देशकै विषम मानिने काठमाडौँ–१६ मा कसले मार्ला बाजी ? भन्ने विषयमा देशभरको जिज्ञासा छ । किनकी यो परिणामले २०८४ मा हुने स्थानीय निर्वाचन तथा आमनिर्वाचनको पूर्वसंकेत अवश्य पनि दिन्छ । तर कसले मार्ला बाजी ? भन्ने प्रश्नको सहज अनुुमान गर्न सकिने अवस्था छैन । विगतको निर्वाचन परिणामले यही देखाएको छ ।
यही १६ मंसिरमा देशका विभिन्न ४२ पालिका तथा वडामा रिक्त रहेका पदहरूमा हुन गइरहेको निर्वाचनलाई मिनी जनमत संग्रहका रूपमा लिइएको छ । देशका सातै प्रदेशका कुनै न कुनै स्थानमा चुनाव हुन गइरहेकोले मिनी जनमत संग्रहका रूपमा लिइएको हो । यी ४२ मध्ये पनि काठमाडौँ महानगरपालिका–१६ मा हुन गइरहेको उपनिर्वाचनलाई विशेष रूपमा लिइएको छ । पहिलो कुरा त यो वडामा ७७ जिल्लाका नागरिकहरूको बसोबास छ । दोस्रो कुरा अहिले उपनिर्वाचन हुन गइरहेका स्थानमध्ये जनसंख्याको दृष्टिले सबैभन्दा ठूलो र मतदाताको दृष्टिले दोस्रो ठूलो हो, काठमाडौंको वडा नं १६ । जनगणना २०७८ अनुसार कीर्तिपुर नगरपालिकाको जनसंख्या करिव ८१ हजार छ भने काठमाडौं महानगरपालिका–१६ को जनसंख्या करिव ८५ हजार रहेको छ । यसैगरी कीर्तिपुर नगरपालिकाको मतदाता संख्या करिव ३१ हजार रहेको छ भने काठमाडौँ महानगरपालिका–१६ को मतदाता संख्या करिव २१ हजार रहेको छ ।
अहिले उपनिर्वाचन हुन गइरहेको काठमाडौँ महानगरपालिका–१६ को जनसंख्या देशका अधिकांश नगरपालिकाहरूको भन्दा निकै ठूलो छ । अर्थात काठमाडौं–१६ मा जति जनसंख्या भएका नगरपालिकाहरू उपत्यकाबाहेक देशको पहाडी क्षेत्रमा छँदै छैनन्, तराई क्षेत्रमा पनि अत्यन्त कम छन् । यतिसम्मकी नेपालकै सबैभन्दा पुरानो नगरपालिका मानिने भक्तपुरभन्दा काठमाडौँ महानगरपालिका–१६ जनसंख्याको आधारमा मात्रै होइन क्षेत्रफलको आधारमा पनि ठूलो छ ।
यति मात्रै होइन काठमाडौँ महानगरपालिका–१६ को जति जनसंख्या नभएका जिल्लाहरू नेपालमा उल्लेख्य छन् । अर्थात रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लाको जनसंख्याभन्दा काठमाडौँ महानगरपालिका–१६ को जनसंख्या ठूलो छ । त्यसैले काठमाडौँ महानगरपालिका–१६ मा हुन गइरहेको उपनिर्वाचन मिनीजनमत संग्रह हो भन्न सकिन्छ ।
काठमाडौँ सहरको परम्परागत ‘कोर एरिया’ पकनाजोल, धोवीचौर, कालधारा, सोह्रखुट्टे क्षेत्रहरू यसै वडाअन्तर्गत पर्छन्, यसैगरी नवोदित सहरी क्षेत्रहरू खुशीभुँ, म्हैपी, चःमती, बालाजु, नयाँबसपार्क पश्चिम, बनस्थली, ढुंगेधारा, बोहोराटार, टौडोल लगायतको क्षेत्र पनि यसै वडामा पर्छन् । दक्षिणमा कालधारादेखि उत्तरतर्फ तरुण माविसम्म साढे २ किलोमिटर र पूर्वमा म्हैपीदेखि पश्चिममा सेनाको बारुद कारखानासम्मको साढे १ किलोमिटर क्षेत्रसम्म वडा–१६ फैलिएको छ ।
कसले मार्ला बाजी ?
देशकै विषम मानिने काठमाडौँ–१६ मा कसले मार्ला बाजी ? भन्ने विषयमा देशभरको जिज्ञासा छ । किनकी यो परिणामले २०८४ मा हुने स्थानीय निर्वाचन तथा आमनिर्वाचनको पूर्व संकेत अवश्य पनि दिन्छ । तर कसले मार्ला बाजी ? भन्ने प्रश्नको सहज अनुुमान गर्न सकिने अवस्था छैन । विगतको निर्वाचन परिणामले यही देखाएको छ । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा यस वडामा फराकिलो मत अन्तरले नेकपा एमालेको उम्मेदवार रामबीर मानन्धरले चुनाव जितेका थिए । त्यतिबेला उनको निकटतम प्रतिस्पर्धा नेपाली कांग्रेससँग भएको थियो ।
यसैगरी २०७४ र २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका मुकन्द रिजालले बाजी मारे । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका रिजालले करिव १०० मतको अन्तरमा एमालेका विश्वराम सापकोटालाई पराजित गरेका थिए । रिजालले ४ हजार २७९ मत प्राप्त गर्दा सापकोटाले ४ हाजर १७२ मत प्राप्त गरेका थिए ।
२०७९ सालको निर्वाचनमा रिजालले ४ हजार १९ मत ल्याएर चुनाव जिते भने एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत प्राप्त गरे । २०७९ सालको निर्वाचनमा नेकपा एमालेको मत घट्नुको मुख्य कारण पार्टी विभाजन थियो । किनकी एमालेबाटै विभाजित भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार लक्ष्मण गमालले १ हजार ५५९ मत प्राप्त गरेका थिए । गमाललाई नेकपा माओवादीको पनि साथ थियो । नेपाली कांग्रेसको भोट घट्नुको कारण स्थानीय असन्तुष्टि थियो ।
नेपाली कांग्रेस भित्रको असन्तुष्टिका बाबजुद रिजालले चुनाव जित्नुका फ्याक्टर २ वटा थिए । पहिलो फ्याक्टर एमालेकै असन्तुष्ट नेता रामवीर मानन्धरको गोप्य साथ सहयोग थियो । दोस्रो फ्याक्टर राप्रपा भित्रको असन्तुष्टि थियो । यो वडामा राप्रपाको करिव १ हजार मत रहेको छ । तर राप्रपाकी उम्मेद्वार विन्दिका गुरुङले ५५७ मत मात्रै प्राप्त गरेकी थिइन । बाँकी भोट कांग्रेसका रिजालले हात पारेका थिए ।
अघिल्ला २ वटा निर्वाचनमा वडाध्यक्षसहित सदस्य पदका सबै सिटमा र पछिल्ला २ वटा निर्वाचनमा वडा सदस्य पदका सबै सिटमा एमालेले जितेको छ । त्यसैले यो वडामा पार्टीगत रूपमा एमाले बलियो रहेको र व्यक्तिगत लोकप्रियताका कारण नेपाली कांग्रेसका रिजालले चुनाव जित्ने गरेको विश्लेषण धेरैको रहँदै आएको छ । त्यसैले रिजालको निधनपछि उनका छोरा तथा श्रीमतीमध्ये १ जनालाई कांग्रेसले उम्मेद्वार बनाउने अनुुमान गरिएको थियो । तर कांग्रेसले सहानुभूतिको भोट बटुल्ने बाटो रोजेन ।
मुख्य प्रतिस्पर्धा पुरानैबीच कि नयाँ ?
नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा लहर आउला वा नआउला त्यसको विश्लेषण गर्नुभन्दाअघि कांग्रेस र एमालेकै प्रतिप्रर्धाको संभावनाका सन्दर्भमा विश्लेषण गरौँ । पार्टी संगठनका हिसाबले यो वडामा नेकपा एमाले सबैभन्दा बलियो मानिन्छ भन्ने कुरा अहिलेसम्मका सबै निर्वाचनहरूले पुष्टि गरिसकेको छ । त्यसैगरी नेपाली कांग्रेसले पनि आफ्नो संगठनलाई सुदृढ गर्दै एमालेको हाराहारीमा पुर्याएको कुरा पनि अहिलेसम्मका सबै निर्वाचनको परिणामले पुष्टि गर्छ । एमाले विभाजित भएका कारण गत निर्वाचनमा वडाध्यक्ष पदमा नेपाली कांग्रेसले बाजी मारेको विश्लेषण गलत होइन ।
यदि नेकपा एकीकृत समाजवादीले गत स्थानीय निर्वाचनको जति नै भोट प्राप्त गर्न सक्यो भने नेपाली कांग्रेसका उम्मेदवारका लागि चुनाव जित्ने बाटो खुल्छ । नेकपा एकीकृत समाजवादीका उम्मेद्वारको भोट जति घट्छ, एमालेका उम्मेद््वारको भोट त्यति नै बढ्दै जान्छ । अर्थात नेकपा एकीकृत समाजवादीको भोट घटबढले नै उपनिर्वाचनमा कांग्रेस या एमालेमध्ये कसले बाजी मार्छन् ? भन्ने आँकलन गर्नुपर्ने हुन्छ ।
नेकपा एमालेले अघि सारेका लक्ष्मीरत्न तुलाधर यसअघिका पराजित उम्मेद्वार हुन् । उनलाई नेपाली कांग्रेसका रिजालले करिव ७०० मत अन्तरले पराजित गरेका थिए । यसैगरी नेपाली कांग्रेसले अघि सारेका देवेन्द्र पाठक पनि गत निर्वाचनका वडा सदस्य पदमा पराजित भएका थिए । करिव १०० मतको अन्तरमा उनी एमालेका उम्मेद्वारबाट पराजित भएका हुन् । त्यसैले कांग्रेस र एमालेले उम्मेद्वारको व्यक्तिगत लोकप्रियताका कारण भन्दा पनि पार्टी संगठनकै आधारमा भोट प्राप्त गर्ने अवस्था छ । एकीकृत समाजवादीले नयाँ उम्मेद्वार मीनबहादुर मानन्धरलाई अघि सारेको छ । गत निर्वाचनमा जस्तै यसपटक पनि एकीकृत समाजवादीलाई माओवादीको साथ सहयोग छ ।
रास्वपाका उम्मेद्वारतर्फ धेरैको चासो
वडा–१६ भनेको नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसमेत रहेको ठाउँ हो । गत आमनिर्वाचनमा काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ७ वाट रास्वपाका उम्मेद्वार गणेश पराजुलीले चुनाव जितेका थिए । काठमाडौं क्षेत्र नं ७ मा करिव ६२ हजार मतदाता छन् । त्यसमध्ये एकतिहाइभन्दा बढी मतदाता महानगरपालिकाको वडा–१६ मा मात्रै छन् । संसदीय निर्वाचनमा भोट गन्दा वडाहरूको छुट्टाछुट्टै गनिएको थिएन, त्यसैले वडा–१६ बाट रास्वपाले त्यतिबेला कति मत प्राप्त गर्यो भनेर एकीन गर्न सकिने अवस्था छैन । अनुमान मात्रै गर्ने हो ।
धेरैले गरेको अनुमान अनुसार गत स्थानीय निर्वाचनमा वडा–१६ वाट स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले जति मत प्राप्त गरेका थिए, संसदीय निर्वाचनमा वडा–१६ वाट रास्वपाका गणेश पराजुलीले त्यति नै मत प्राप्त गरेका थिए । त्यसैले गत संसदीय निर्वाचनमा रास्वपाका गणेश पराजुलीले प्राप्त गरेको मत जोगाउन सक्यो भने यसपटक वडाध्यक्षको निर्वाचनमा रास्वपाकी रोजिना श्रेष्ठले बाजी मार्ने विश्लेषण धेरैको छ ।
गत स्थानीय निर्वाचनमा वडा–१६ बाट स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले करिब ४ हजार मत प्राप्त गरेका थिए । यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले २ हजार ५०० र एमालेका केशव स्थापितले करिब १ हजार ८०० मत प्राप्त गरेका थिए । त्यतिबेला नेपाली कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीको पनि साथ सहयोग थियो ।
कति भोट चाहिएला चुनाव जित्न ?
मतदाता २१ हजार रहे पनि भोट खस्ने भनेको ११ देखि १२ हजारको हाराहारीमा हो । सानो मतपत्र र एउटा चिन्हमा मात्रै मतदान गर्नु पर्ने भएकोले भोट बदर खासै हुने अवस्था छैन । गत निर्वाचनमा ९ जना मात्रै उम्मेद्वार रहेकोमा यसपटक १९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यसपटक ३ हजार भोट कटाउने उम्मेद्वारले चुनाव जित्ने संभावना छ ।
गत स्थानीय निर्वाचन र गत आम निर्वाचनको मत परिणाम विश्लेषण गर्दा नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिवद्ध भोट भनेको २–२ हजारको हाराहारीमा देखिन्छ । यसैगरी एकीकृत समाजवादी, माओवादी र राप्रपाको गरी करिब २ हजार प्रतिवद्ध भोट छन् । यसरी पुराना पार्टीहरूले जतिसुकै घुनपत्लो लाग्दा पनि कुल ६ हजार भोट लिन्छन् । त्यसैले नवोदित पार्टी रास्वपा खेल्न सक्ने भनेको बाँकी ६ हजार भोटमा हो । यो ६ हजार भोटमध्ये ११ जना स्वतन्त्र उम्मेद्वारले के कति भोट प्राप्त गर्छन् ? त्यसैका आधारमा रास्वपाको भविष्य निर्धारण हुन्छ । यो ६ हजार तरल भोट मध्ये कम्तिमा आधा आफ्नो पक्षमा पार्न रास्वपाले सक्ला कि नसक्ला ? उसले अघि सारेको मिसन २०८४ को भविष्य यसैमा निहित छ ।
चुनावको ओपन सेक्रेट फ्याक्टर
काठमाडौं महानगरपालिकाको वडा–१६ मा ३ वटा फ्याक्टर छन् । पहिलो फ्याक्टर हो, काठमाडौँ नगरपालिकाको पुरानो क्षेत्र । त्यतिबेला निर्दलीय प्रणालीमा चुनाव हुन्थ्यो । स्थानीय नेवार भर्सेस पकनाजोलका भट्टराई र पाण्डेबीच प्रतिस्पर्धा हुन्थ्यो । स्थानीय नेवारले चुनाव जित्थे । पछि बालाजु गाउँ पचायतलाई वडा–१६ मा गाभिएसँगै नेवार समुदायको वर्चस्व खस्कियो, भट्टराई तथा पाण्डेहरूले चुनाव जित्न थाले ।
पञ्चायती व्यवस्थाको समाप्तीसँगै नेवार र गैर नेवारबीचको सिधा प्रतिस्पर्धा सकिएर दलीय प्रतिस्पर्धा हुन थाल्यो । तर, त्यसको अवशेष भने जीवितै रह्यो । त्यही अवशेषका कारण रामवीर मानन्धरले २०४९ र २०५४ मा २ पटकसम्म भारी मत अन्तरले चुनाव जिते । २०७४ मा भने गैरनेवारको मत संख्या बढी भएको विश्लेषणका साथ नेकपा एमालेले गैर नेवार विश्वराम सापकोटालाई अघि सार्यो । तर कांग्रेसका मुकुन्द रिजालले चुनाव जिते । किनकी एमालेको नेवार समुदाय रुष्ट रह्यो ।
यो वडामा नेवार समुदायभित्र कम्युनिस्ट पार्टीहरू निकै बलिया छन् । यो वडामा नेकपा एमालेको जग भनेकै नेवार समुदाय हो । गैरनेवार समुदायभित्र नेपाली कांग्रेस बलियो छ । बालाजु गाउँ पञ्चायत गाभिनुअघि वडा–१६ मा करिव ८० प्रतिशत नेवार र २० प्रतिशत गैरनेवार मतदाता थिए । बालाजु पञ्चायत गाभिएपछि ६० प्रतिशत नेवार मतदाता र ४० प्रतिशत गैरनेवार मतदाता हुन पुगे । तर, पछिल्ला दशकहरूमा बाहिरका मान्छे बढ्दै जाँदा नेवार मतदाताको हिस्सा घटेर करिब ३५ प्रतिशतमा झरेको छ । गैरनेवार मतदाताको हिस्सा बढेर करिब ६५ प्रतिशत पुगेको छ । गत स्थानीय निर्वाचनमा यो वडाबाट बालेनले प्राप्त गरेको अधिकांश मत गैरनेवार मतदाताको हो ।
वडा–१६ मा नेवारभित्र पनि मानन्धरको जनसंख्या आधाभन्दा बढी छ । यस हिसाबले नेकपा एकीकृत समाजवादी र माओवादीका साझा उम्मेदवार मीनबहादुर मानन्धरलाई पनि प्रतिस्पर्धी मानिएको छ । नेकपा एमालेले मात्रै होइन नवोदीत राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नेवार समुदायबाटै उम्मेद्वार अघि सारेको छ । रास्वपाकी उम्मेद्वार श्रेष्ठको घर दोलखा भए पनि माइती यही क्षेत्रमा हो । हार्डवेयर व्यवसायमा संलग्न उनी आर्थिक रूपले पनि ज्यादै सम्पन्न मानिन्छन् ।
मुख्य प्रतिस्पर्धी एमाले, रास्वपा, एकीकृत समाजवादीले नेवार समुदायबाटै उम्मेद्वार अघि सारेको अवस्थाको लाभ नेपाली कांग्रेसले लिने संभावनालाई नजरअन्दाज गर्न मिल्दैन । किनकी गत निर्वाचनमा कांग्रेसका मुकुन्द रिजालले यो लाभ प्राप्त गरेका थिए ।
प्रतिक्रिया