सिद्धार्थ राजमार्ग सुधार गर्न २० लाख डलर अनुदान स्वीकार

काठमाडौँ । पोखरालाई भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधारका लागि एसियाली इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी)ले दिएको २० लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सरकारका अनुसार यो अनुदान सिद्धार्थ राजमार्ग सुधार आयोजनाअन्तर्गत बुटवल–पोखरा खण्डको स्तरोन्नति तथा आवश्यक पूर्वाधार सुधारमा खर्च गरिनेछ । राजमार्ग सुधारपछि सवारी आवागमन सहज हुने, यात्रा समय घट्ने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।
पोखरालाई लुम्बिनीसँग जोड्ने यो सडकको दुरी १५७ किलोमिटर छ । २०२८ सालमा बनेको यो सडकको अवस्था जीर्ण हुँदा धेरै समय लाग्ने र असुरक्षित यात्रा हुँदै गएपछि सडक सुधारका लागि स्थानीयहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । उक्त सडक सुधार गर्दा यात्रा समय छोटिने छ । पुल, सुरुङसहितका पूर्वाधार र चौडा सडक बनाउने गरी सुधारको काम अघि बढाउने सरकारको तयारी छ ।

उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । हाल यो सडक ७ मिटर चौडा छ, भने अब स्तरोन्नति हुँदा १० मिटर चौडाइको हुनेछ । स्याङ्जाअन्तर्गतको क्षेत्रमा ३७ वटा पुल निर्माण गरिने छन् । विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्छ । यसमा ४३ सामुदायिक वन र १ धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा २ हजार ८८६ रुख कटान गर्नुपर्ने यसअघिकै वातावरणीय अध्ययनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया