनि त्रसित रहनु पर्ने अवस्था पक्कै पनि होइन । सामान्य हिसाबले हेर्दा आजको बदलिँदो परिवेशमा हिजोको पुरातन वाम विचारधाराले मात्र मुलुक हाँक्न कदापि सकिँदैन । यसमा किञ्चित् विचलित हुन पुगे अवस्था सोचेभन्दा नाजुक हुनेछ ।
किनकि, प्रजातन्त्रको मूलभूत सिद्धान्तअनुसार राज्यका वास्तविक निर्णायक शक्ति भनेका मुलुकका राजनीतिक दलहरू नभई सर्वशक्तिमान सार्वभौमसत्तासम्पन्न नेपाली जनता भएको यथोचित सत्यलाई हामीहरू कसैले पनि भूल्नु हँुदैन । तसर्थ मुलुकमा राजनीतिक द्वन्द्वात्मक अवस्था लगभग समाप्तप्रायः भइसकेको हँुदा स्थायित्व आवश्यक देखिन्छ । आर्थिक विकासको प्रतिफल गाउँ–गाउँसम्म पु¥याउनको लागि राजनीतिक स्थिरता अपरिहार्य तत्व हो, किनकि स्थिर राजनीतिक परिवेशले नै सच्चा आर्थिक विकास सम्भव देखिन्छ ।
यसका लागि हालै सम्पन्न निर्वाचनबाट वाम शक्तिले प्राप्त गरेको जनादेशले मात्रै पूर्ण स्थिरता कायम रहन्छ भन्न सकिँदैन । तसर्थ लोकतन्त्रमा पूर्ण आस्थावान् रही मुलुकका अन्य लोकतान्त्रिक समूहरूसँग मिलेर अगाडि बढ्नु नै श्रेयष्कर देखिन्छ । यस्ता सकारात्मक कार्यले लोकतन्त्रको मूल्य, मान्यता र आदर्र्श अझ माथि चुल्याउन मद्दत पुग्नुका साथै आर्थिक विकासको महान् अभियानमा दलीय व्यवहारमा सहयोगात्मक भावनाको अभ्यूदय हुनेछ भन्दा फरक नपर्ला ।
होइन, यसविपरीत जनमतको मातमा एक्कै हिँड्ने प्रयत्न गरेमा तदुप्रान्त प्राप्त हुने नतिजा यस्तै हुन्छ भनेर भन्न सकिँदैन । सकारात्मक सोचाइको अभिवृद्धि गर्दै सम्पूर्ण लोकतान्त्रिक शक्तिमाँझ सहमतीय व्यवहारलाई आत्मसाथ गर्ने चेष्टा राख्ने हो भने वाम गठबन्धनले सोचेभन्दा बढी सफलता हासिल गर्न सक्ने प्रबल सम्भावना रहन्छ ।
यसका अलावा छिमेकी राष्ट्रलगायत अन्तर्राष्ट्रिय जगत्ले वाम गठनलाई हेर्ने नजर अन्य लोकतान्त्रिक समूहभन्दा फरक भएको हँुदा अत्यन्तै संयमताका कार्य गर्नुपर्ने हुन्छ । हिजो सत्ताबाहिर रहेको अवस्थामा गरिएको मूल्यांकनभन्दा आज भिन्नै परिवेश भएको हँुदा न्यूनतम मापदण्डलाई आधार बनाई वाक् युद्धलाई भन्दा पनि विवेकलाई प्रयोग गर्नु नै यथार्थ रूपमा सच्चा आदर्श राजनेता तथा प्रजातान्त्रिक शक्तिको रूपमा विकसित हुने तथ्यलाई अन्यथा लिन सकिँदैन । शीत युद्धले शान्तिको बाटो गतिरोध मात्र उत्पन्न गर्ने भएको हँुदा यस्ता व्यवहारमा सचेतता अपनाउँदै अग्रगामी निकासका लागि कार्य गर्नु नै मुलुक, लोकतन्त्र र आर्थिक समृद्धिको लागि हितकर देखिन्छ ।
अतः आमनेपाली नागरिक समाजले संसद्को पूरा समयावधि ५ वर्षका लागि मात्र आसन्न निर्वाचनमार्फत जनादेश प्रदान गरेको हँुदा विशेष हेक्का राख्नु उपयुक्त हुनेछ । बहुमतका सन्दर्भमा मनन गर्नुपर्ने हुन्छ कि, राजनीतिक चेतनाको अभावमा कहिलेकाहीँ व्यवधानको अवस्था सिर्जना हुन सक्ने परिस्थितिलाई नजरअन्दाज गर्न पक्कै पनि मिल्दैन । किनकि, यसअघिको मुलुकको निर्वाचनको व्यवहारलाई एक पटक नियालेर हेर्ने हो भने नेपाली कांग्रेसको पूर्ण बहुमत प्राप्त प्रतिनिधिसभाको कुल सदस्य सख्याको २ सय ५ सिटमध्ये १ सय १३ को बहुमत भएको अवस्थामा समेत मध्यावधि निर्वाचनको घोषणा गरिएको तथ्यलाई हेक्का राख्दै विवेकपूर्ण ढङ्गले कार्य गर्नु समयसापेक्ष हुनेछ । यहाँ विचारणीय पक्ष के छ भने चरम राजनीतिक शिक्षाको अभावको साथै अवस्था हेरी दल परिवर्तन गर्ने प्रवृत्तिका कारण आज प्राप्त भएको बहुमतको अहंकारले नेपाली काग्रेसले अपनाएजस्तो व्यवहारको पुनरावृति हँुदैन भन्ने के ग्यारेन्टी दिन सकिन्छ ।
सस्तो लोकप्रियताको लागि बहुमतको आड तथा आर्थिक समृद्धिको नाममा मुलुकको गणतन्त्रात्मक संविधान ०७४ को प्रस्तावनामा रहेका अपरिवर्तनीय धारालाई विचलित पार्ने वा जनादेशलाई अनादर गर्ने चेष्टा कहिल्यै कुनै पक्षबाट हुनु मुलुक, लोकतन्त्र तथा आमनागरिक समाजको लागि अहितकारी व्यवहार हुन् । यी र यस्ता तत्वहरू हुन्, जसमा अन्यथा भए जनआक्रोश बढ्न गई जनविद्रोहको सम्भावनालाई नकार्न सकिँदैन ।
तसर्थ, वर्तमान परिवेशमा मुलुकको आर्थिक विकास नचाहने नेपाली को होला सम्पूर्ण पक्षलाई समिटने गरी गरिएको आर्थिक विकासले नै सही अर्थमा आर्थिक समृद्धिको मार्गलाई पहिल्याउने देखिन्छ । तर, यस प्रयोजनको लागि सर्वप्रथम आर्थिक समृद्धिको सम्भावना भएको क्षेत्र पहिचान गरी योजनाबद्ध रूपमा गुरु योजनाहरू तयार गर्ने कार्यमा विलम्ब नगरी कार्य गर्नुपर्ने हुन्छ । तत्पश्चात् अन्य विकास निर्माणका कार्यहरूले आफ्नो गन्तव्यलाई क्रमशः अगाडि बढाउँदै लक्ष्य प्राप्ति उन्मुख पथमा अगाडि बढ्नेछ ।
यी सम्पूर्ण कुरा त्यो वेला सम्भव देखिन्छ जुनबखत मुलुकका सम्पूर्ण लोकतान्त्रिक शक्ति मुलुकको हितको लागि एकै ढिक्का भई एउटै स्वरमा स्वर मिलाई कार्य क्षेत्रमा क्रमशः अगाडि बढ्ने प्रयत्न गर्ने चेष्टा राख्नेछन् । अतः विकास भन्ने कुरा निरन्तर रूपमा चल्ने प्रक्रिया भएको हँुदा मौन रूपमा समृद्धि हासिल गर्नेतर्फ सकारात्मक पाइला चालौँ । जनमत आफैँ नै बढ्ने कुरालाई अन्यथा लिनै पर्दैन । यसविपरीत अवस्था भए तिरस्कार भोग्नुबाहेक अन्थया केही प्राप्ति नहुने निश्चित छ । तसर्थ, यस्ता व्यवहारलाई आत्मसात गर्ने तदारुकता देखाउने हो भने निश्चित रूपमा मुलुकमा स्थायी शान्ति बहाल रही स्थिरता एंव आर्थिक प्रगति हासिल हुनेछ ।
प्रतिक्रिया