जनता नै जागौँ

डिसेम्बर ९ तारिख भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय दिवस विश्वभरि र नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइयो । सन् २००३ मा संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ९ तारिखलाई भ्रष्टाचारविरूद्ध अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएपछि यसको प्रचारप्रसार व्यापक मात्रामा हुन थालेको हो । अहिलेसम्मको अन्तर्राष्ट्रिय अध्ययनले के देखाएको छ भने जहाँ गरिबी छ, त्यहाँ भ्रष्टाचारको अदृश्य र नग्न उपस्थिति रहने गर्दछ । उदाहरणका लागि भन्नुपर्दा खाद्यान्न खरिद, सडक निर्माण, औषधि खरिदजस्ता शीर्षकमा सम्बन्धित व्यक्तिले सेवाग्राहीबाट परिबन्दमा पारेर रकम असुल्ने गरेका अनेक उदाहरणहरू हामी हाम्रै देश र अन्य छिमेकी मुलुकमा पनि पाउन सक्छौँ । तर, विकसित मुलुकमा भने हतियारको सौदाबाजी गर्दा यस प्रकारका भ्रष्टाचारका घटनाहरू पटकपटक दोहोरिइरहने गरेको पाइन्छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि कुनै पनि व्यक्तिविशेषले आफ्नो आचरणलाई भ्रष्ट बनाउँछ भने त्यही नै भ्रष्टाचार हो । नेपालमा यसका नियमनकारी निकायहरू हुँदाहुँदै पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समाजमा भ्रष्टाचार मौलाइरहेको छ । स्थिति यतिसम्म बिग्रिसकेको छ कि सरकारी कार्यालयमा ‘घुस नखुवाइकन कुनै काम पनि बन्दैन’ भन्ने जनमानसमा परेको छ । मुलुकमा गणतन्त्र स्थापना भएको एक दशक हुँदा पनि भ्रष्टाचारजस्तो सामाजिक विकृति अन्त्य हुन नसक्नु आफैँमा विडम्बनापूर्ण विषय हो । राज्यले नागरिकलाई उपलब्ध गराउने अधिकांश सेवामा कर्मचारीले सेवाग्राहीबाट अनेक प्रकारका अवाञ्छित लाभ लिने गरेको उदाहरण प्रसस्तै पाइन्छन् ।

पृथ्वीनारायण शाहले घुस लिने र दिने दुवैलाई राष्ट्रका शत्रु मानेका छन् । कानुनतः यी दुवै अपराधी हुन् । भ्रष्टाचारको कथा–व्यथा मानव सभ्यताको विकास र इतिहाससँगै यो सामाजिक विकृतिको उत्पत्ति भएको मानिन्छ । शिक्षा र चेतनाको हिसाबले पछि परेको समाजमा भ्रष्टाचारजन्य विकृति झन् बढी मौलाउने गर्दछ । त्यसकारण, घुस लिने र दिने दुवै समान रूपमा दण्डका भागिदार हुन सक्छन् भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै भ्रष्टाचारविरूद्ध व्यापक मात्रामा जनचेतना जगाउनु आजको प्राथमिक आवश्यकता हो । वर्षमा एक दिनमात्र यो दिवसका नाममा अभियान सञ्चालन गर्दा त्यसको प्रभावकारिता कम हुनेछ भने यसरी नजिता पनि प्राप्त हुन सक्दैन । तसर्थ, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता सरकारी निकायले वर्षैभरि भ्रष्टाचारविरूद्ध जनचेतनामूलक ¥याली र सभाहरू आयोजन गर्न सके यसले फलदायी परिणाम दिन सक्ने आशा गर्न सकिन्छ । यो अभियानमा हामीले सरकारको मात्र मुख नताकी जनताको तहबाट पनि भ्रष्टाचारविरुद्धको अभियानलाई सञ्चालन गरिनुपर्दछ ।

प्रतिक्रिया