कविता : “म सगरमाथा चढ्ने”

dr bisnu rai copy
डा. विष्णु राई

तपाईंले ठीक भन्नुभयो
वसन्त जी
म सगरमाथा चढ्न हिँडेको मान्छे
चुच्चेढुंगा आरोहण गरेँ
सबैका मन झोलामा बोकेर हिँडेको म
तारो भएँ
वसन्त तपाइलार्इं थाहा हुनपर्ने
जीवनका सयौँ घुम्तीहरू
भिरभन्दा अप्ठ्यारा छन्
सयौँ भेटिएका मान्छेहरू
वसन्तजस्ता हुँदैनन् ।
बाटो भत्काउँछन्
केही मान्छे अँध्यारोमा
अगाडि हिँडेको मन पराउँदैनन्
घात गर्छन्
सुन्दर देख्न मन् पराउँदैनन्
उसको पछाडि अरू छन्
बुझ्दैनन्
जति नै असल छु भन्नोस् वसन्त
जुनले पनि कुरा काट्छन्
पूmलै दिए पनि
हुरीले बाधा गर्छ
मान्छे
मान्छेको डरलाग्दो सत्रु हो ।
सगरमाथा हराउन हिँडेको म मान्छे
ठान्थेँ
मलाई सबैको होस्टे छ
अफसोस वसन्तजी
मैले चढ्न लागेको देखेर
बाटोहरूले नै खाल्डो खने
कुनै ढुंगाहरूले
अँध्यारोमा मलाई ढुंगा हाने
आकाशमा हिउँको आँधी ल्याए
मेरोविरुद्ध आगो बाले
तपार्इंजस्ता सबै वौद्धिक हुँदैनन्
वसन्त ।
ठीकै भन्नुभयो
यार
म हिमाल चढ्न पर्ने मान्छे
फगत, सानो पर्वत मात्र उक्लिएँ
बल्न पर्ने मान्छे
अँध्यारोमा नै लोप भएँ
भाग्य भनूँ कि बुद्धि पुगेन भनूँ
आफ्नैहरूले गर्धन ताक्छन्
गाँस खोसेको थिइनँ
न त हिम्मत गर्छ
पर्वत उक्लन
मान्छे मान्छेलाई नै मारेर
बहादुरीको तक्मा भिर्छ
अहमको फुर्ती गर्छ
वसन्त
ठीकै भन्नुभयो
सगरमाथा चढ्न पर्ने मान्छे म
सानो ढुंगा चढेर हात हल्लाइरहेछु
आरोहणको
अब त पश्चिम ढल्केको उमेरको साँझ
पर्वतसँग निहुँ खोज्ने कुरै भएन
आफ्नै जिन्दगीको पर्वत चढेर
कतै कुनै साँझमा उभिएको छु
वसन्त जी,
देख्नेहरूले भन्लान् – थाकेछ
कुरा काट्नेहरूले काट्लान – बिग्रेछ
प्रवाह छैन अब
बाटो नभएको मान्छे
अर्काको अवरोध गर्दै बस्छ ।

प्रतिक्रिया