
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनको ३ दिने भ्रमण नेपालका लागि आफैँमा कूटनीतिक सफलता हो । यो स्तरका विदेशी अतिथिलाई स्वागत गर्ने अवसर नेपालका लागि विरलै जुर्ने गर्छ । त्यसमा पनि विगत केही वर्ष यता उच्चपदस्थ विदेशी अतिथिहरूको नेपाल भ्रमण घट्दो क्रममा छ । नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमण हुने देशहरू पनि घट्दै गएको परिप्रेक्ष्यमा भियतनामकी उपराष्ट्रपति सुआनको भ्रमणलाई विशेष महत्व दिइनु स्वभाविकै हो ।
भियतनामबाट नेपालको अपेक्षा खासै ठुलो छैन । भियतनामले पनि नेपालबाट खासै ठुलो अपेक्षा गरेको छैन । यस हिसाबले यो भ्रमण स्वार्थरहित हो । स्वार्थरहित सम्बन्ध दिगो हुन्छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दा पनि यी दुवै देशले एकआपसमा स्थायी आवासीय कूटनीतिक नियोग स्थापना गर्न नसक्नुको मुख्य कारण आर्थिक हो । नेपालले भियतनाममा आवासीय राजदूतावास राख्न सक्ने तत्कालको सम्भावना नदेखिए पनि केही दशकयता उदीयमान आर्थिक शक्तिका रूपमा देखापरेको भियतनामले नेपालमा आवासीय दूताबास स्थापना गर्न चासो देखाएको छ । यो चासो नेपालका लागि आफैँमा उपलव्धि हो । भियतनामसँगको कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा नेपाल सरकारले थालेको पहल स्वागतयोग्य छ । आन्तरिक तथा बाह्य द्वन्द्वका कारण केही दशक अघिसम्म आर्थिक हिसाबले कमजोर नै रहेको भियतनामले पछिल्लो समयमा गरेको तीव्र आर्थिक प्रगतिबाट प्रेरणा लिनका लागि पनि यो भ्रमण फलदायी हुने अपेक्षा गरिनु स्वभाविकै हो ।
२ देशबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा समेत रूपान्तरण गर्न सकिने सम्भावनाका विषयमा नेपाल र भियतनामका प्रतिनिधिबीच भएका छलफल आफैँमा महत्वपूर्ण छन् । खासगरी नेपालले राखेको पर्यटकीय सम्भावनाका सन्दर्भमा थप गृहकार्य गर्ने प्रस्तावलाई भियतनामकी उपराष्ट्रपति सुआनले सकरात्मक रूपमा लिएको समाचार आएको छ । साथै नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा दिएको उम्मेदवारीका सन्दर्भमा पनि यो भ्रमण निकै महत्वपूर्ण छ । यी दुवै वटा निर्वाचनमा नेपाललाई साथ दिने प्रतिवद्धता भियतनामबाट आउनु हाम्रा लागि महत्वपूर्ण उपलव्धि हो । यसबाहेक कृषि क्रान्तिको माध्यमद्वारा औद्योगिक क्रान्तिमा फड्को मारिरहेको भियतनामसँगको सम्बन्ध बिस्तार नेपालका लागि दीर्घकालीन रूपमासमेत फलदायी हुने अपेक्षा गरिनु स्वभाविकै हो ।
कूटनीतिक गृहकार्यका मामिलामा आवश्यक तयारीलाई गम्भीरतापूर्वक ध्यान नदिइनु नेपालको पुरानै कमजोरी हो । त्यो कमजोरी यसपटक झन् देखियो । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भियतनामसँगको सम्बन्धलाई अवसरका रूपमा परिणत गर्ने प्रस्ताव अघिसारेको र यो प्रस्तावमा उपराष्ट्रपति सुआन सकारात्मक रहेको समाचार आफैँमा सुखद् हो । यद्यपि पोखरा विमानस्थलका सन्दर्भमा परराष्ट्रमन्त्री डा.राणाले राखेको प्रस्ताव आफैँमा हुचुवा हो । किनकी ३ घण्टा हवाई दुरीमा रहेका हनोई र पोखरा विमानस्थलबीच व्यावसायिक उडानको सम्भावना खासै छैन, तर हनोई र भैरहवा विमानस्थलबीच व्यावसायिक उडान हुने सम्भावना प्रचुर छ । पहिलो कुरा त करिब १० करोड जनसंख्या रहेको भियतनाममा बौद्धमार्गीहरूको संख्या ५५ प्रतिशत माथि छ ।
उनीहरू कम्तिमा पनि जीवनमा एकपटक लुम्बिनी आउन चाहन्छन् । दोस्रो कुरा आर्थिक समृद्धि हासिल भएसँगै पर्यटकका रूपमा विदेश भ्रमणमा जाने भियतनामीको संख्या हरेक वर्ष वृद्धि भइरहेको छ । भियतनामी उपराष्ट्रपति सुआनको भ्रमणलाई पर्यटकीय अवसर वृद्धिमा प्राथमिकता दिन खोजिनु सकारात्मक हो । तर ३ दिने नेपाल भ्रमणमा आएकी सुआनलाई लुम्बिनीमा स्वागत गर्ने गृहकार्य गरिएन । यो मामिलामा नेपालको तर्फबाट गम्भीर भूल होइन कि गल्ती नै भएको छ । किनकी ६ वर्षअघि नै प्रधानमन्त्री केपी ओली भियतनाम भ्रमणमा जाँदा पर्यटकीय सम्भावना उजागर भइसकेको थियो । तर सम्भावनालाई कसरी व्यवहारमा उतार्ने ? भन्ने गृहकार्यमा नेपाल चुकेको छ ।
प्रतिक्रिया