भुम्लु गाउँपालिकाको आह्वान : ‘तितेपाती ल्याऊ, नगद लैजाऊ’

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा अहिले एउटा अनौठो तर प्रशंसनीय अभियान चलेको छ ।
तपाईं हाम्रो वरिपरिको खेतबारी, डाँडाकाँडा वा घरको आँगनमा सहजै पाइने तितेपातीलाई बेकारको झार ठान्दै आएको भए अब ती झार बेकामे झार होइन तपाईंको आम्दानीको स्रोत बन्न सक्नेछ ।

हो ठीक सुन्दै हुनुहुन्छ । गाउँपलिकालेमा अब त्यस्ता झारहरू ५ रुपियाँ किलो देखि पालिका ले खरिद गरिदिनेछ । पालिकाले यही तितेपातीलाई नगद आम्दानीमा रुपान्तरण गर्ने अभियान थालेको छ ।

सुन्दा अचम्म लाग्छ— ‘झार ल्याएर पैसा पाउनु ?’ तर यो अब वास्तविकता हो । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ बाट जडिबुटी तथा कृषि उपज प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । यसको उद्देश्य स्थानीय स्तरमा पाइने जडिबुटी संकलन, प्रशोधन, मूल्य अभिवृद्धि (Value Chain) र बजार विस्तार गर्ने हो ।

यसले गाउँपालिकाको आन्तरिक आम्दानी मात्र बढाउने छैन, किसान, युवापुस्ता र महिलालाई घरदैलोमै रोजगारीको अवसर पनि सिर्जना गर्ने विश्वास गरिएको छ । गत आर्थिक वर्षमा भौतिक संरचना निर्माण र युनिट सञ्चालनका लागि करिब ४० लाख रुपैयाँ छुट्याइएको थियो ।

अब सुरुको खर्च धान्न र स्थायी आम्दानी गर्ने उदेश्यले १० लाख रुपैयाँ स्टार्टअप कर्जाको रूपमा विनियोजन गरिएको छ ।
कृषि अधिकृत एवम् केन्द्र प्रमुख विवेक कुमार थापाका अनुसार अहिले दैनिक १००० किलोग्रामसम्म जडिबुटी प्रशोधन गर्ने क्षमता रहेको छ ।

‘हामीले सुरुमा तितेपातीलाई प्राथमिकता दिएका छौँ,’ उनी भन्छन्, ‘तर यससँगै रोजमेरी, धसिंगरे, हलेदो, सयपत्री र टिमुरजस्ता अन्य जडिबुटीलाई पनि क्रमशः प्रशोधन गर्ने लक्ष्य छ ।’

तितेपातीको मूल्य–शृंखला

तितेपातीलाई साधारण झार मानिए पनि यसको औषधिय महत्व अपार छ । दम, स्वासप्रश्वास, पाचन प्रणालीदेखि महिलाको महिनावारी सम्बन्धी समस्या उपचारमा तितेपातीको तेल अचुक मानिन्छ ।

साथै, यसमा एन्टिअक्सिडेन्ट गुण हुने भएकाले छालाको चमक बढाउने, कपाल झर्ने समस्या घटाउने र तनाव कम गर्ने गुण पनि हुन्छ। प्राकृतिक किरा नाशक र लामखुट्टे भगाउने गुणले गर्दा यसको तेल बजारमा निकै मागमा छ ।

भुम्लुमा अहिले संकलित तितेपातीलाई दैनिक ज्यालादारीमा काम गर्नेहरूले काट्छन् । काटिएका पातलाई प्रशोधन युनिटमा राखेर ६–८ घण्टा तताइन्छ । त्यसपछि निस्कने बाफलाई चिस्याएर तेलसहितको पानी छुट्याइन्छ । तेललाई संकलन गरेर बजारमा पठाइन्छ भने बाँकी पदार्थलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

‘झार ल्याऊ, नगद लैजाऊ’

भुम्लु गाउँपालिकाले सुरु गरेको यो अभियानले स्थानीयलाई झन् उत्साहित बनाएको छ । हाल एक किलो तितेपाती ५ रुपैयाँमा खरिद भइरहेको छ । यसलाई पालिकाले ‘तितेपाती ल्याऊ, नगद लैजाऊ’ नारासहित सर्वसाधारणलाई संकलनमा जोड्न थालेको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार यो अभियानले शून्य लागतमै स्थानीयलाई आम्दानी गर्ने अवसर दिएको छ । ‘फुर्सदमा रहेका युवाले पनि यो काम गरेर घरखर्चदेखि पढाइखर्च जुटाउन सक्छन्,’ उनले भने, ‘गाउँकै स्रोतलाई सदुपयोग गरेर हामीले नयाँ ढोका खोल्ने प्रयास गरेका छौँ ।’

हाल प्रशोधन केन्द्रमा ४ जना कामदार प्रत्यक्ष रूपमा संलग्न छन् । बजार विस्तारसँगै थप युवालाई जोड्ने योजना रहेको पालिकाले जनाएको छ। यसरी तितेपाती मात्र नभई अन्य जडिबुटीहरुको नर्सरी स्थापना गरेर किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउने प्रयास भइरहेको छ । यस वर्षदेखि रोजमेरी र टिमुरका बिरुवा सार्वजनिक जग्गामा रोप्ने कार्य सुरु भइसकेको छ ।

दीर्घकालीन रूपमा यस केन्द्रलाई सामुदायिक जीन बैंकको रूपमा विकास गर्ने योजनासमेत रहेको शाखा प्रमुख थापा बताउँछन् । यसका लागि नर्सरी, ज्ञान केन्द्र र उत्पादन प्रशोधन एकै स्थानमा उपलब्ध गराउने गरी आधारभूत पूर्वाधार विकास भइरहेको छ । किसानले प्रत्यक्ष लाभ लिन थालेपछि यसलाई व्यावसायिक ढंगले विस्तार गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म निकालिएको तितेपातीको तेललाई बिक्री गर्नका लागि पालिकाले विभिन्न सम्भावित खरिदकर्तासँग सम्पर्क गरेको छ ।
क्रेता छनोट गर्दा कोटेशन मागेर उच्च मूल्य दिने व्यक्तिलाई प्राथमिकता दिने योजना छ । तर, दीर्घकालीन दृष्टिकोण भनेको तेललाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने हो ।

त्यसका लागि गुणस्तर, प्याकेजिङ र निर्यात प्रक्रियामा थप लगानी आवश्यक पर्छ । चुनौती भनेको किसानलाई दीर्घकालीन रूपमा संलग्न गराउनु, बजारमा निरन्तर आपूर्ति सुनिश्चित गर्नु र मूल्य स्थायित्व कायम गर्नु हो । तर जनप्रतिनिधिहरूको प्रतिबद्धता, किसानको उत्साह र बजारको सम्भावना हेर्दा यो लक्ष्य असम्भव छैन ।

सामान्यतया हामीले बेवास्ता गर्ने झारहरूमध्ये तितेपाती अग्रस्थानमा पर्छ । तर भुम्लु गाउँपालिकाले देखाएको बाटोले ‘झार पनि धन हुन सक्छ’ भन्ने नयाँ दृष्टिकोण दिएको छ । प्राकृतिक रूपमा उम्रिएका बोटबिरुवालाई संरक्षण गर्दै तिनलाई औषधीय उपयोगमा ल्याउन सके स्थानीय स्तरमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

यसले गाउँपालिकालाई आन्तरिक आम्दानी दिन्छ भने स्थानीयलाई घरमै रोजगारी र नगद आम्दानी दिलाउँछ । भुम्लु गाउँपालिकाका जनप्रतिनिधिहरूले यो अभियानलाई दीर्घकालीन रूपमा सफल बनाउन दृढ संकल्प लिएका छन् ।

उनीहरूका अनुसार, सुरुमा केही कठिनाइ भए पनि सामूहिक प्रयासले यसलाई टिकाउ बनाउने छ । ‘यो हाम्रो आफ्नै स्रोत हो। सबैको साथ पाएमा भुम्लु मात्र नभई काभ्रे र सम्पूर्ण देशकै लागि आदर्श बन्न सक्छ,’ केन्द्र प्रमुख विवेक थापा भन्छन् ।

गाउँपालिकाले सुरु गरेको यो अभियान अब सिर्फ तितेपातीमा मात्र सीमित छैन । सयपत्री, रोजमेरी, हलेदो, टिमुर, धसिंगरे जस्ता बोटबिरुवाबाट पनि तेल निकाल्ने तयारी भइरहेको उनी बताउँछन् ।

दीर्घकालीन लक्ष्य भनेको भुम्लुलाई जडिबुटीको ‘हब’ बनाउनु र कृषिउपज प्रशोधन तथा बजार व्यवस्थापनको प्रमुख केन्द्र बनाउनु हो । सधैं झार भनेर वेवास्ता गरिँदै आएको तितेपाती आज भुम्लुमा एउटा अवसर बनेको छ ।

स्थानीय सरकारले देखाएको दृष्टि, किसान र युवाले देखाएको उत्साह र बजारको मागले गर्दा यो अभियान अब परियोजना मात्र होइन, भविष्यको सम्भावना बनेको स्थानीय बताउँछन् ।

‘झार ल्याऊ, नगद लैजाऊ’ नारासहित सुरु भएको यो कदमले भुम्लु गाउँपालिकालाई आन्तरिक आम्दानीको स्रोत मात्र बनाउने छैन, सम्पूर्ण देशलाई पनि प्राकृतिक स्रोतलाई आर्थिक अवसरमा बदल्ने प्रेरणा दिनेमा आफूहरु विश्वस्त रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

स्थानीय सरकारले देखाएको दृष्टि, किसान र युवाले देखाएको उत्साह र बजारको मागले गर्दा यो अभियान अब परियोजना मात्र होइन, भविष्यको सम्भावना बनेको स्थानीय बताउँछन् ।

‘झार ल्याऊ, नगद लैजाऊ’ नारासहित सुरु भएको यो कदमले भुम्लु गाउँपालिकालाई आन्तरिक आम्दानीको स्रोत मात्र बनाउने छैन । सम्पूर्ण देशलाई पनि प्राकृतिक स्रोतलाई आर्थिक अवसरमा बदल्ने प्रेरणा दिनेमा आफूहरु विश्वस्त रहेको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रतिक्रिया