
काभ्रपलाञ्चोक । ‘राजधानी प्रदेश’ का रूपमा रहेको बाग्मती प्रदेशका केही स्थानको अवस्था पनि उस्तै छ । ‘डाँडापारि’ भनेर चिनिने महाभारत र खानीखोला गाउँपालिकामा अझै स्थायी र भरपर्दो सडक सञ्जाल छैन । यसले गर्दा बिरामीलाई एम्बुलेन्समा सडकसम्म लाने अवस्था अहिलेको बर्खामा छैन । पैदल नै हिँडाएर बिरामीलाई राजमार्गसम्म पुर्याउँदा ढिलो भइसक्ने अवस्था छ । यसले गर्दा हेलिकोप्टर नै मगाएर बिरामीलाई काठमाडौँ वा धुलिखेल पुर्याउनुपर्ने बाध्यता छ ।
खानीखोला र महाभारत गरी २ पालिकामा बिरामीलाई स्ट्रेचरमा बोकेर ४ घन्टाको बाटो हिँडेर समान बोक्ने गाडीमा चढाएर अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । काभ्रेको सदरमुकाम धुलिखेलदेखि सबैभन्दा टाढाको दुरीमा रहेका यी २ पालिका अतिविकट भएकाले यिनलाई एकमुष्ट ‘डाँडापारि’ भनेर चिनिएको हो ।

दुर्गम भएकाले खानीखोला र महाभारतका स्थानीयको जनजीवन कष्टकर छ । २०७४ सालअघि यहाँको अवस्था झनै भौतिक विकासबाट टाढा थियो । कच्ची बाटोसम्म पुगेको थिएन । स्थानीय तहको निर्वाचनपछि स्थानीय जनप्रतिनिधिको पहलमा कच्ची बाटो त पुग्यो, तर त्यसले जनताको जीवनमा धेरै परिवर्तन ल्याउन सकेन । स्थायी रूपमा चल्ने बाटो र सवारीसाधन नहुँदा बर्खाको समयमा स्थानीयले सधैँ सास्ती बेहोर्नुपरिरहेको छ ।
यता, खानीखोला गाउँपालिकामा दुइटा एम्बुलेन्स छन्, तर एउटा पनि चल्न सकेको छैन । यसबारे खानीखोलाका स्वास्थ्य शाखा प्रमुख रामपुकार यादवले भने, ‘एउटा एम्बुलेन्स १ वर्षअघि बनाउन लगिएको थियो । ८ लाखभन्दा बढीको बिल आएपछि तिर्न नसकेर थन्किएको छ । अर्को केही महिनामात्रै भयो बिग्रिएको, बनाउन मिस्त्री बोलाएका छौँ । केही दिनमा बन्छ ।’

खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) समस्या समाधानका लागि आफूहरूले सक्दो प्रयास गरिरहेको बताउँछन् । ‘बर्खामा हामीलाई सधैँ सास्ती भइरहेको छ । वैकल्पिक उपाय खोज्ने काम भइरहेको छ । सुमो सेवालाई अपिल गरेर बर्खामा समेत सेवा दिन लगाइरहेका छौँ,’ उनले भने । सदरमुकाम जोड्ने स्थायी सडक बनाउन पालिकाको स्रोतले नभ्याउने अध्यक्ष थिङको भनाइ छ । संघीय सरकारले नसुनेकाले प्रदेश सरकारमार्फत् केही काम हुँदै गरेको उनले जानकारी दिए । ‘सदरमुकाम जोड्ने स्थायी सडक बनाउन पालिकाको स्रोतले भ्याउँदैन । हाम्रो आवाज संघीय सरकारले कहिल्यै सुनेन । प्रदेश सरकारमार्फत् केही काम भइरहेको छ,’ उनी भन्छन् । दोभानको पुल नबनेका कारण डाँडापारिका जनताले दुःख भोग्नु परेको अध्यक्ष थिङले बताए । ‘हामीले पटक–पटक पुल बनाउने ठेकेदारदेखि प्रदेश र संघीय सरकारसम्मलाई ध्यानाकर्षण गराइरहेका छौँ । तर, यो झन्डै १० वर्षदेखि अड्किएको छ । त्यो पुल बन्दा मकवानपुरको हेटौँडा पुग्न नजिक हुनेथियो । प्रदेश सदरमुकाम जान स्थानीयलाई केही राहत हुनेथियो,’ उनले थपे ।

यता, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले स्थानीय ठाउँमा जटिल बिरामीको उपचार गर्ने अस्पताल बनाउन संघ र प्रदेश सरकारलाई धेरै पहिलेदेखि पहल गरिरहेको भए पनि त्यो पूरा हुन नसकेको बताए । ‘भूगोलमा हामी पछि परेका हौँ । यद्यपि, हामीले गर्न सक्ने गरी भौतिक पूर्वाधारका विकासहरू गरेका छौँ । स्थायी मोटर बाटो र यही ठाउँमा जटिल बिरामीको उपचारसमेत सम्भव गराउने सुविधा दिलाउन संघ र प्रदेश सरकारसँग धेरै पहिलेदेखि पहल गरिरहेका छौँ,’ उनी भन्छन् । अध्यक्ष जिम्बा पक्की पुल र सडक निर्माणलाई ध्यान दिन संघीय सरकारसँग आग्रह गर्छन् । ‘जनताको दुःख देखेर पनि केही गर्न नसकिरहेको अवस्था छ । पक्की पुल र सडकलाई संघीय सरकारले ध्यान देओस्,’ उनले थपे ।
२०७८ सालको जनगणनाअनुसार खानीखोलाको जनसंख्या १२ हजार २०१ र महाभारतको १६ हजार ७९ छ । दुवै पालिकामा विद्युत् पनि भर्खर मात्रै पुगेको छ । खानीखोलामा भने घर–घरमा विद्युत् अझै पुग्न सकेको छैन । स्थायी मोटरबाटो र जटिल स्वास्थ्य उपचार सम्भव नभएको भन्दै यस भेगबाट सुगम भेगमा बसाइँसराइ पनि तीव्र हुँदै गएको छ । स्थानीय जनप्रतिनिधिहरू भन्छन्, ‘महाभारत र खानीखोलामा कम्तीमा ५० शय्याको अस्पतालको आवश्यकता छ । अस्पताल बनाउन केही भौतिक पूर्वाधारका काम अघि बढे पनि अरू थुप्रै प्राविधिक काम हुन नसक्दा अस्पताल चल्न सकेको छैन ।’
बर्खाको समयमा त हिँड्नसमेत नसकिने अवस्था हुने, भिर, पहिरो र खोला पार गर्दा ज्यानको बाजी थाप्नुपर्ने समस्या प्रत्येक वर्ष दोहोरिँदै आएको छ । पछिल्ला वर्षहरूमा यस्तै अवस्थाका गर्भवती महिला, बिरामी तथा घाइतेको उद्धार हेलिकोप्टरमार्फत् गरिँदै आएको महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बा बताउँछन् ।
प्रतिक्रिया