उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा आज, अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा आज (सोमबार) हुँदै छ । बिहान १० बजे सुरु हुने साधारणसभासँगै निर्वाचन प्रक्रिया अघि बढ्दै नयाँ नेतृत्व चयन हुनेछ । यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन अदालतमा मुद्दा परेपछि स्थगित भएको थियो । रोकिएको प्रक्रिया पुनः सुरु भएसँगै महासंघले नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी गरेको छ ।

महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः २१औँ अध्यक्ष बन्नेछन् । साधारणसभा सम्पन्न लगत्तै वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल सकिने र श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन प्रक्रिया अघि बढ्नेछ । नयाँ कार्यसमितिले उपाध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ । आगामी कार्यकालपछि भने महासंघमा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था लागू हुने बताइएको छ ।

वि.सं. २०२२ साल पुस १४ गते स्थापना भएको महासंघले हालसम्म २० अध्यक्ष पाइसकेको छ । संस्थापक अध्यक्ष स्वर्गीय लोकनाथ जोशी हुन् । प्रारम्भमा २४ सदस्य संस्थाबाट सुरु भएको महासंघ अहिले देशका ७७ वटै जिल्लामा विस्तार भइसकेको छ ।

प्रतिक्रिया