ग्रेट अमेरिका र डोनाल्ड ट्रम्प

विश्व राजनीतिमा यस्ता दृश्यहरू देख्न पाइन्छन्, जुन सामान्य नागरिकको नजरमा अपराधिक देखिन्छन् । तर, राजनीतिमा अनुमोदन भएर आएपछि स्वीकार्न बाध्य हुनुको विकल्प हुँदैन । सन् २०२४ को मे महिनामा म्यानहटनको एक अदालतले ट्रम्पलाई ३४ वटा मुद्दामा दोषी ठहर गरेको थियो । त्यसमा पोर्नस्टार स्टोर्मी डेनियललाई अनधिकृत रूपमा रकम दिएको मुद्दा थिए । तर, ती मुद्दामा चुनावपछि मात्र सजाय सुनाउने निर्णय भयो ।

धनराज वास्तविक

विश्व राजनीतिमा ‘नारा’ को प्रभाव निक्कै बेजोडले पर्ने गरेको पाइन्छ । पार्टी सञ्चालन गर्नका निम्ति होस् या कुनै पनि आन्दोलनलाई मुखरित र सम्पन्न गर्नका लागि नारा आवश्यक पर्छ । नारा अर्थपूर्ण र सबैले सहजै सम्झिन सक्ने खालको हुनुपर्छ । यसअघिका केही लेखमा राजनीतिक ‘नारा’ का सन्दर्भमा लेख्ने क्रममा ‘नारा बिर्सेका कम्युनिस्ट’ शीर्षकमा यथेष्ट आधार प्रस्तुत गरिएको थियो ।

यस स्तम्भमा खासरी हालै सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनाव र चुनावपछि उठेका सवाल उपर संक्षिप्त चर्चा गरिनेछ । नोभेम्बर ५ (कात्तिक २१) गते अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भयो । अमेरिकाको ४७औँ राष्ट्रपतिमा रिपब्लिक पार्टीका ७८ वर्षीय डोनाल्ड ट्रम्प विजयी बनेका छन् । उनी लोकतान्त्रिक पार्टीकी नेता कमला ह्यारिसलाई पराजित गर्दै विश्व महाशक्ति राष्ट्र अमेरिकाको सुुपर पावर कुर्सीमा दोस्रोपटक विराजमान भएका छन् । अघिल्लोपटक ट्रम्प जो वाइडेनसँग पराजित भएका थिए । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल भोट आवश्यक पर्नेमा ट्रम्पले २९४ मत पाए । त्यस्तै कमलाले २२३ मत पाइन् । राजनीतिमा ट्रम्पको पुनरागमन रिपब्लिकनका लागि एक ठूलो उपलब्धि मानिएको छ । किनकी रिपब्लिकनले राष्ट्रपतिको चुनाव मात्र जितेन, तल्लो र माथिल्लो दुवै सदनमा बहुमत हासिल गरेको छ । यसबाट ट्रम्पलाई आफ्ना योजना तथा कार्यक्रम कार्यान्वयन गर्न र आफूविरूद्धका कानुनी बाधालाई सदाका लागि अन्त्य गर्ने बाटो खुलेको टिप्पणी हुने थालेका छन् ।

ग्रेट अमेरिका

अमरिकी राष्ट्रपतिको निर्वाचन सकिएको छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हाल्ने क्रममा छन् । तर, उनको यो कार्यकाल पनि आलोचना, विवाद र अपराधको घेराभन्दा पर जान्छ भन्नेमा धेरैको शंका छ । ‘ग्रेट अमेरिका’ नारा लिएर चुनावी मैदानमा ओर्लेका ट्रम्पले आखिरी समयमा आएर अमेरिकी जनताको मत आफ्नो पक्षमा पार्न सफल भए । ट्रम्प जस्तो विवादित र विभिन्न अपराधमा मुछिएको व्यक्तिलाई नै अमेरिकाले किन रोज्ने ? भन्ने सवाललाई ‘ग्रेट अमेरिका’ नाराले पाखा लगाइदियो । याद रहोस्, उनको पहिलो कार्यकालको बेला मेक्सिकोमा वाल लगाउने जस्ता राष्ट्रवादी नारा अघि सारेका थिए ।

साथै ट्रम्प सुरूदेखि नै आप्रवासीविरूद्ध भएकाले यस कार्यकालमा उनी अझैँ कडा रूपमा प्रस्तुत हुनसक्ने अनुमान छ । ‘ग्रेट अमेरिका’ नारासहित चुनाव जितेका उनी विदेशबाट आयात हुने सामग्रीमा ट्याक्स बढाउने र अमेरिकी नागरिकको रोजगारीको सुरक्षामा पनि थप अघि बढ्नेछन् । रिपब्लिकन पार्टीमा उनी अझ शक्तिशाली बनेकाले आफ्ना एजेन्डा प्रभावकारी ढंगले लागू गर्न सक्छन् । यस अर्थमा उनले अघि सारेको ‘ग्रेट अमेरिका’ नाराले सार्थकता पाउने सहज अनुमान गर्न सकिन्छ । आलोचकहरूले भनेको जस्तो ट्रम्पको कार्यकाल बेलगाम हुन्छ या सफल हुन्छ ? यस सवालको जवाफ आजै खोज्नु हतार हुन्छ ।

विवाद र अपराधमा ट्रम्प

विश्व राजनीतिमा यस्ता दृश्यहरू देख्न पाइन्छन्, जुन सामान्य नागरिकको नजरमा अपराधिक देखिन्छन् । तर, राजनीतिमा अनुमोदन भएर आएपछि स्वीकार्न बाध्य हुनुको विकल्प हुँदैन । सन् २०२४ को मे महिनामा म्यानहटनको एक अदालतले ट्रम्पलाई ३४ वटा मुद्दामा दोषी ठहर गरेको थियो । त्यसमा पोर्नस्टार स्टोर्मी डेनियललाई अनधिकृत रूपमा रकम दिएको मुद्दा थिए । तर, ती मुद्दामा चुनावपछि मात्र सजाय सुनाउने निर्णय भयो । सरकारी दस्ताबेज लुकाएको सम्बन्धी आरोप त सर्वोच्च अदालतबाट खारेज भयो ।

सुरूमा राष्ट्रपति निर्वाचनमा रिपब्लिकबाट ट्रम्प र डेमोक्रेटिकबाट जो बाइडन उम्मेद्वार बन्ने कुरा चल्यो । तर, जुन महिनामा ट्रम्पसँग भएको चुनावी बहसको क्रममा बाइडनको प्रस्तुती फितलो र कमजोर देखियो । त्यसबाट डेमोक्रेटिक पार्टीमा चुनावको नतिजा आफ्नो पक्षमा आउँदैन कि भन्ने डर र आशंका फैलियो । ट्रम्पको रेटिङलगातार बढिरहेको र बाइडेनको घटिरहेको देखियो । अन्ततः बाइडेन चुनावी मैदानबाट पछि हटे । डेमोक्रेटिक पार्टीले कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेद्वार बनायो ।

उक्त निर्णयले डेमोक्रेटिक पार्टीका समर्थकमा उत्साहको रेखा केही हदसम्म बढायो । सेप्टेम्बर महिनामा कमला ह्यारिससँगको चुनावी बहसमा ट्रम्प फितलो देखिए पनि । तर, चुनावी अभियानको क्रममा पेन्सेल्भेनियाको चुनावी र्यालीमा ट्रम्पमाथि एक व्यक्तिले गोली चलाए, त्यसपछि माहोल बदलिँदै गयो । गोली उनको कानमा लाग्यो । उक्त घटनाले रिपब्लिकन पार्टीलाई एकजुट भएर जाने वातावरण र्सिजना गर्यो । आन्तरिक पार्टी पंक्ति ट्रम्पको जितका निम्ति डटेर लाग्यो । अर्कातर्फ ट्रम्पको चर्चा विश्वका मिडियाहरूमा हुन थाल्यो । विश्वका मिडियालाई उनको बारेमा तमाम लेख, समाचार र विश्लेषणहरू प्रकाशित गरे ।

मिडियाको चर्चा र चासोसँगै थपिए एलन मस्क । टेस्लाका प्रमुख एवं विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले जब सार्वजनिक रूपमा ट्रम्पलाई समर्थन गरे, त्यसपछि ट्रम्पको पक्षमा थप बलियो वातावरण बन्यो । मस्कले ट्रम्पको समर्थनमा बोल्ने मात्र गरेनन्, उनले फन्ड जुटाउनका निम्ति व्यापक अभियान चलाए । मस्कको सक्रियतापछि उठेको उभारले नै बताएको थियो कि अमेरिकाको ४७औँ राष्ट्रपतिमा पुनः ट्रम्प पुग्नेछन् । अन्ततः भयो पनि त्यहि ।

महिलालाई किन अस्वीकार ?

कुरा सन् १८७२ को हो । जुनवर्ष भिक्टोरिया वुडहुल अमेरिकी राष्ट्रपतिका लागि उम्मेद्वारी दिने पहिलो महिला बनिन् । इक्वायल राइट्स पार्टीको प्रतिनिधित्व गरेकी भिक्टोरियाले अमेरिकी राष्ट्रपतिमा उम्मेद्वारी दिएको समयमा महिलाहरूलाई मतदानको अधिकार दिइएकै थिएन । त्यसको ४८ वर्षपछि मात्र सन् १९२० मा आएर अमेरिकामा महिलालाई मताधिकार दिइएको थियो ।

त्यसपछिका केही चुुनवामा महिलाहरू स–साना पार्टीबाट राष्ट्रपतिको उम्मेद्वार त बने तर, उनीहरूलाई अमेरिकी जनताले अस्वीकार गर्दै आए । ट्रम्पले पहिलो कार्यकालमा पनि महिला उम्मेद्वार हिलारीलाई पराजित गरेका थिए । हिलारी हरेक रूपमा योग्य र लोकप्रिय महिला नेता हुँदाहुँदै पनि उनी पराजित हुनुपरेको थियो । अहिले आएर कमला ह्यारिसले चुनाव जित्ने आँकलन गरिएका थिए । तर, पछि बिस्तारै ती आँकलनहरू फेल हुँदै गए । ग्रेट अमेरिकाको नाराभित्र आप्रवासीप्रतिको ट्रम्प धारणा जिम्मेवार थियो । राष्ट्रभित्रको मात्रै नभएर ट्रम्पले विश्वकै प्रश्न उठाएका थिए । विभिन्न देशहरूबीच अहिले जारी युद्धलाईसमेत आफ्नो चुनावी एजेन्डा बनाएका थिए ।

मूलतः महिलालाई हेर्ने विश्व दृष्टिकोणमै समस्या छ । पितृसत्ताले महिलालाई हेर्ने नजरिया यति पूर्वाग्रही छ, कि यसको शब्दमा ब्याख्या गर्न कठिन छ । मन, मष्तिष्क र नशा–नशामा पितृसत्ता छ । यस्तो समाजमा पुरूषहरूले आफूलाई सर्वोच्च, शक्तिशाली, पहिलो दर्जाका नागरिक तथा कठोर शासक ठान्छन् । उता महिलालाई कमशल, शक्तिहीन तथा निरीह, दोस्रो दजाको नागरिक र शासित वर्गका रूपमा लिन्छन् । अमेरिकी जनता पनि यस प्रकारको रूढ सोच र चेनताबाट माथि उठ्न सकेको देखिएन । यति लामो अमेरिकी इतिहासमा महिला राष्ट्रपति उम्मेद्वार नगन्य मात्र बन्नु र निर्वाचित हुन नसक्नुले यही दाबीलाई थप बल पुर्याउँछ । हिलारी र कमलाले चुनाव हार्नुका अरू धेरै सहायक कारण छन् र होलान् । तर, मुुख्य कारण भनेको महिला हुनुु नै हो ।

प्रतिक्रिया