प्रतिष्ठान थप सशक्त हुने

काठमाडौं : इटहरीमा स्थापित संगीत साधना प्रतिष्ठानले सांगीतिक जनशक्ति उत्पादनमा थप सशक्तताका साथ लागिपर्ने उल्लेख गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । त्यसका लागि अहिले ६ करोड रुपियाँको लागतमा संरचना निर्माणको तयारी भइरहेको बताइयो ।
ध्वनि व्यवस्थापनसहितको संगीत कक्ष, नेपाली जातजातिका लोक तथा परम्परागत बाजाको संग्रहालय, संगीतका विधागत कक्षाकोठा, अनुसन्धान कक्ष, अडियो तथा भिडियो लाइब्रेरीका साथै आवास कक्ष पनि निर्माण गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । इटहरी नगरपालिका-२ मा निर्माण थालिएको प्रतिष्ठानको करिब १० कठ्ठा जग्गामा इटहरी नगरपालिका र जनस्तरको सहयोगबाट काम भइरहेको आयोजक संस्थाका सचिव राजु केसीले जनाए । प्रतिष्ठानले विगत एक सय सातादेखि सञ्चालन गर्दै आएको सांगीतिक शृंखला सप्तकका कारण सहयोग गर्नेहरू बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया