
सस्थापक नेता एवं दूरदर्शी राजनेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस विभाजनको संघारमा छ । कतिपय मुद्दामा असहमति राख्दै नेपाली कांग्रेसको संस्थापन पक्ष र इतर पक्षले साउन ६ गते छुट्टाछुट्टै कार्यक्रम गरी बिपी स्मृति दिवस मनाउने घोषणा गरेका छन् । पार्टीका जन्मदाताको स्मृति दिवस कुनै रचनात्मक क्रियाकलापमार्फत मनाउनुको सट्टा पार्टी विभाजनको सन्देश दिने गरी मनाइनु सामान्य घटना होइन । वास्तवमा बिपी कोइराला तथा उनको योगदानमाथि योभन्दा ठुलो अपमान अरू हुन सक्दैन । इतिहास हेर्ने हो भने अन्य पार्टीहरूको तुलनामा नेपाली कांग्रेसले विभाजनको पीडा खासै धेरै बेहोरेको देखिन्न । स्थापनाको यो ८० वर्षको इतिहासमा एक–दुईपटक विभाजन भएको देखिन्छ, त्यो पनि केही समयका लागि । तर यसपटक भने कांग्रेसका नेताहरूले पार्टी विभाजनका लागि बिपी स्मृति दिवसको साइत पर्खेर बसेको सन्देश गएको छ । जुन नेताले पार्टी जन्माए, हुर्काए र त्यही पार्टीमार्फत निरंकुश शासन व्यवस्थाको चुंगुलबाट देश र जनतालाई मुक्त गराए, तिनै नेताको तिथिलाई पार्टी विभाजनको साइतका रूपमा जुराइनु भनेको बिपीको विचारलाई होइन कि, आफ्नो स्वार्थलाई प्रधानता दिइएको संकेत हो । जब बिपीको विचारलाई छाडेर आफ्नो स्वार्थसिद्धिको हतियारको रूपमा पार्टी संगठनलाई दुरुपयोग गरिन्छ, तब मुलुकको राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको औचित्य माथि प्रश्नचिन्ह खडा हुन्छ । विडम्बना के छ भने विगत केही वर्षदेखि नेपाली कांग्रेसका नेताहरूले लगातार यो सन्देश दिइरहेका छन् ।
स्थापनाकालदेखि नेपालको संविधान (२०७२) जारी हुँदासम्मको कालखण्डलाई विश्लेषण गर्ने हो भने केही अपवादबाहेक नेपाली कांग्रेसको इतिहास अविस्मरणीय छ, यो अवधिसम्म नेपाली कांग्रेसको नेतृत्व गर्ने व्यक्तिहरूको नाम पनि इतिहासमा सकारात्मकरुपमा अंकित छ । तर त्यसयता पार्टीको नेतृत्व गरेका शेरबहादुर देउवा यतिबेला नेपाली कांग्रेसकै संस्थापन पक्षद्वारा सर्वाधिक तिरस्कृत छन् । सभापति पदबाट उनको बर्हिगमन पनि त्यति सम्मानजनक हुनसकेन । गत आमनिर्वाचनमा नेपाली कांग्रेसको करारी पराजय हुनुको मुख्य कारण देउवाको कार्यकालको कुशासन रहेको निष्कर्ष संस्थापन पक्षले निकालेको छ । तर अघिल्लो १४औँ महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसभित्रकै एउटा ठुलो पंक्ति भने देउवाको अपमानजनक बहिर्गमनको विपक्षमा देखिएको छ । यही लडाइँले नै नेपाली कांग्रेसलाई विभाजनको संघारमा पु¥याएको हो । विभाजनको यो संघारमा सैद्धान्तिक र वैचारिक आधार कहीँ कतै देखिँदैन । आफ्नो स्वार्थलाई प्रधानता नदिएको भए बिपी कोइरालादेखि सुशील कोइरालासम्मका कांग्रेस सभापतिहरू जस्तै देउवा पनि नेपालको राजनीतिको अविस्मरणीय पात्र बन्ने थिए । तर देउवा चुके । त्यही चुक्नुको प्रतिफल देउवाले अहिले भोगिरहेका छन् । यद्यपि देउवाका उत्तराधिकारी गगन थापाले पनि नेपाली कांग्रेसको पंक्तिलाई आशा र भरोसा प्रवाह गर्न सकेको देखिँदैन । इतर पक्षको सम्पर्क कार्यालयमा भएको भिडले त्यही संकेत गर्छ ।
इतर पक्षले पछिल्लो समय पार्टीको एकमना एकताका लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ । तर यो प्रस्तावमा पनि सहमति नजुट्नुको मुख्य सन्देश हो – ‘आ–आफ्नो बाटो तय ।’ यदि बिपी कोइरालाको विचार दिमागमा प्रवाह भइरहेको हुन्थ्यो भने एकढिक्का हुने सहज बाटो छाडेर विभाजनको अँध्यारो मार्ग रोज्ने थिएनन् । पार्टीका नयाँ पुस्ताका कार्यकर्ताहरूलाई बिपीको विचार, प्रजातान्त्रिक समाजवाद र ‘जय नेपाल’को वास्तविक अर्थबारे नबुझाई प्रशिक्षणविहीन भिडमा परिणत गरिएको प्रतिफल हो यो । विचार र सिद्धान्तको साटो ‘संगठन कब्जा’लाई नै राजनीति ठान्ने जमातको प्रणेता देउवा हुन् । ‘संगठन कब्जा’लाई राजनीति ठानेका कारण देउवाको जे हविगत भयो, कार्य शैली सुधार गरेनन् भने गगन थापाको पनि त्यही हविगत हुने हो । यदि बिपीको विचार बोकेको कांग्रेस हुन्थ्यो भने यो परिस्थितिमा विभाजन होइन, एकढिक्का भएर अघि बढ्थ्यो । तर बिपीको विचार नचिन्ने नेता तथा कार्यकर्ताहरूको पकड रहेको तप्काले ध्यान दिने भनेको आफ्नै स्वार्थका लागि हो । गत आमनिर्वाचनमार्फत जनताले दण्डित गरिसकेको यो पंक्ति फुट्नु वा जुट्नुमा पार्टीगत रूपमा त्यति अर्थ नराख्ला तर एउटा लोकतान्त्रिक शक्तिको विभाजनले मुलुकको राजनीतिमा भने त्यसको असर पक्कै देखिने छ ।
प्रतिक्रिया