
काठमाडौँ । सरकारले वास्तविकता ख्याल नगरी कानुन कार्यान्वयन गर्न खोज्दा देशभर भन्सार जाँचपास प्रभावित भएको छ भने यसले आयातको चक्र पनि भत्काउने चिन्ता थपिएको छ । संघीय सरकारले भन्सार विन्दुमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) को प्रावधान कार्यान्वयन गर्न खोज्दा देशभर भन्सार जाँचपास ठप्प हुँदा आयात नै प्रभावित हुने अवस्थामा पुगेको हो । १५ वैशाखदेखि एमआरपी लेबल अनिवार्य गरेयता तयारी वस्तुहरूको भन्सार जाँचपास हुन सकेको छैन । एमआरपी अनिवार्य गर्न खोज्दा १ सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूलबाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास देशभर ठप्प छ ।
संघीय सरकार र व्यवसायीबीचको एमआरपी विवाद समाधानका लागि भन्सार विभागले मध्यमार्गी उपाय सुझाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरे पनि मन्त्रालयले कुनै जबाफ फर्काएको छैन । विभागका प्रवक्ता किशोर बर्तौलाले उक्त पत्रको जबाफ प्राप्त नभएको बताउँदै सौर्य दैनिकसँग भने, ‘भन्सार विन्दुमा एमआरपीको स्वघोषणा तथा पैठारी भइसकेपछि ‘लेबल लगाएर मात्र वस्तु बिक्री वितरण गर्नेछु’ भन्नेसमेत स्वघोषणा गराई जाँचपास गर्न सकिने मध्यमार्गी सुझाव पठाएका थियौँ । तर, अहिलेसम्म जबाफ आएको छैन ।’
यता, व्यवसायीहरूले एमआरपी अनिवार्य गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन् भने सरकार पछि नहट्ने अडानमा छ । सरकारले पछिल्लो ५ वर्षयता लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिरहेको अवस्थामा यो विवादका कारण यो वर्ष राजस्व संकलन झन् घटने विज्ञहरूको बताएका छन् । भन्सारमा सामान रोकिँदा व्यवसायीले तिर्नुपर्ने डेमरेज र डिटेन्सन शुल्क बढ्छ, जसको प्रत्यक्ष भार अन्ततः उपभोक्ताको खल्तीमा पर्ने देखिन्छ । अत्यावश्यकबाहेक कतिपय तयारी वस्तुको आयात रोकिएकाले बजारमा सामानको अभाव हुन सक्ने र कृत्रिम मूल्यवृद्धि हुने जोखिम बढेको व्यवसायीहरू बताउँछन् । सरकारले पर्याप्त तयारीबिना नियम लागू गर्दा यसले व्यापारिक लागत बढाउने, राजस्व घटाउने र बजारमा महँगी निम्त्याउने खतरा रहेको विज्ञहरूले बताएका छन् ।
०००
भन्सार नाकामा कन्टेनरको लाइन, वीरगन्जमै १४०० रोकिए
वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी नहुँदा मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज भन्सारमा जाँचपास ठप्प छ । जसका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले दैनिक २०० भन्दा धेरै मालवाहक सवारीसाधन थपिने भएकाले पनि औसतमा १ हजार ४०० हाराहारी सवारीसाधन जाँच प्रक्रियामा रोकिएको बताए । वीरगन्जको एकीकृत सुरक्षा भन्सार जाँच चौकी व्यवस्थापनको जिम्मा पाएको टिआरएस हिमालयन लर्जी पार्क प्रालिका इन्चार्ज गणेश घिमिरेले भन्सार जाँचपास नहुँदा भारतीय सडकमा समेत मालवाहक सवारीसाधनको लाइन लागेको बताए ।
यता, चीनसँगको नाका रसुवा भन्सारमा पनि जाँचपास नहुँदा तयारी वस्तु बोकेका ६० भन्दा धेरै कन्टेनर रोकिएका छन् । भन्सार कार्यालयका सूचना अधिकारी गौतमले व्यवसायीलाई प्रतिबद्धता गर्न लगाएर कुहिने वस्तुहरूको जाँचपास गरिएको बताए । उनले भने, ‘हाइड्रो र सडक निर्माणका वस्तु निर्वाध आयात भइरहेको छ । ठुलो संख्यामा स्याउलगायत फलफूल कुहिने भएपछि प्रतिबद्धता गर्न लगाएर जाँचपासमा सहभागी गराइएको छ । बाँकी कन्टेनर भने रोकिएका छन् ।’ गौतमका अनुसार दैनिक ११ करोड रुपैयाँ राजस्व लक्ष्य राखिएकामा औसतमा दैनिक ७ करोड संकलन हुने गरेको थियो । तर, अनिवार्य एमआरपी र पछिल्लो समय चीनमा लामो बिदा हुँदा दैनिक १ करोड मात्रै संकलन भइरहेको छ ।
जाँचपास रोकिँदा विराटनगर भन्सारमा पनि ४५ भन्दा बढी कन्टेनर रोकिएका छन् । भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले १२ करोड राजस्व संकलन हुने गरेकामा अहिले दैनि ९ करोड मात्र भइरहेको बताए । यस्तै, सुदूरपश्चिमको सबैभन्दा ठुलो भन्सार नाका कैलालीमा पनि भन्सार जाँचपास रोकिँदा झन्डै १०० कन्टेनर भन्सारमा रोकिएका छन् भने भारततर्फ पनि रोकिएको बताइएको छ । भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनाका अनुसार राजस्व संकलन घटेको छ ।
मेची र कञ्चनपुर भन्सारबाट आयात नै घट्यो
त्यस्तै, मेची भन्सारबाट भने आयात नै घटेको छ । भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले २ वटा कन्टेनर भन्सारमा रोकिएको बताए । उनले कच्चा पदार्थ निर्वाध जाँचपास भइरहेको बताए । उनले भने, ‘ट्रेडिङका वस्तु आयात नै कम हुन थालेको छ । अरू बेला ४ करोडभन्दा बढीको वस्तु आयात हुने गरेकामा हाल २ करोड रकम बराबर मात्रै आयात भइरहेको छ ।
सरकारले एमआरपी अनिवार्य गर्दा अन्य भन्सारजस्तै भैरहवा भन्सारमा पनि जाँचपास रोकिएको छ । यो भन्सारबाट धेरैजसो इन्धन र कच्चा पदार्थ आउने भए पनि अन्य वस्तु बोकेका कन्टेनर भारततर्फ नै रोकिएका छन् । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलका अनुसार पछिल्लो समय राजस्व संकलन घटेको छ । वैशाख १५ अघि दैनिक ३० करोड संकलन हुने गरेकामा पछिल्लो हप्ता औसतमा दैनिक २२ करोडमा झरेको छ । यो गतिमा राजस्व संकलन घट्दै जाने हो भने लक्ष्य नभेट्ने पौडेलले बताए ।
यस्तै, सुदूरपश्चिको कञ्चनपुर भन्सारबाट पनि आयात न्यून हुन थालेको छ । अनिवार्य एमआरपी कार्यान्वयन भएसँगै आयात पनि घटेको हो । कञ्चनपुर भन्सार कार्यालय प्रमुख अम्बिकादेवी सुवेदीले कन्टेनरमार्फत् नै वस्तु आयात नहुने भएकाले कुनै सवारीसाधन होल्ड नभएको, तर वस्तु आयात भने घटेको बताइन् । पछिल्लो समय झन्डै ५० प्रतिशत राजस्व घटेको उनले बताइन् ।
नेपालगन्ज भन्सारमा छैन धेरै प्रभाव
यता, नेपालगन्ज भन्सार कार्यालयमा भने एमआरपी अनिवार्य गर्ने निर्णयको असर नगण्य देखिएको छ । कार्यालय प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले नेपालगन्ज भन्सारबाट खाद्यान्न, तरकारी, औद्योगिक कच्चा पदार्थ बढी आउने भएकाले खासै असर नपरेको बताए ।
प्रतिक्रिया