१३औँ म्युजिक खबर अवार्ड : शम्भूजीत बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना’ सम्मान

काठमाडौं । नेपाली गीत-संगीत क्षेत्रका मूर्धन्य संगीतकार शम्भूजीत बास्कोटालाई ५१ हजार रुपैयाँ नगद राशि र विशेष सम्मानसहित ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ बाट सम्मानित गरिएको छ ।

काठमाडौंको बालुवाटारमा आइतबार सम्पन्न ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड’ समारोहमा बास्कोटालाई नेपाली संगीत क्षेत्रमा पुर्याएको अनवरत र अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ विगत १३ वर्षदेखि आयोजना हुँदै आएको यस प्रतिष्ठित अवार्ड समारोहका प्रमुख अतिथि, नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाले संगीतकार बास्कोटालाई दोसल्ला ओढाएर सम्मानपत्र र ५१ हजार रुपैयाँ नगद राशि सहित सो सम्मान प्रदान गरे ।

अवार्डका अध्यक्ष सुमन पण्डितका अनुसार, समारोहमा संगीतकार बास्कोटाको सम्मानमा गायिका टीका प्रसाईँले विशेष सांगीतिक प्रस्तुति समेत दिनुभएको थियो। म्युजिक खबरको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजना तथा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बास्कोटाका साथै अन्य विभिन्न श्रष्टा र विधामा अवार्डहरू वितरण गरिएको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्वमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइराला, वरिष्ठ लेखक निर्देशक मोहन निरौला, वरिष्ठ लेखक निर्देशक प्रकाश सायमी, वरिष्ठ संगीतकार शक्तिवल्लभ, सम्मानित गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना र वरिष्ठ गायक दुर्गा रायमाझी लगायतका चलचित्र एवं गीत-संगीतका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उत्कृष्ट पाँचमा मनोनित भएकाहरू मध्येबाट सर्वोत्कृष्ट घोषणा गर्दै गीत-संगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको सो समारोह सांगीतिक रौनकका बीच सम्पन्न भएको थियो ।

समारोहमा दीर्घ साधना सम्मानका अतिरिक्त अन्य विशिष्ट सम्मानहरू पनि प्रदान गरिएको थियो, जसअन्तर्गत प्रतिष्ठित गीतकार उन्नती शीला बोहरालाई ३५ वर्ष लामो समयदेखि गीत-संगीत र साहित्यमा पुर्याएको सेवा र योगदानबापत ‘म्युजिक खबर शब्द शील विशिष्ट सम्मान’, वरिष्ठ गीतकार विजय शिवाकोटीलाई नेपाली सांगीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै ‘म्युजिक खबर रजत संगीत सम्मान’, लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’, गीतकारद्वय पुरुषोत्तम सानु र सुशीला पौडेललाई ‘म्युजिक खबर युवा संगीत सम्मान’ तथा विदेशी भूमि अमेरिकामा बसेर पनि गीत लेखन मार्फत नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएकी पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’ प्रदान गरियो ।

त्यसैगरी पत्रकारद्वय कुबेर गिरी र गोपीकृष्ण चापागाईँलाई जनही ५,५५५ रुपैयाँ राशिसहित ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’, प्रतिभाशाली बालकलाकार युनिस घिमिरेलाई ‘म्युजिक खबर बालप्रतिभा सम्मान’, प्रवासमा रहेर पनि गायन क्षेत्रलाई आत्मसात गर्दै नेपाली गीत-संगीतमा योगदान पुर्याएबापत गायिका नीता आचार्यलाई ‘डायस्पोरा गायन सम्मान’, गायन तथा संगीत क्षेत्रमा योगदान दिएका डा. रणजीत झालाई ‘म्युजिक खबर संगीतकर्मी सम्मान’ र प्राविधिक रूपमा पत्रकारिताको माध्यमबाट योगदान दिएका उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान’ प्रदान गरियो ।

अवार्ड अन्तर्गत सुगम संगीततर्फ ‘हृदयमा’ बोलको गीतबाट प्रविन बेडवाल सर्वोत्कृष्ट गायक, ‘गुन भुल्यौ’ बोलको गीतबाट सारिका घिमिरे सर्वोत्कृष्ट गायिका, ‘मुस्कान छैन आज’ गीतबाट डम्बर याक्सो सर्वोत्कृष्ट सुगम संगीत गीतकार, ‘मेरो सुरहरू’ गीतबाट शंकर थापा स्माइल सर्वोत्कृष्ट संगीतकार, ‘दुःखे धेरै दुख्न पुग्यो’ गीतबाट सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार, ‘तेजस्वी अप्सरा’ गीतबाट मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार र ‘रात किन हुन्छ हजुर’ गीतबाट नरेन्द्र वियोगी संगीत संयोजकको अवार्ड चुम्न सफल भए ।

सुगम संगीतकै भिडियो मोडेल विधातर्फ ‘तिमी आँखा म नानी’ गीतबाट झरना रिसाल सर्वोत्कृष्ट भिडियो मोडल महिला, ‘मेरो जिन्दगीको’ बोलको गीतबाट सुरेश कोहली सर्वोत्कृष्ट भिडियो मोडल पुरुष, ‘नमस्ते ढोगिदिएँ’ गीतबाट अजय रेग्मी म्युजिक भिडियो छायाँकार, ‘भागौँला त्रिशूली तरेर’ भिडियोबाट पदम सुवेदी सम्पादक, ‘आगो लाइदिन्छु’ भिडियोबाट राहुल शाह निर्देशक र ‘ओइ नक्कलु’ गीतबाट नरेश बिबीसीले उत्कृष्ट ध्वनि सम्पादनको अवार्ड हासिल गरे। युगल गायनतर्फ ‘हो नि हो’ गीतबाट कर्णराज गिरी र कमला रेग्मी अवार्ड चुम्न सफल भए भने उत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड ‘हाम्रो देश’ बोलको गीतबाट सुरेन्द्र खड्काले उचाले ।

पप विधातर्फ ‘बादलपारी’ गीतबाट धनवीर थापा मगर उत्कृष्ट पप गीतकार, ‘ओइ नक्कलु’ गीतबाट अर्जुन पोखरेल सर्वोत्कृष्ट पप संगीतकार, ‘प्रिय जिन्दगी’ बाट रविन श्रेष्ठ सर्वोत्कृष्ट पप गायन पुरुष र ‘इतिहास’ गीतबाट आश्रा कुँवर सर्वोत्कृष्ट पप गायन महिला विधामा विजेता बने ।

चलचित्र विधातर्फ चलचित्र ‘लाज शरणम्’ को ‘च्यातिएको चोली’ गीतबाट सुरज पण्डित सर्वोत्कृष्ट पार्श्व गायक, चलचित्र ‘उनको स्वीटर’ को ‘फुकाउँछ काफ्ले’ गीतबाट झुमा लिम्बू सर्वोत्कृष्ट पार्श्व गायिका, चलचित्र ‘एन्जिला’ को ‘रात किन हुन्छ हजुर’ गीतबाट थानेश्वर गौतम सर्वोत्कृष्ट चलचित्र संगीतकार र चलचित्र ‘उनको स्वीटर’ कै गीतबाट युवराज काफ्ले सर्वोत्कृष्ट चलचित्र गीतकार घोषित भए ।

लोकदोहोरीतर्फ ‘दुःख साटौँला’ गीतबाट अर्जुन सापकोटा सर्वोत्कृष्ट लोकदोहोरी गायक, ‘नौली खडेरी’ गीतबाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट लोकदोहोरी गायिका, ‘जाम भो हिँड रेलैमा सरर’ गीतबाट नवीन परियार लोकदोहोरी भाका, ‘सरर’ गीतबाट प्रसाद लामिछाने सर्वोत्कृष्ट लोकदोहोरी शब्द र ‘करिमैले’ गीतबाट अभिनेता पल शाह र मोडल नारायणी खत्री उत्कृष्ट म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए ।

यस्तै ‘तिम्रै माया लाग्छ नि’ गीतबाट दीप गुरुङ सर्वोत्कृष्ट लोकदोहोरी म्युजिक भिडियो निर्देशक, लोकदोहोरी नवप्रतिभातर्फ ‘देखाउनलाई होइन नि माया’ गीतबाट रेखा पोखरेल र ‘तिम्रो मनमा कुन छ’ गीतबाट मनोहर शर्माले अवार्ड जिते भने ‘गुल्मी चन्द्रकोट’ गीतबाट सुशीला गौतम सर्वोत्कृष्ट कल्चरल गीत गायिका बन्न सफल भइन् ।

जुरी र क्रिटिक्स अवार्डतर्फ गीतकार कल्याण श्रेष्ठ (यादहरू दुखिरहन्छ) जुरी अवार्ड गीतकार, पारसमणि बराल (राजनीति भनेको त) जुरी अवार्ड राष्ट्रिय भाव गीतकार, सुनील उप्रेती (सागरझैँ गहिरो) क्रिटिक्स अवार्ड पप गायन, केशव भट्टराई (धमिलिएको आकाश आज) जुरी अवार्ड गीतकार आधुनिक, छिरिङ भुटिया (पहाडी बाटो) जुरी अवार्ड गायक र बिबी अनुरागी (फूलको आफ्नै कथा छ) जुरी अवार्ड संगीतकार बन्न सफल भए ।

लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार/संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती लगायत रहेको निर्णायक मण्डलले अवार्डको अन्तिम निर्णय गरेको थियो । चर्चित उद्घोषकद्वय मञ्जु पौडेल र निरञ्जन भण्डारीले संचालन गरेको उक्त अवार्ड समारोहमा कलाकारहरू पल शाह, नारायणी खत्री, टीका प्रसाईँ, देवान खनाल, धिरज राई, युनिस घिमिरे लगायतले आ-आफ्नो सांगीतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिक्रिया