विद्यालय जाने उमेरमा घाँस दाउरा गर्नु परेका कारण शिक्षाको अवसरबाट वञ्चित भएका महिलाहरू अहिले आफ्ना छोराछोरीसँगै विद्यालय जान थालेका समाचार विभिन्न पालिकाबाट आइरहेका छन् । पढाइमा चासो राख्न थालेका आमाहरूलाई विद्यालय भर्ना गर्न कतिपय पालिकाहरूले प्रोत्साहन स्वरूप विभिन्न कार्यक्रम ल्याएका छन् । जसलाई उनीहरूले ‘आमा शिक्षा कार्यक्रम’ नाम दिएका छन् । चाहे बाग्लुङ नगरपालिकाका वसुन्धरा प्राथमिक विद्यालय होस् या जिरी नगरपालिकाको ठुलो पाताल मावि होस्, सहभागिताका दृष्टिले आमा शिक्षा कार्यक्रम उत्साहका साथ अघि बढेको देखिन्छ ।
त्यसो त ५ वर्षअघि नै समविकास केन्द्र डोटीले पालिकाहरूको समन्वयमा सञ्चालन गरेको आमा शिक्षा कार्यक्रमले ठुलो चर्चा पाएको थियो । सिंगो सुदूरपश्चिमका लागि यो कार्यक्रम नमुना हुने अपेक्षा गरिएको थियो, तर उमेर सापेक्ष पाठ्यक्रम, शैक्षिक सामग्री तथा शिक्षकको अभावमा उक्त कार्यक्रम अपेक्षा गरिए जसरी अघि बढ्न सकेन । शैक्षिक सत्र समाप्त नहुँदै पढाइ छाड्ने, परीक्षामा सामेल नहुने आमाहरूको संख्या उल्लेख्य देखियो । तर सबै ठाउँको अनुभव एकै प्रकारको भने छैन । उदाहरणका लागि गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकको मणिकामदेवी माविमा छोराछोरीको पढाई सुधार्न बाल कक्षादेखि देखि १० सम्म हरेक कक्षामा १ जना अभिभावक आलोपालो गरेर दिनभरी बस्ने निर्णय आमा समूहले गर्यो ।
यसरी डिउटी दिन क्रममा स्वःर्फुत रूपमा शिक्षा आर्जन गरेपछि उनीहरूमा विद्यालय जाने रुची बढेको छ । लेखपढका लागि आमाहरूमा आएको यो जागरणलाई राज्यले अवसरका रूपमा सदुपयोग गर्न विशेष कार्यक्रम ल्याउनु जरुरी छ ।
कतिपय पालिकाबाट आएका समाचारलाई नियाल्दा शिक्षा आर्जनभन्दा पनि आफ्ना पुर्खाले दुःख गरेर खोलेका विद्यालयहरू जोगाउनका लागि ‘आमा शिक्षा कार्यक्रम’ ल्याइएको देखिन्छ । जसको पुष्टि बागलुङ नगरपालिका वसुन्धरा प्राथमिक विद्यालयकी प्रधानाध्यापक सरिता उप्रेती पाण्डेको भनाइले पनि गरेको छ । हुन पनि विद्यालय समायोजन कार्यान्वयन निर्देशिका, २०७० अनिवार्य लागू गर्न संघीय सरकारले स्थानीय सरकारलाई दबाब दिएपछि सरकारी विद्यालयका धेरै शिक्षकको घरपायक जागिर संकटमा पर्ने देखिएको छ ।
त्यसैले आमा शिक्षा कार्यक्रमलाई केही व्यक्तिको घर पायक जागिर जोगाउने साधन मात्रै बन्न नदिएर शैक्षिक जागरणको माध्यम बनाउनु आजको आवश्यकता हो । पछिल्ला २ दशकदेखि पारिवारिक ढाँचामा व्यापक परिवर्तन आएको छ । २ भन्दा बढी सन्तान जन्माउने प्रचलन लगभग हटिसकेको छ । गाउँबाट सहर बसाइँ सर्नेको लहरले हजारौँ परिवार कृषिकर्मबाट टाढिएका छन् । छोराछोरीलाई विद्यालय पठाएपछि दिनभर फुर्सदिला बन्ने गरेका २५ देखि ४० वर्ष उमेर समूहका निरक्षर आमाहरूको संख्या देशमा लाखौँ छ । आधा उमेर बाँकी रहेका यस्ता आमाहरूका लागि ३ वटै तहका सरकारहरूले विशेष कार्यक्रम ल्याउन ढिलाइ भइसकेको छ । त्यस्ता कार्यक्रमले उनीहरूको सीप–क्षमता अभिवृद्धि गर्दै आयआर्जनमा टेवा दिनसके अझ वेश हुनेछ ।
विगतमा प्रौढ कक्षा सञ्चालनका लागि राज्यको ढुकुटीबाट जति रकम खर्च भएको थियो, त्यसको तुलनामा प्रतिफल ज्यादै न्यून देखिएको तीतो अनुभव छ । बुढेसकालमा अक्षर चिनिराख्नु पर्ने आवश्यकता विगतमा खासै नभएकोले रुची कम देखिको थियो । तर अहिले छोराछोरी कमाइका लागि घरबाहिर भएकोले बाबु आमाको दिन काट्ने मेलो भनेकै हातमा भएको मोबाइल टेलिफोन हो । मोबाइल सेटमा उपलव्ध हुने सुविधा प्रयोग गर्नका लागि पनि कतिपय आमाहरू लेखपढका लागि लालयित भएको अवस्थालाई राज्यले सदुपयोग गर्नुपर्छ ।
लेखपढ गर्न सक्ने आधारभूत ज्ञानका अलावा कृषि–स्वास्थ्य शिक्षा, सिलाइबुनाइ लगायतका आयमूलक सीप सिकाउनेतर्फ राज्यको ध्यान जानु पर्छ । नेपालमा पढ्ने उमेरका विद्यालय नै नगएका र गएर पनि बीचैमा पढाइ छाडेका (४ देखि १८ वर्ष उमेर समूहका) करिब २४ लाख बालबालिकाहरू छन् । यो समस्याको समाधानका लागि आमा शिक्षा कार्यक्रमले धेरै हदसम्म सहयोग पुग्छ । आमाहरू नै विद्यालय जान थालेपछि बीचमै विद्यालय छाड्ने बालबालिकाको संख्या घटाउन सरकारलाई मद्दत पुग्नेछ ।
प्रतिक्रिया