जलविद्युत् विकासमा निर्णायक भूमिकामा निजी क्षेत्र

काठमाडौँ । नेपालको जलविद्युत् विकासमा निजी क्षेत्रको भूमिका निर्णायक बनेको छ । हाल कुल विद्युत् उत्पादन क्षमतामा निजी क्षेत्रले ८० प्रतिशतभन्दा बढी योगदान गरेर आफ्नो भूमिकालाई निर्णायक बनाएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) र बिएफआइएस प्रालिले संयुक्त रूपमा तयार पारेको ‘नेपालको जलविद्युत् क्षेत्रमा लगानी’ अध्ययन प्रतिवेदनअनुसार निर्माणाधीन तथा विकास चरणका आयोजनासमेत समावेश गर्दा निजी क्षेत्रको सहभागिता झन्डै ९० प्रतिशत पुग्ने छ ।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको कुल लगानी १३ खर्ब १० अर्ब रुपैयाँ र सरकारी क्षेत्रको १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । बैंकिङ क्षेत्रले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनामा कुल ८ खर्ब ७० अर्ब रुपैयाँ लगानी गरेको छ, भने निजी क्षेत्रको सेयर लगानी ४ खर्ब ३ अर्ब रहेको छ । नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी क्षेत्रले संयुक्त रूपमा १४ खर्ब रुपैयाँभन्दा बढी लगानी छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले हाल देशभर ९०० भन्दा बढी जलविद्युत् आयोजना लाइसेन्स लिएर काम गरिरहेको र ११ हजार ६०० मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा रहेको जानकारी दिए । ४ हजार मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको छ भने ५ हजार मेगावाट निर्माणाधीन अवस्थामा छ । जलविद्युत् क्षेत्रमा १ करोड १३ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गरिसकेको र हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँ लगानी भइसकेको बताए ।

सरकारी क्षेत्रतर्फ नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धन गरेका १५ वटा आयोजनाबाट ५६५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यी आयोजनामा करिब १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ ।
पुँजी बजारमार्फत पनि ठुलो मात्रामा लगानी परिचालन भएको छ । हालसम्म ९१ वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरी करिब ४१ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै, अधिकार सेयरमार्फत करिब ४५ अर्ब रुपैयाँभन्दा बढी पुँजी उठाइएको छ ।

ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले विगत २ दशकभन्दा बढी समयदेखि इप्पानमार्फत देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पु¥याएको योगदान प्रशंसायोग्य रहेको बताएका हुन् । यसले राष्ट्रिय विकास र आर्थिक समृद्धिमा पनि टेवा पुगेको उनको भनाइ थियो ।

पर्याप्त ऊर्जाबिना मुलुकको विकास सम्भव नहुने भन्दै उनले सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने उल्लेख गरे । उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत पुग्ने बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई ‘लोडसेडिङ’मुक्त बनाउँदै विद्युत् निर्यात गर्ने अवस्थामा पु¥याएको बताए । उनले हाल नेपालको कुल विद्युत् उत्पादन करिब ४ हजार मेगावाट पुगेको र यसमध्ये ३ हजार ३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदानबाट सम्भव भएको उल्लेख गरे । मन्त्री सिन्हाले ५ देखि १० मेगावाटका साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा हाल १०० मेगावाटभन्दा ठुला आयोजनासम्म लगानी गर्ने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया