लुम्बिनी हेरिटेजको पहिलो साधारण सभा सम्पन्न

काठमाडौं । लुम्बिनी हेरिटेज लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लुम्बिनीस्थित कम्पनीको आफ्नै कार्यालयमा यही वैशाख २० गते आयोजित सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेलगायतका रणनीतिक निर्णयहरू पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको हो । साथै, आगामी कार्यकालका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ ।

कम्पनीको दीर्घकालीन विकासका लागि साधारण सभाले प्राथमिक सेयर (IPO) निष्कासनको प्रक्रियालाई अगाडि बढाउने प्रस्ताव पारित गरेको छ। यसैगरी, विश्वप्रसिद्ध होटल समूह ‘इन्टरकन्टिनेन्टल होटल्स ग्रुप’ (IHG) अन्तर्गतको प्रतिष्ठित ब्रान्ड ‘क्राउन प्लाजा’लाई सन् २०२७ जनवरीभित्र होटलको व्यवस्थापन हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी सभामा दिइएको थियो ।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुभाष अमात्यले आईपीओ निष्कासनमार्फत कम्पनीमा पारदर्शिता अभिवृद्धि हुने र यसले सबै सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय व्यवस्थापन भित्रिएसँगै लुम्बिनीको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा पुग्ने उनको भनाइ थियो । कम्पनीले आफ्नो पहिलो साधारण सभा सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण सेयरधनी तथा सरोकारवालाहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

प्रतिक्रिया