जाडोमा शरीरलाई चाहिने अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा खान स्वास्थ्यविद्हरू सुझाउँछन् । श्वासप्रश्वास तथा छालासम्बन्धी समस्याका लागि पनि तरुल उपयुक्त मानिन्छ

काठमाडौँ । माघे संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु (तिलौरी), खिचडी, तरुल आदि खाने चलन छ । नेपालमा माघे संक्रान्तिमा सबैभन्दा धेरै उपभोग हुने वस्तु तरुल नै हो । पछिल्लो समय गाउँदेखि सहरसम्म स्वास्थ्यका लागि बहुउपयोगी मानिने तरुलको उपभोग बढ्दै गएको छ । नेपालमा सामान्यतया फागुन–चैततिर तरुल लगाइन्छ र पुस–माघतिर खनिन्छ । जाडोमा शरीरलाई चाहिने अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा खान स्वास्थ्यविद्हरू सुझाउँछन् । श्वासप्रश्वास तथा छालासम्बन्धी समस्याका लागि पनि तरुल उपयुक्त मानिन्छ । यसमा प्रशस्त फाइबर पाइने हुँदा पाचनसम्बन्धी समस्या भएकाहरूका लागि राम्रो हुन्छ । तरुल उसिनेर, तरकारी बनाएर वा पिठो बनाएर खान सकिन्छ ।
तरुलको उपभोग बढेसँगै मूल्य, उत्पादन र आयात पनि बढ्दो गतिमै छ । नेपालमा कुनै समय जंगल, खेत, खोल्सा, कान्लामा आफैँ उम्रिने तरुल पछिल्लो समय व्यावसायिक खेती नै हुने गरेको छ । हाल बजारमा घर तरुल, पतले तरुल, स्कुसको जरा, हात्तीपाइले तरुल, वन तरुल र सिमल तरुल आदि माघे संक्रान्तिमा खाने चलन छ । नेपालमा वार्षिक रूपमा झन्डै डेढ अर्ब रुपैयाँभन्दा बढीको तरुलको कारोबार हुने अनुमान गरिन्छ । नेपालमा खपत हुने कुल बजारको ७५ प्रतिशत हिस्सा माघे संक्रान्ति तथा पुस र माघ महिना हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत वर्ष २०८१ मा करिब १ हजार ८०० टन तरुल खपत भएको थियो । १ हजार १५० टन तरुलको खपत पुसमा मात्रै भएको श्रेष्ठले बताए । उनले भने, ‘माघे संक्रान्ति आउनुभन्दा १ साता अघिसम्म मात्रै ४२४ टन तरुल भित्रिएको थियाे । अब केही दिनमा १ हजार ३०० टन भन्दा बढी पुग्ने आकलन गरिएको छ ।’ प्रवक्ता श्रेष्ठका अनुसार पहिलेपहिले माघे संक्रान्तिलाई मात्रै लक्ष्य गरेर तरुल उत्पादन हुने गथ्र्याे । तर, अहिले वर्षैभरि तरुल उपभोग हुनाले खपत बढेको उनले बताए ।
तराई क्षेत्रमा मुख्यतया सिमल तरुल र अन्य जातका घरतरुलको व्यावसायिक खेती गरिन्छ । पहाडमा घर तरुल, हात्तीपाइले र अकासे तरुल बढी मात्रामा पाइन्छ । पहाडी कान्लाहरू र भिरालो जमिन यसका लागि उपयुक्त मानिन्छन् । विशेष गरी सर्लाही, सुनसरी, मोरङ, धादिङ, मकवानपुर, झापा, दाङ, चितवनबाट धेरै तरुल काठमाडौँ भित्रिन्छ । तरुलको व्यावसायिक खेती हुँदै गए पनि खपतको तुलनामा उत्पादन कम हुँदा आयात हुने गरेको पाइन्छ । नेपालमा तरुल (साधारण) र हात्तीपाइले गरी २ प्रकारका तरुलको उत्पादन र खेतीको तथ्यांक भेटिन्छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार आव २०८०/०८१ मा १ हजार ५७६ हेक्टर क्षेत्रफलमा २३ हजार ५८५ मेट्रिक टन तरुल उत्पादन भएको थियो । त्यस्तै, ७५६ हेक्टरमा १२ हजार ६३४ मेट्रिक टन हात्तीपाइले तरुल उत्पादन भएको सरकारी तथ्यांक छ ।

कृषि मन्त्रालयको तथ्यांकले सबैभन्दा बढी गण्डकी र सबैभन्दा कम कर्णाली प्रदेशमा तरुल उत्पादन हुने देखाउँछ । २०८०/०८१ मा गण्डकीमा ७३१ हेक्टरमा १० हजार ८२८ मेट्रिक टन उत्पादन हुँदा दोस्रोमा रहेको मधेसमा ३१८ हेक्टरमा ५ हजार २०७ मेट्रिक टन साधारण र ४४६ हेक्टरमा ७ हजार २८३ मेट्रिक टन हात्तीपाइले तरुल उत्पादन भएको तथ्यांक देखिन्छ । तरुल उत्पादनमा सबैभन्दा कम कर्णालीमा १७ हेक्टरमा २३५ मेट्रिक टन तरुल उत्पादन भएको छ । नेपालकै सबैभन्दा बढी तरुल उत्पादन हुने सर्लाही जिल्लामा आव २०८०/०८१ मा ३०८ हेक्टर क्षेत्रफलमा ५ हजार ८२ मेट्रिक टन साधारण र ६५ हेक्टरमा १ हजार ४७ मेट्रिक टन हात्तीपाइले तरुल उत्पादन भएको देखिन्छ ।

तरुलको आयात–निर्यात
नेपालमा चीन र भारतबाट तरुल आयात हुने गरेको र न्यून मात्रामा निर्यातसमेत हुने गरेको भन्सार विभागको तथ्यांक छ । चालु आवको ५ महिना (साउन–मंसिर)मा भारतबाट २ लाख ८१ हजार रुपैयाँको ६ हजार ६७० किलो तरुल आयात भएको छ । भारतबाट विशेष गरी सेतो र सिमल तरुल बढी आयात हुन्छ । गत आव २०८१/०८२ मा चीन र भारतबाट गरी २३ लाख २७ हजार रुपैयाँको ५३ हजार ६१० किलो तरुल आयात भएको तथ्यांक छ । जसमा चीनबाट १ लाख रुपैयाँको २५० किलो र भारतबाट २२ लाख २७ हजार रुपैयाँको ५३ हजार ३६० किलो तरुल आयात भएको छ । गत आवमा नेपालबाट ३ लाख ८१ हजार रुपैयाँको १ हजार ८७८ किलो तरुल युके निर्यात भएको तथ्यांक छ ।

चेपाङ समुदाय र तरुल
नेपालको धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायमा तरुल खेती र वन तरुल संकलनको विशेष महत्व छ । नेपालमा तरुललाई पनि मुख्य खाद्यवस्तुका रूपमा प्रयोग गरेर जीविका धान्ने जाति नै चेपाङ हो । नेपालमा पाइने १३ प्रजातिका तरुलमध्ये १० वटा त चेपाङहरूले प्रयोग गर्दै आइरहेको बताइन्छ । चेपाङ बस्तीका अलावा पहाडी गाउँघरका बस्तीमा पनि तरुल एक–डेढ महिनाका लागि तरकारी पुग्ने गरी लगान्छ । कतिपयले जंगलमा पाइने वनतरुल पनि खनेर ल्याउने र तरकारी खाने गरेको पाइन्छ ।
विश्व बजारमा पुग्छ नाइजेरियाको तरुल
संसारभर खपत हुने तरुलको उत्पादनमध्ये ७० प्रतिशत हिस्सा नाइजेरियाले ओगटेको छ । अफ्रिकामा तरुलको प्रयोग धेरै हुन्छ । एसियामा पनि यसको प्रयोग बढ्दो छ । युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा प्रशोधन गरिएको तरुलको धुलो धेरै प्रयोग हुने गर्छ ।
तरुल खेती र स्थानीय सरकार
तरुल नेपालको एक यस्तो बाली हो, जसको बजार छोटो समयका लागि भए पनि निकै आक्रामक र उच्च नाफामूलक छ । यदि यसलाई व्यावसायिक रूपमा उत्पादन गरी वर्षभरि नै उपलब्ध गराउन सक्ने हो भने यसले अर्बौंको आन्तरिक बजार लिन सक्ने विज्ञहरू बताउँछन् । आयआर्जन बढाउन सकिने विकल्पका रूपमा लिँदै स्थानीय सरकारले निम्न वर्गका किसानहरूलाई प्रोत्साहन गर्न आवश्यक छ । नयाँ प्रविधिको प्रयोग गर्दै भण्डारण गरेर राख्न मिल्ने, प्रशोधन गरेर बजारीकरणको प्रबन्ध मिलाइदिने हो भने खपत पनि बढ्दै जाने र आर्थिक क्षेत्रमा तरुलको पनि राम्रो योगदान हुन सक्ने कृषिविद्हरूको भनाइ छ । पछिल्लो ५ वर्षयता नेपालका केही स्थानीय तहले व्यावसायिक रूपमा तरुल खेती गर्न किसानलाई सहयोग गर्दै आएका छन् । पाल्पा, इलाम, मोरङ, सर्लाहीलगायत विभिन्न जिल्लाका पालिकाहरूले तरुल खेती र बजारीकरणमा सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया