
काठमाडौँ । विदेशी लगानीकर्ताको रोजाइमा साना उद्योग परेका छन् । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांकअनुसार साना उद्योगतर्फ विदेशी लगानीकर्ताको आकर्षण देखिएको हो । वैदेशिक लगानीका लागि दर्ता हुनेमा संख्यात्मक रूपमा साना उद्योगको वर्चस्व छ । विभागका अनुसार वैदेशिक लगानीका परियोजनामध्ये ९० प्रतिशतभन्दा बढी साना उद्योग दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिना (साउनदेखि पुस मसान्तसम्म) ४७५ उद्योगमा लगानीको योजना स्वीकृत भएको छ । जसमध्ये ४६० वटा साना, ७ वटा ठुला र ८ वटा मध्यम उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठुला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो ।
चालु आवको साउनदेखि पुस महिनासम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रका २५७ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ भने सबैभन्दा कम ऊर्जा क्षेत्रमा एउटाका लागि मात्र प्रतिबद्धता आएको छ । २७ वटा उत्पादनमूलक, १३ वटा कृषिमूलक, १४५ पर्यटनमूलक र १३ वटा सेवामूलक उद्योगमा प्रतिबद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।
उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड, सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड र सूचनामूलक क्षेत्रमा १ अर्ब ७ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । पुसमा मात्र ३६ वटा साना उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । साना उद्योगअन्र्तगत सूचना प्रविधि, पर्यटन, सेवा क्षेत्रका उद्योगको संख्या धेरै रहे पनि लगानीको मात्रा भने कम छ । मझौला उद्योगअन्तर्गत उत्पादनमूलक उद्योग, व्यावसायिक कृषि छन् । जसमा मध्यम लगानी छ । ठुला उद्योगअन्तर्गत जलविद्युत्, सिमेन्ट उद्योग, ठुला होटल छन् । जसमा थोरै परियोजना भए पनि अर्बौँको लगानी छ ।
गत वर्षभन्दा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
प्रत्यक्ष वैदेशिक लगानी प्राप्ति न्यून भए पनि प्रतिबद्धता भने बढ्दै गएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको भन्दा चालु आवमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता साढे १३ अर्ब रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । गत वर्ष सोही अवधिमा २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार बराबरको प्रतिबद्धता आएको थियो । हालसम्म विभागले ७ हजार ७१३ वटा उद्योगमा कुल ६ खर्ब ७५ अर्ब ४३ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ । चालु आवको पहिलो ६ महिनामा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोड ९९ लाख तथा अप्रुभल रुटबाट १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । चालु आवको ६ महिनाको अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत् ३२ उद्योगका लागि ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, ३१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टिटिए) स्वीकृत भएको विभागले जनाएको छ ।
पुसमा मात्रै झन्डै ६० करोडको प्रतिबद्धता
गएको पुस महिनामा कुल ३६ उद्योगका लागि ५९ करोड ९५ लाख रुपैयाँ बराबरको मात्र लगानी प्रतिबद्धता आएको छ । पुसमा मात्रै स्वचालित मार्ग (अटोमेटिक रुट) बाट २८ उद्योगमा २१ करोड ९५ लाख रुपैयाँ र अप्रुभल रुटबाट ८ उद्योगमा ३८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
लाभांश र रोयल्टी गरी १४ अर्ब फिर्ता
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश र ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रोयल्टी फिर्ता लैजाने गरी उद्योग विभागबाट स्वीकृति पाएका छन् । विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ लाभांश फिर्ता गर्न स्वीकृत गरिएको थियो । चालु आर्थिक वर्षको पुसमा मात्रै ५ अर्ब ३० करोड लाभांश र २ अर्ब २७ करोड रोयल्टी रकम फिर्ता दिन स्वीकृत दिइएको छ ।
०००
प्रतिबद्धता आउँछ, आउँदैन रकम
प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता उत्साहजनक भए पनि रकम प्राप्ति भने एकदमै न्यून देखिएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा ६४ अर्ब ९६ करोड ५१ लाख रकमको प्रतिबद्धता आए पनि १२ अर्ब २ करोड रुपैयाँ मात्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको थियो । चालु आर्थिक वर्षको ५ महिनामा ७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ३ करोडमात्रै भित्रिएको थियो ।
प्रतिक्रिया