‘अर्कालाई सल्लाह र सुझाव दिने मामलामा हामी नेपाली धेरै नै उदार छौँ । भेट हुनासाथ सन्चो–बिसोन्चो सोधिहाल्ने राम्रो प्रचलन छ । बिसन्चो भएको सुन्नासाथ फलानो औषधि खाइहाल्नोस् न ! भन्ने बानी सबैको छ । क्यान्सर नै भएको रहेछ भने पनि उपचार विधिको सुझाव दिन हामी पछि पर्दैनौँ । स्वास्थ्यकर्मीलाई समेत गैरस्वास्थ्यकर्मी साथीले सित्तैँमा यस्ता सल्लाह दिन्छन् ।
वरिष्ठ पत्रकार नारायण अमृतले फेसबुकमा राखेको स्टाटस निकै घतलाग्दो छ । उनले लेखेका छन्, ‘मिडिया सञ्चालन गर्दाका दुःख हजार रहेछन् । अलिक अस्तिसम्म त सम्पादक भइयो । राम्रै पारिश्रमिक पनि लिइयो । समाचार कक्ष र त्यसका आयामहरूमा काम गरियो । तर, अलिक अस्ति एउटा बैंकको एउटा डेपुटी सिइओ भइसकेको र अहिले पनि त्यही आयतनमा काम गरिरहेको एउटा भाइसँग भेट भो । यस्तो पत्रकारिता पढायो कि मूलाले । लामो प्रवचनपछि उसले भन्यो– ‘हेर्नुस्, नेपाल विगारेको पत्रकारिताले हो ।’ मलाई चिसिँदै गएको कफी पनि बहुत तातो लाग्यो । अन्तिममा भनेँ– भाइ, बैंक, राष्ट्रबैंक, वाफिया ऐन, उद्यम, उद्योगी, समाज र राजनीतिक तथा सामािजक प्रतिबद्धताका विषयमा तिम्रो एक शब्द आएन । तिमीले मलाई पत्रकारिता पढायौ । त्यो पनि ३० मिनेट । जहाँ की म ३० वर्ष यसैमा छु । एउटा कुरा भन्दिम– ‘तिमिले अबदेखि कण्डम् लिंगमा होइन दिमागमा लगाउने गर । यो तहको ज्ञानको बेश्यावृत्तीले गर्दा हाम्रो समाज र सोचमा थप रोग लाग्छ ।’
नारायणले दनक कडा नै दिए । तर आँफ्नो अनुभव नै नभएको विधामा सल्लाह दिन अघि सर्नेहरूले पाउने जवाफ यस्तै हो । तर संवन्धित विधाका मान्छेहरू आफ्नो पेशा या व्यवसायिक धर्ममा चुके भने आलोचना हुनु स्वभाविकै हो । किनकी ‘मेस्सीले यसरी बल हानेको भए ठ्याक्कै गोल हुन्थ्यो’ भन्ने कुरा सामान्य दर्शकलाई लाग्न सक्छ । नेपाली पत्रकारिता यसरी अघि बढेको भए राम्रो हुन्थ्यो भन्ने बैंकमा काम गर्ने व्यक्तिलाई लाग्नु स्वभाविकै हो । अझ पित पत्रकारिकताको शिकार भएको छ भने अझै बढी आक्रोस जाग्न सक्छ । किनकी पितपत्रकारिता भनेको के हो ? भन्ने ज्ञान पत्रकारिता विषय नपढेको व्यक्तिलाई थाह हुँदैन । नेपालमा पत्रकारिताको स्तर खस्कँदै गएको र पितपत्रकारिता मौलाउँदै गएको यथार्थ हो ।
कतिपय व्यवसायमा संवन्धित विषय बस्तुको ज्ञान र अनुभव भए चल्छ । थप इमान्दारिता भए पुग्छ । तर पत्रकारिताका लागि धेरै विधामा सामान्य ज्ञान राख्नै पर्छ । एउटै व्यक्तिले धेरै विधामा विज्ञता राख्न संभव हुँदैन । त्यसैले पत्रकारितामा पनि विभिन्न विधाहरू हुन्छन् । पत्रकारिताको भाषामा यसलाई ‘विट’ भन्ने गरिएको छ । नेपालमा पनि व्यवसायीकरण सँगै विट पत्रकारिता अघि बढेको छ । विट पत्रकारिताले योगदान पु¥याएको पनि छ । उदाहरणका लागि नेपाल वातावरण पत्रकार समुहले केही वर्ष अघिसम्म पु¥याएको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन । वातावरण क्षेत्रका विज्ञहरू समेत केही तथ्यांक लिन वातावरण पत्रकार समुहको कार्यालयमा जाने चलन केही वर्ष अघि सम्म थियो ।
यसैगरी जलस्रोत विज्ञहरू कुनै गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्न जानुभन्दा अघि वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, विकास थापा लगायत कहाँ जाने गर्थे । महाकाली सन्धीका बेला जलस्रोत विटका पत्रकारहरूले धेरै तथ्यांक सथा सामाग्रीहरू सार्वजनिक गरेका थिए । नेताहरूले स्याटलाईटबाट विजली निर्यात गर्ने भाषण गरिरहँदा जनताहरूले ताली पिटेर समर्थन जनाएकै हुन्, तर स्याटलाईटबाट विजुली निर्यात गर्ने प्रविधि विकास भएको छैन है, हुने संभावना पनि कम छ है, भनेर जनतालाई सूसुचित गराएको जलस्रोत विटका पत्रकारहरूले नै हो ।
खासगरी राजनीतिक विट र आर्थिक विटको पत्रकारिता नेपालमा निकै आलोच्य छ । उदाहरणका लागि नेताहरूले गरेको स्याटलाइट बाट विजुली बेच्ने भाषणलाई राजनीतिक विटका पत्रकारहरूले महान नेताको महानबाणी भन्दै प्रचार गरे । जलस्रोत विटका पत्रकारहरूले खवरदार, यसले झुठ बोल्दैछ भनेर समाचार लेखे । यो त उदाहरण मात्रै हो । विषय बस्तुको ज्ञान सुन्य भएका नेताहरूले घण्टौसम्म मुखमा जे आउँछ त्यही बोल्दै जाने, र त्यसलाई महान विचार भन्दै जनता कहाँ पु¥याउने प्रवृत्ति राजनीतिक पत्रकारिता विटमा हावी छ । पत्रकारितालाई चाकडीको माध्यम बनाइएको छ ।
आर्थिक पत्रकारिता अझ बद्नाम छ । हरेक कला व्यापारीले पितपत्रकार पालेका छन् । उसका कर्तुतहरू मिडियामा आउन नदिन त्यही पितपत्रकारले व्यापार विटका अन्य पत्रकारलाई दारु पानीको व्यवस्था गरिदिन्छ । हरेक बद्मास ठेकेदारले पितपत्रकार पालेको हुन्छ । उसको डिउटी आफ्नो मालिकका कालाकर्तुत लुकाउनका लागि लविङ गर्नु बाहेक अन्यत्र हुँदैन । यसैगरी हरेक भ्रष्टकर्मचारीले पितपत्रकार पालेको हुन्छ । नेताहरूलाई घुस खुवाएर मालदार ठाउँमा पुगेका भ्रष्ट कर्मचारीहरूले त दर्जनौ पितपत्रकार पालेका हुन्छन् ।
यो मामिलामा बैंक तथा वित्तिय संस्थाको हालत झन् चौपट छ । आज भन्दा बीस वर्ष अघिको कुरा गर्ने हो भने कुन बैंकहरू कसरी टाट पल्टँदैछन् ? भन्ने समाचार दुई वर्ष अघि नै प्रक्षेपण गर्ने हैसियत नेपालका आर्थिक पत्रकारहरूले राख्थे । यस्ता प्रक्षेपणको समाचार प्रवाह गरेर पत्रकारहरूले कतिपय बैंक टाट पल्टनबाट जोगाएका थिए । तर पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरू धरासायी भएर संचालक नभाग्दासम्म आर्थिक विटका पत्रकारहरूले थाह नपाउने अवस्था बन्यो । यतिसम्मकी ‘ठगहरूलाई टुंडिखेलमा उल्टो झुण्ड्याएर तीन फन्का घुमी नाके डाँडीमा किक हान्छु ’ भन्दै कुर्लने पत्रकार रवि लामिछाने जीवि राईको कामदार बन्न पुगेछन् । उनी भन्दैछन्,‘ मैले त थाह नै पाइन ।
रवि लामिछाने पत्रकारितामा छँदा प्रेस काउन्सिल नेपालले ‘पत्रकार पचियपत्र बनाउनु’ भन्ने सल्लाह दियो । यो सल्लाह उनले माग्दै मागेका थिएनन् । संयोगले त्यतिबेला प्रेस काउन्सिलको कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ थिए । त्यो बेला प्रेस काउन्सिलको कार्यबहाक अध्यक्ष भएकै कारण किशोर श्रेष्ठको नाके डाँडी झण्डै झण्डै भाँचिएन । किशोरलाई ज्यान मार्ने धम्की दिनेहरूको त रवि लामिछानेको कार्यालयमा ताँती नै लाग्यो । कतिपय धम्की त उनले लाइभ प्रशारण गरे । प्रेस काउन्सिलको सल्लाह विरुद्ध उनी खनिनुको मुख्य कारण थियो –‘ नागरिकता प्रमाणपत्र ।’ किनकी सुचना विभागबाट नेपाली पत्रकारको परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्थ्यो । तर उनले अमेरिकी नागरिकता लिएका रहेछन् । अमेरिकी नागरिकको हैसियतमा परिचयपत्र बनाउँदा हरेक वर्ष थप शुल्क तिर्नु पथ्र्यो ।
अमेरिकी नागरिकता नत्याग्ने लोभमा उनले बबण्डर मच्चाए । तर कालन्तरमा यो बबण्डरको क्षति उनले त भोग्नु प¥यो नै, देशले समेत भोग्यो । चितवनमा दोहो¥याएर चुनाव गर्नु पपर्दा ठूलो क्षति भयो । नेपालको पछिल्लो पत्रकारिता अरु क्षेत्रमा चुक्यो होला, तर लामिछानेको नागरिकता प्रकरणमा समय नर्घकिँदै समाचार प्रवाह भएकै हो ।
नमागेको सल्लाह दिने धृष्टता
खास गरी नेपालमा मेडिकल र इन्जिनियरिङ क्षेत्रको विधागत पत्रकारिता अहिलेसम्म सम्भव भइरहेको छैन । बिरामी मरेपछि डाक्टरहरूले कुटाइ खाने गरेका समाचार प्रायः आउने गरेका छन् । तर डाक्टरले पिटाइ खानैपर्ने अपराध गरेको हो वा होइन ? सामान्य जानकारी राखेर समाचार बनाउन सक्ने हैसियतका व्यक्तिको खडेरी नेपाली पत्रकारितामा छ ।
त्यसैगरी काम सम्पन्न भइसके पछि पनि आयोजना हस्तान्तरण हुन नसकेको, ठेकेदारले भुक्तानी नपाएका समाचार प्राय जसो आउने गरेका छन् । राजधानी काठमाडौँको मुटुमा रहेका कालिमाटी स्थित विष्णुमती नदीको नयाँ पुल त लामो समयदेखि विर्को लगाएर राखिएको छ । यस्ता उदाहरण धेरै छन् । कुन पूर्वाधार निर्माण गर्दा कहाँनिर प्राविधिक त्रुटी भयो ? यस्ता पूर्वाधारको मोटामोटी लागत कति हुन्छ ? भन्ने सामान्य जानकारी राखेर समाचार बनाउने व्यक्तिको पनि नेपाली पत्रकारिता क्षेत्रमा खडेरी छ ।
यस्तो जटिल अवस्था, जहाँ पत्रकारको ज्ञान र पहुँच हुँदैन, त्यसको गाँठो फुकाउने विधि पनि पत्रकारिता विषय पढाईका क्रममा सिकाउने गरिन्छ । संवन्धित विषयका विज्ञहरूको भनाई उदृत गरेर समाचार बनाउन सकिन्छ । तर यसका लागि पत्रकारलाई पहिलो कुरा त जाँगरको अभाव छ, दोस्रो कुरा साधन स्रोतको पनि अभाव छ । अर्कातिर यस्ता विषयका विज्ञहरू अरु विषयमा सुझाव दिन कसिन्छन् । लोकप्रिय मेयर बालेन शाह पनि इन्जिनियर नै हुन् । न्युरोड क्षेत्रमा फुटपाथ बिस्तार गर्न उनी रातारात सडक विभाग सँग जुधेकै हुन् । तर कालिमाटीको यो पुलका सन्दर्भमा उनको प्रतिक्रिया आएको छैन ।
नारायणगढ–बुटबल खण्डको १ सय १० किलोमिटर सडक पार गर्न सामान्यतया दुई घण्टा लाग्ने गथ्र्यो । विगत चार वर्षदेखि १० घण्टा लाग्न थालेको छ । यो स्थितिले अझै पाँच वर्ष निरन्तरता पाउने निश्चत छ । दैनिक हजारौँ गाडी गुड्ने तथा लाखौँ मान्छे ओहोर दोहोर गर्ने सडक हो यो । दुई घण्टाको सट्टा १० घण्टा समय लाग्ने अवस्था १० वर्षसम्म जारी रहँदा कति अर्ब रुपैंया आर्थिक नोक्सानी होला ? मिहिन हिसाव गर्ने हो भने अर्बौँ होइनकी, खर्बौँको अंक आउन सक्छ । सामान्य क्यालकुलेटरले नधान्ने अंक आउन सक्छ ।
के यति ठूलो आर्थिक भार नपर्ने गरी यो सडक बिस्तार गर्न संभव थिएन होला ? बिस्तारको काम थलनी गर्नु अघि गोलाघाटमा नारायणी नदी माथि पुल हालेर मेघौलीबाट त्रिवेणीसम्म सडक जोड्न सकिँदैनथ्यो होला ? सिद्धबाबा सुरुङ निर्माणको कामलाई पाँच वर्ष पछि सारेर त्यो बजेट मेघौली– त्रिवेणी जोड्ने सडकका लागि विनियोजन गर्न सकिन्नथ्यो होला ? मेघौली– त्रिबेणी सडक बन्ना साथ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान पाउने संभावना बढ्थ्यो की ? यसैगरी चितवन क्षेत्रमा घर जग्गामा रकम फँसाउनेहरूको उद्धार हुन्थ्यो की ? राजधानी काठमाडौँबाट सबै भन्दा नजिकको व्यापारिक नाकाका रुपमा त्रिवेणी क्षेत्रको कायपलट हुन्थ्यो की ?
त्यसो त नारायणगढ– बुटवल सडकखण्डको जे हालत छ, पृथ्वीराजमार्ग बिस्तारको हालत पनि करिव करिव त्यस्तै छ । २०८३ साल भित्र फाष्ट ट्रयाकमा गाढी गुडाउने भनेर नेपाली सेनाले प्रतिवद्धता जनाएकै छ । बेला बेला अनुगमनमा जाने संसदीय समितिको टोलीले पनि सेनाको प्रतिद्धतामा विश्वास गरेकै छन् । अब दुई वर्ष मात्रै बाँकी छ । पृथ्वी राजमार्ग बिस्तारको काम यही रफ्तारमा हुने हो भने सम्पन्न हुन अझै चार वर्ष लाग्छ । बरु दुई वर्ष पछि पुन काम सुरु गर्ने गरी अहिलेलाई स्थगित गर्दा कसो होला ? यसको सट्टा दमौलीबाट घुमाउने घाट जोड्ने ३२ किलोमिटर दुरीको छोटो सडकको स्तोरोन्नतीमा तत्काल ध्यान दिए कसो होला ?
दशकौँदेखि चर्चामा रहेको तराईको हुलाकी सडकको हालत झन खराव छ । हुलाकी सडक निर्माणका लागि अहिले सम्म करिव २५ अर्ब रुपैंया खर्च भइसकेको छ । अधिकांश ठाउँमा सडक कालोपत्रे भइसकेको छ । तर पुलहरू नबन्दा सडक प्रयोग विहिन भएको छ । उदाहरणका लागि विराटनगरबाट झापाको भद्रपुरसम्म ५९ किलोमिटर हुलाकी सडक कालोपत्रे भइसकेको छ । तर दुई वटा पुल निर्माणको काम बाँकी हुँदा हुलाकी सडक स्थानीय जनताका लागि विस्कुन सुकाउने ठाउँ बनेको छ । उता विराटनगरबाट महेन्द्र राजमार्ग हुँदै भद्रपुर पुग्न ११७ किलोमिटर दुरी तय गर्नुपर्ने वाध्यता छ । भद्रपुरबाट मोरङ्गको पुरानो सदररमुकाम हुँदै विराटनगर सम्मका जनताले आँगनकै पिच सडकको उपयोग गर्न पाएका छैनन् ।
ठीक यस्तै हालत सप्तरीको राजविराज हुँदै सिराह, जनकपुर, मलंगवा, गौर, कलैया, वीरगन्ज, ठोरीसम्म कालोपत्रे बनेको हुलाकी सडकको छ । किनकी पुलहरू बन्न सकेका छैनन् । जसका कारण राजविराजबाट जनकपुर पग्न महेन्द्र राजमार्ग हुँदै १ सय २२ किलोमिटर दुरी पार गर्नुपर्ने अवस्था छ । यदी हुलाकी राजमार्गमा दुई वटा पुल मात्रै हुने हो भने जनकपुर र राजविराजबीचको दुरी ५१ किलोमिटर मात्रै हुन्छ । आखिर हुलाकी सडकमा अहिलेसम्म किन पुल नबनाइएको होला ? सडक निर्माण र पुल निर्माणको काम सँगसँगै अघि बढाएको भए के बिग्रिन्थ्यो होला ?
प्रतिक्रिया