पुजाको अर्धशतकमा पनि नेपालको लगातार पाँचौं हार, नेदरल्याण्ड्स १० विकेटले विजयी

काठमाडौं । कामाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० क्रिकेट शृंखलाअन्तर्गतको खेलमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । आजको खृलमा नेदरल्याण्ड्ससँग १० विकेटले हारेपछि नेपालको पाँचौं हार भएको हो । यसअघि पनि नेपालले लगातार चार खेल हारेको थियो ।

पुजा महतोको अर्धशतकको बाबजुद पनि नेपालले फराकिलो हार भोगेको हो । आजको पाँचौं खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।

नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक ९८ रन जोडिन् । उनले ६९ बलमा ११ चौका र २ छक्का प्रहार गरिन् । फोबी मोल्किनोमोरले ४९ बलमा ४ चौकाको सहयोगमा नट आउट ४८ रन जोडिन् । नेपालले ७ बलरको प्रयोग गरे पनि कुनै विकेट निकाल्न सकेन ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको थियो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् ।

करियरको पहिलो अर्धशतक पुजाले गत वर्ष माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन् । तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरिन् । इन्दुले ३७ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।

नेदरल्याण्ड्सका लागि आरिस विलिङले २ तथा कोरोलिङ डि लाङ र हेटर सिगर्सले समान १ विकेट लिए । नेदरल्याण्ड्ससँग खेलेका तीनै खेलमा नेपाल पराजित भएको छ । ५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । अपराजित थाइल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।

प्रतिक्रिया