युगका एक कवि भूपि शेरचनले कुनै बेला नेपाललाई हल्लै हल्लाको देश भनेका थिए, ‘यो हल्लै हल्लाको देश हो’, कवितामार्फत् । ०२४ सालमा प्रकाशित भूपिको उक्त कविताको सान्दर्भिकता उस्तै छ, हल्लै हल्लामा चलिरहे छ देश अहिले पनि । उनको कवितामा भनिए जसरी निधारमा कर्कटपाताजस्तो चाउरी परेकाहरू युवाका अगुवा छन् । यहाँ कृषि मेलाहरूमा दोब्बर उब्जनी दिने वीउहरूको प्रदर्शनी गरिन्छन् अनि भोक, अभाव र गरिबीले जर्जर बनेका जीवनहरूको समाचार छापिन्छन् दिनदिनै । यहाँ आमाहरूले छोरा होइन लाहुरे जन्माउँछन्, कमसेकम पनि ‘अरबे लाहुरे’ । भूपिले त्यतिबेला देखेका नेपाल र अहिलेको नेपालमा थोरै फरकपन आएको छ । समयजस्तै संसारका हरेक पदार्थ गतिशील हुन्छन् त्यसैले परिस्थिति र देश पनि बदलिँदै जान्छ ।
समयसँगै बदलिँदै गएको परिस्थितिको उपजकै कारण अहिले द्रव्य पिसाचहरूको देश बनेको छ, नेपाल । ओहोदा जुनसुकै हुन सक्छ, त्यसमा विराजमान सबै नेपालीमा द्रव्य पिसाचको छायाँ देखिन्छ । ओहोदाले त परिमाण मात्र न फरक पारेको छ । बडे ओहोदामा बस्नेको बडै कमाई । त्यसो त साना ओहोदामा बस्नेको कमाई पनि एक नासको देखिँदैन, जति चेन्जोमेन्जो मिलाउन सक्यो उति कमाई । जसको हातमा डाडुपन्यु छ, उही द्रव्य पिसाच बनेपछि कसको पो के लाग्छ ? जसले कारोबजारीलाई रोक्नुपर्ने हो उही कालोबजारी संलग्न भएपछि कसले रोक्छ कालोबजारी ? अनुगमन गर्नुपर्नेहरू कानमा तेल हालेर बसेपछि कालोबजारी गर्नेहरू कोसँग नै डराउनु प-यो र ? द्रव्यका लागि कालोबजारी समाजको हरेक तह र तप्कामा छ्यापछ्याप्ति बढेको छ, यहाँ अनुगमन हुन्न अनि कार्बाही गरिन्न । मौकामा चौका हान्न पल्केकाहरू द्रव्यको खेतीमा तल्लीन छन्, हिजोआज । त्यसैले त ‘सेटिङ’ गर्न सक्नेहरू रातारात मालामाल भइरहेका छन् । इन्धन, फलफूल, नून, तेल, दाल, चामल हर वस्तुमा कालोबजारी मौलाएको छ । सार्वजनिक सवारी साधनको हालत उस्तै छ । सकेजति बढी भाडा असुल्लने दाउमा हुन्छन्, सार्वजनिक यातायातका कर्मचारीहरू ।
हर क्षेत्रमा कालोबजारी फस्टाएपछि महँगीको चपेटामा परेका छन् सर्वसाधारण । त्यसो त सर्वसाधारणले अभावकै बिच पनि कालोबजारीमा दैनिक उपभोग्य वस्तु खरिद गरेर जेनतेन जीवन चलाइरहेका छन् । कालोबजारीमा आवश्यकताका हरेक वस्तु खरिद गर्नुपर्दा सर्वसाधारणको क्रयशक्ति विस्तारै घट्दै गएको छ । अभावले आक्रान्त बन्दै गएका छन्, नेपाली जनता । भारतको नाकाबन्दी कारण यस्तो स्थिति सिर्जना भएको जनताले बुझेका छन् । तर, कालोबजारीलाई मात्र नियन्त्रण गर्ने हो भने पनि जनताले धेरै राहात महसुस गर्ने छन् । सरकारले यो दिशामा कदम चाल्न किन्चित ढिला गर्नु हुन्न । द्रव्य पिसाचहरूलाई ठिंगुरो लगाउँनै पर्छ ता कि जनसाधारणको वाध्यतामा फाइदा उठाउने कसैले हिम्मत नगरोस् ।
प्रतिक्रिया