जम्बो टिम किन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिमण्डल विस्तार गरेका छन् । यससँगै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ । सामाजिक सञ्जालहरूमा नानाभाँती प्रतिक्रियाहरू आएका छन् । कतिपयले प्रधानमन्त्रीको टिमलाई ‘भलिबल टीम’ को संज्ञा दिएका छन् । उपप्रधानमन्त्री ६ जना बनाएकोप्रति उनीहरूले यस्तो व्यंग्य गरेका हुन् । बिहीबार प्रधानमन्त्री ओलीले आफ्नै दल एमाले उपाध्यक्ष भीम रावल, माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेपछि अहिले नेपालमा ६ जना उपप्रधानमन्त्री बनेका छन् । नेपालको इतिहासमै ६ जना उपप्रधानमन्त्री बनेको यो पहिलो पटक हो । यसअघि नै फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी उपप्रधानमन्त्रीको रूपमा कार्यरत छन् ।

भारतको अघोषित नाकाबन्दीले जनजीवन अस्तव्यस्त रहेका बेला मन्त्रीमण्डल जम्बो बनाएका प्रधानमन्त्री ओलीको आलोचना बढेको हो । मुलुकको अर्थतन्त्र डामाडोल भएका बेला सरकारी खर्चलाई कम गर्नुको सट्टा मन्त्रीमण्डल झन्झन् ठूलो बनाइनु गतल कदम हो । अहिले इन्धनको चरम अभाव छ । इन्धन अभावका कारण जनताको दैनिक अत्यन्तै कष्टसाध्य छ । यस्तो बेला सरकारले सहयोग गर्ला भनी आशा गरेर बसेका जनताले अनावश्यक रूपमा ६–६ जना उपप्रधानमन्त्री बनाइएको रुचाएका छैनन् । सरकार आफैँ जनतालाई किफायती हुन अनुरोध गर्ने अनि आफैँ चाहिँ जम्बो टीम बनाएर राज्यको ढुकुटी सिध्याउन खोज्दा जनतामा निरासा छाउनु स्वाभाविक हो । जनतामा निरास भएका बेला कुनै पनि मुलुकले प्रगति गर्न सक्दैन ।

संविधान निर्माणपछि बनेको सरकार तथा सत्ता गठबन्धनका दलहरू मुलुकलाई विकासको गतिमा लाने चर्को भाषण गर्दै आएका छन् । तर, जनताले महसुस गर्ने गरी नयाँ सरकारले कुनै पनि सकारात्मक काम गर्न सकेको छैन । दलीय भागण्डा मिलाउनुमै मात्र उनीहरूको दिनहरू गुज्रिरहेको छ । सरकारले अहिलेसम्म आर्थिक विकासको ठोस योजना सार्वजनिक गर्न सकेको छैन । अहिलेसम्म सरकारले न त दीर्घकालीन लक्ष्य तय गरेको छ न त अर्पकालीन रूपमा वर्तमान समस्या समाधान गर्ने पहल नै गरेको छ । बरु इन्धन अभावको संकट समाधान गर्ने दिशामा सरकारले चालेको कमद पनि सुस्त छ । चीनबाट इन्धन ल्याउनेबारे पनि सरकारले ठोस रूपमा सम्झौता गर्न सकेको छैन । भारतसँगको सम्बन्ध सुधार्ने दिशामा पनि वर्तमान सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन । यता मधेसी मोर्चालगायत आन्दोलनरत पक्षलाई मनाउने दिशामा पनि सरकार असफल बनेको छ । यसरी हेर्दा सरकार असफलताको बाटोतिर जाँदै छ कि भन्ने भान हुन्छ । तर, सुरुवातमै नकारात्मक सोचको विकास नगरौँ । जनजीवन सहज बनाउने दिशामा मन्त्रिमण्डलले पूर्णता पाएपछि सरकार सफल बनोस् भन्ने कामना गरौँ । यति हुँदाहुँदै पनि अहिले जम्बो मन्त्रिमण्डल चाहिँ किन ? जनताले प्रश्न गरिरहेका छन् । त्यसैले वर्तमान मन्त्रिमण्डलले आफ्नो औचित्य चाँडै सावित गर्नसक्नुपर्दछ ।

प्रतिक्रिया