पुँजीगत खर्च ५ वर्षयताकै सबैभन्दा कमजोर

काठमाडौँ । चालु आवको साउनदेखि चैत मसान्तसम्म (९ महिना)को अवधिमा सरकारको (पुँजीगत) खर्च ५ वर्षयताकै न्यून देखिएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ९ महिनामा सरकारले जम्मा २३.५८ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

गत आव २०८१/०८२ को ९ महिनामा २९ प्रतिशत विकास खर्च भएको थियो । त्यस्तै, आव २०८०/०८१ को ९ महिनामा ३२ प्रतिशत, आव २०७९/०८० को ९ महिनामा २८.१९ प्रतिशत, आव २०७८/०७९ मा २७.४५ प्रतिशत र आव २०७७/०७८ को ९ महिनामा ३० प्रतिशत विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ । चालु आवका लागि सरकारले पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ छुट्याएकामा ९ महिनाको अवधिमा ९६ अर्ब १९ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको अवस्था छ । अब ३ महिनामा ३ खर्ब हाराहारी बजेट सरकार खर्च गर्नुपर्ने हुन्छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट हाल कार्यान्वयनमा छ । यो वर्ष बजेट विनियोजनमा सरकार चुकेको, जेनजी आन्दोलन, निर्वाचन र मध्यपूर्व युद्धका कारण विकास खर्च हुन नसकेको विज्ञहरू बताउँछन् ।

चालु खर्च ६३.३ प्रतिशत

सरकारले ९ महिनामा ५३.९७ प्रतिशत अर्थात् १० खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेकामा चालुतर्फ ६३.३ प्रतिशत अर्थात् ७ खर्ब ४७ अर्ब ५२ करोड खर्च भएको छ । सरकारले चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट बिनियोजन गरेको थियो । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । वित्तीय व्यवस्थापन (सार्वजनिक ऋणको साँवाब्याज भुक्तानी) तर्फ भने समीक्षा अवधिमा विनियोजित बजेटको ५७ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा कुल ३ खर्ब ७५ अर्ब २४ करोड बजेट विनियोजन गरिएकामा चैत मसान्तसम्म २ खर्ब १६ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

८ खर्ब ८६ अर्ब राजस्व संकलन

सरकारले चालु आवमा १४ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा चैत मसान्तसम्म अर्थात् ९ महिनाको आवधिमा ८ खर्ब ८६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो कुल लक्ष्यको ५९.८९ प्रतिशत हो । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँको वार्षिक लक्ष्यमध्ये हालसम्म ७ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ संकलन भएको छ । जुन ६०.२६ प्रतिशत हो । सरकारी सेवा, दस्तुर, लाभांश र दण्ड जरिमानाजस्ता क्षेत्रबाट उठ्ने गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा हालसम्म ८७ अर्ब ५२ करोड रुपैयाँ अर्थात् ५६.६८ प्रतिशत संकलन भएको छ । वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड रुपैयाँ अनुदान प्राप्त हुने प्रक्षेपण गरिएकामा १५ अर्ब ६१ करोड रुपैयाँ मात्र प्राप्त भएको छ ।

डेढ खर्ब नाघ्यो बजेट घाटा

सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा चालु आवको ९ महिनामा बजेट घाटा डेढ खर्ब नाघेको छ । ९ महिनाको अवधिमा ९ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन हुँदा खर्च भने १० खर्ब ५९ अर्ब ९५ करोड भएको छ । यो तथ्यांकका आधारमा सरकारलाई बजेट कार्यान्वयमा खुद १ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँ घाटा लागेको छ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले विनियोजित बजेटको खर्च लक्ष्य घटाउँदै १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँ हाराहारी मात्र कार्यान्वयन गर्न सकिने लक्ष्य पेस गरेका थिए । स्रोतको अभावसँगै बजेट खर्चको प्राविधिक समस्यालाई देखाउँदै अर्धवार्षिक समीक्षामार्फत् खनालले चालुतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेका थिए ।

‘जेनजी आन्दोलन र मध्यपूर्व युद्ध मुख्य कारक’

अर्थविद् डिल्लीराज खनाल

अर्थविद् डिल्लीराज खनाल जुन गतिमा काम हुनुपर्ने थियो, त्यो नहुँदा विकास खर्च न्यून अवस्थामा देखिएको बताए ।

उनले भने, ‘जेनजी आन्दोलन र परिवर्तनको स्पिरिटमा ब्युरोक्रेटिक सिस्टम तथा विकास निर्माणसँग आबद्ध संस्था र परियोजनाहरूलाई जुन ढंगले प्रभावकारी बनाएर अगाडि बढ्नुपथ्र्यो, त्यो हुन सकेन । मध्यपूर्वको तनावले विकास निर्माणको काम नराम्ररी प्रभावित हुन पुगेको अवस्था छ । वित्त नीति र मौद्रिक नीति पुरानै छ, जसका कारण विकासका कामहरू बढ्न सकेनन् ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ

यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बजेटको डिजाइन नै खराब हुँदा विकास खर्च न्यून भएको बताए । उनले भने, ‘बजेट कार्यान्वयन गर्ने क्षमताभन्दा पनि राजनीतिक रूपमा सबैको चित्त बुझाउन बजेट बनाइएकाले यसले गति लिन सकेन । जेनजी आन्दोलनका कारण कामहरू अवरुद्ध हुनु र अन्तरिम सरकारको मुख्य ध्यान चुनावमा मात्र केन्द्रित हुँदा पनि विकास खर्चमा नकारात्मक असर परेको हो ।’

सार्वजनिक खर्च पुनरवलोकन आयोगको प्रतिवेदन, १६औँ योजना र विभिन्न अध्ययनका रिपोर्टहरूमा सुधारका स्पष्ट उपायहरू हुँदाहुँदै पनि तिनलाई लागू नगरिनु अर्को समस्या भएको उनले बताए । यो सरकार निर्धक्क काम गर्न सक्ने अवस्थामा रहेकाले अब ढिला नगरी विगतमा हल हुन नसेको कमजोरीहरू सुधारमा जानुपर्नेमा उनले जोड दिए ।


हालको सरकार तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको टिमका लागि नयाँ कुरा पत्ता लगाउनुभन्दा पनि पुराना अध्ययन प्रतिवेदनका सुझावहरू, जस्तै ३ करोडभन्दा साना आयोजना संघमा नराख्ने र ठुला आयोजनालाई प्राथमिकता दिने काम कार्यान्वयन गर्नु नै मुख्य सुधारको अवसर हुने उनले उल्लेख गरे । बजेट विनियोजन, सुशासन र विकासका बाधक मानिएका कानुन फेर्न सके स्रोतको समस्या नहुने उनले बताए । बजेटको खर्च गर्ने क्षमता पनि बढाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सुशासन भयो र बजेट खर्च गर्ने क्षमता बढाइदियो भने जे–जति स्रोत छ, यसकै पूरा खर्च गर्न सके धेरै काम हुन्छ । भ्रष्टाचार, कमिसनखोरी र राजस्व छली कम हुनासाथ त राजस्व आफैँ बढ्छ ।’

प्रतिक्रिया