सोमबार गृहसहित ९ मन्त्रालयसँग छलफल गरेको अर्थले बाँकी मन्त्रालयसँग आज छलफल गर्नेछ

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ । जसअन्तर्गत सोमबार ९ वटा मन्त्रालयका विभागीय मन्त्रीको सहभागितामा मन्त्रालयगत छलफल गरेको छ । सोमबार बिहान ११ बजे सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म चलेको थियो । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सोमबार सुरु भएको छलफल आज मंगलबारसम्म चल्नेछ ।
गृह मन्त्रालयबाट सुरु भएको बजेट छलफलमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बुँदागत छलफल चलेको थियो ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा मन्त्रालयका अर्थ र राजस्व सचिव, बजेट लेखन समिति संयोजक तथा सदस्यहरू, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख एवं महाशाखाका विषय क्षेत्रगत शाखा प्रमुखहरूले उल्लिखित मन्त्रालयका मन्त्री, सचिव एवं जिम्मेवार महाशाखा प्रमुखसँग आगामी बजेटको खाका, नीति तथा कार्यक्रम र त्यसका लागि प्रस्तावित बजेट र स्रोत व्यवस्थापनबारे छलफल गरेका हुन् । छलफलमा सम्बन्धित मन्त्रालयका सबै मन्त्री तथा सचिवहरू सहभागी थिए । आज बाँकी मन्त्रालयको बजेटबारे छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया