
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा सुधार भएको घरजग्गाको कारोबार पुस महिनामा पनि वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार पुस महिनामा घरजग्गाको कारोबार, कित्ताकाट र यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको हो । सरकारले असार गत आवको असारमा मसान्तदेखि रोकेको कित्ताकाट चालु आबको कात्तिक अन्तिम साता खुलाइएको थियो । जसको कारण कारोबारमा वृद्धि भएको व्यवसायी बताउँछन् ।
गत वर्षको पुसको तुलनामा चालु आवको पुसमा घरजग्गाको कारोबार १५.८० प्रतिशतले वृद्धि भएको छ । २०८१ पुसमा १ लाख ४० हजार ६२१ पटक मात्रै घरजग्गाको कारोबार भएकोमा यस वर्ष पुसमा १ लाख ६२ हजार ८७७ पटक घरजग्गाको कारोबार भएको छ ।
त्यसैगरी, घरजग्गाको कारोबारबाट हुने राजस्वमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्षको तुलनामा यस वर्षको पुस महिनामा घरजग्गाबाट संकलन हुने राजस्व २१.६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । २०८१ पुस महिनामा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएकोमा २०८२ को सोही महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया