काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा ‘स्वार्थी संसार’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर आवाज धनी स्वरुपराज आचार्यको स्वर रहेको छ ।
लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको यसमार्फत पुनरागमन भएको हो । उक्त ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्ममार्फत अपलोड गरिएको छ ।
वास्तविक घटनामा आधारित एवं बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना बेहोरेको भाव र सन्देश यस गीतमा रहेको छ । आजभोली मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार खतिवडाका यसभन्दा पहिला पनि दर्जनौँ गीतहरु बजारमा आएका छन् । ‘सम्झनाका पाइलाहरू’ नामक गीति संग्रहमा १०९ वटा गीतहरू समावेश छन् भने स्ववदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौँ गीत बजारमा रहेका छन् । गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार खतिवडा सरकारी सेवामा छन् ।
प्रतिक्रिया