
सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गर्दा देखापरेको पर्यटन व्यवसायीको उत्साह बिस्तारै सेलाउन थालेको छ । विश्वव्यापी कोभिड महामारी सकिएपछि विदेशी पर्यटकको आगमन वृद्धिदर सन् २०१९ भन्दा पहिलेको जस्तै हुने अनुमान सही सावित हुन सकेन । नयाँ नयाँ पर्यटकीय गन्तव्यहरूको उजागर गर्ने उपायको खोजीका लागि नेपाल पर्यटन बोर्डले २ वर्षअघि चलचित्रको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने विषयमा चलचित्र विकास बोर्डसँग छलफल चलायो । सहयोग आदानप्रदान गर्ने सहमति पनि भयो । तर, नयाँ पर्यटकीय गन्तव्यहरू उजागर भएका कतिवटा चलचित्र यो २ वर्षको अवधिमा बने त ? भन्ने प्रश्नको उत्तर निराशाजनक छ । हुन त सहरी क्षेत्रको रमझमभन्दा दूरदराजका गाउँठाउँमा गएर चलचित्र छायांकन गर्ने प्रचलन पछिल्ला वर्षहरूमा नबढेको होइन । त्यस्ता थुप्रै चलचित्रहरू रिलिज भएका पनि छन् । तर पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने मामिलामा चलचित्र निर्माताहरू सामान्य युट्युबर जत्तिको पनि प्रभावकारी हुन नसकेको स्थानीय पर्यटन व्यवसायीको अनुभव छ । छायांकन सम्बन्धित क्षेत्रमा गरिए पनि कथाबस्तुको परिवेश अर्कै भएका कारण ग्रामीण पर्यटन प्रवद्र्धनका मामिलामा चलचित्र क्षेत्रको योगदान अपेक्षाकृत हुन नसकेको यथार्थलाई मनन गर्नु जरुरी छ । उदाहरणका लागि साढे २ दशकअघि रिलिज भएको क्याराभान चलचित्रले माथिल्लो डोल्पालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन जे जति योगदान पु¥यायो, त्यसको तुुलनामा ५ वर्षपछि बनेको भानुभक्त चलचित्रले जन्मस्थल चुँदी रम्घालाई चिनाउने मामिलामा सिन्को पनि भाँच्न सकेन । त्यसैले ग्रामीण क्षेत्रमा चलचित्र सुटिङ गरेर मात्रै पर्यटन प्रवद्र्धन हुँदैन, कथावस्तु तथा परिवेश पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।
हुन त चलचित्र निर्माणको उद्देश्य पर्यटन प्रवद्र्धनभन्दा पनि कला, संस्कृतिमार्फत मनोरन्जन बेचेर आर्थिक उपार्जन गर्नु हो । तर यो कुरा बलिउड र हलिउडमा सान्दर्भिक भए पनि नेपालका लागि भने सोचनीय पक्ष हो । नेपाली चलचित्र जगतले बिक्री गर्न सक्ने भनेको मौलिक कला संस्कृति, भौगोलिक परिवेश तथा रहनसहन हो । यस्ता चलचित्रले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख योगदान गरेका उदाहरण छन् । मुलुक स्थानीय सरकारको अवधारणामा गएपछि धेरैजसो पालिकाहरूले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् । आफ्ना गाउँठाउँमा चलचित्र सुटिङ गर्न चाहनेलाई विशेष सहजीकरण मात्रै होइन सम्मान गर्नसमेत चुकेका छैनन् । तैपनि चलचित्र निर्माता र स्थानीय सरकारहरूले हातेमालो गरेका उदाहरण ज्यादै कम छन् । चलचित्र निर्माताहरूले चर्को आर्थिक बार्गेनिङ गर्ने गरेको कतिपय स्थानीय सरकारको गुनासो छ । स्थानीय सरकारहरू युट्युबरप्रति बढी आकर्षित किन भए ? ग्रामीण पर्यटन प्रवद्र्धनका मामिलामा चलचित्रहरू वृत्तचित्रजत्तिको प्रभावकारी हुन नसक्नुको कारण के हो ? भन्ने सन्दर्भमा स्वयं चलचित्र निर्माताहरूले ध्यान दिनु जरुरी छ ।
पर्यटन दशकको घोषणा गरेर मात्रै हुँदैन । यसका लागि ठोस र प्रभावकारी कार्यक्रम अघि सार्नुपर्छ भन्ने कुरा सरकारमा रहनेहरूले पनि मनन गरेको देखिँदैन । युट्युबमा उपलब्ध हुने कतिपय चलचित्र, वृत्तचित्र तथा ब्लगका कारण पछिल्ला दशकहरूमा आन्तरिक पर्यटन फस्टाएको छ । १ वर्षमा करिब १ करोड नेपाली आन्तरिक पर्यटकका रूपमा निस्कने गरेको मोटामोटी आँकडा उत्साहप्रद छ । ग्रामीण रोजगारीमा वृद्धि तथा गाउँहरू रित्तिने समस्या न्यूनीकरणका लागि आन्तरिक पर्यटनले निश्चिय नै ठुलो योगदान पु¥याएको छ । निकै हदसम्म अर्थतन्त्रलाई चलायमान पनि बनाएको छ । तर, नेपालजस्तो विकासोन्मुख तथा वस्तु आयातले जीविकोपार्जन गर्नुपर्ने देशको समग्र अर्थतन्त्रलाई गति दिनका लागि आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटक आकर्षित गर्न विशेष ध्यान पु¥याउनु जरुरी छ । यसका लागि चलचित्र विकास बोर्डलाई परिचालन गर्ने प्रयास आफ्नो ठाउँमा ठिकै छ । तर, अन्तर्राष्ट्रिय जगतमा खपत हुने चलचित्र बनाउन नेपाली निर्माता खासै सक्षम देखिएका छैनन् । यो मामिलामा उनीहरूलाई सक्षम बनाउँदै लैजान सरकारले अवश्य पनि प्रयास गरेकै होला । तर, क्याराभानजस्तै अन्तर्राष्ट्रिय जगतका नाम चलेका चलचित्र निर्मातालाई नेपालमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याउनु जरुरी छ । यसका लागि पर्यटन व्यवसायीले पनि सरकारको मुख ताकेर मात्रै हुँदैन । होटल निर्माणका लागि खर्बौं रुपैयाँ लगानी गर्न सक्षम नेपालका पर्यटन व्यवसायीहरू विदेशी पर्यटक आकर्षित गर्ने मामिलामा पनि सक्रिय हुन जरुरी छ ।
प्रतिक्रिया