क्रिकेटमा वेस्टइण्डिजले नेपाललाई दियो २२८ रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसीबाट टेस्ट राष्ट्र मान्यता पाएको वेस्टइण्डिज ‘ए’ ले टी– २० क्रिकेटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज वेस्टइण्डिज ‘ए’ ले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको हो ।

वेस्टइण्डिजका लागि जोनसन चार्ल्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनमा नट आउट रहे । उनले ५५ बलमा शतक बनाए । ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए । त्यो समय वेष्ट इण्डिज ३.१ ओभरमा २७–१ को अवस्थामा थियो ।

त्यसपछि दोस्रो विकेटका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले १४५ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । आन्द्रे फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

स्पिनर सागर ढकालको बलमा टीयु एण्डको लङअनमा ठूलो सट खेल्ने धुनमा दीपेन्द्रबाट बाउन्ड्री नजिकै क्याच आउट हुन पुगे । फबिएन एलेन ९ बलमा २ चौका र १ छक्कासहित १९ रनमा आउट भए । किमो पल १३रनमा नट आउट रहे ।

स्पिनर सागर ढकालले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए । कमलसिंह ऐरीले ४ ओभरमा ५३ रन खर्चेका थिए ।

पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्टइण्डिजले १० रनले जितेको थियो । आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दै छन् ।

प्रतिक्रिया