बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले महिला विकास समितिले राम्रो काम गरेको बताएका छन् । सोमबार सदरमुकाम चैनपुरमा महिला विकास समितिको आयोजनामा तीन महिने सिलाइकटाई तालिमको समापन समारोहमा बोल्दै नगरप्रमुख बजालले महिला विकास समितिको राम्रो काम भन्दै प्रशंसा गरेका हुन् ।
नगरप्रमुख बजालले आजका दिनमा बाहुन, ठकुरी र क्षेत्रीलगायत सबैले कपडा सिलायर राम्रो आम्दानी गर्ने भएको र यसमा गरौव गर्नुपर्ने तथा सबैको सिपको सम्मान गर्नुपर्ने बताए । साथै उनले मानिसहरुलाई माछा मार्न दिनुभन्दा माछा मार्न सिकाउनु उत्तम मानिने भन्दै तालिममा सिकेका कुराहरु व्यवहारमा पनि उतारेर आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।
मेयर बजालले आफ्नो टिम नगरपालिकामा निर्वाचित भयर आएपछि नगरपालिकाभित्र रहेका दलित महिलाहरुको विकासका लागि भनेर नै महिला विकास समिति बनाएको भन्दै सो सििमतले गरेका पछिल्ला कार्यक्रमहरु प्रभावकारी भएकाले आगामी दिनहरुमा पनि थप सीप विकासका लागि अझै यस्ता कार्यक्रमहरु ल्याउने बताए ।
त्यसैगरी जयपृथ्वी नगरपालिका महिला विकास समितिकी अध्यक्ष रमा जोशीले महिला विकास समिति गठन भएपछि नगरपालिकाभित्र पछाडि परेका महिलाहरुका लागि तीन महिने सिलाइकटाई तालिमको आयोजना गरेको र यस तालिमबाट सिकेका कुराहरु व्यवहारमा उतारेर राम्रो आयआर्जन गर्ने सके मात्र महिला विकास समितिको उदेश्य पूरा र सार्थक हुने भन्दै पछाडि परेका महिलाहरुका विकास हुन सक्ने बताइन् ।
अध्यक्ष जोशीले आफूले महिलाहरुलाई सीप मात्रै दिएको नभई सिलाइकटाइमा प्रयोग हुने सम्पूर्ण सामानहरु पनि दिएको बताइन् । उनले आफ्नै गाँउघरमै बसेर काममा मेहनत र लगनशीलता देखाए घर खर्च चलाउन सहज हुने भन्दै आफू सदैव लागिपर्ने बताइन् । उक्त तीन महिने सिलाइकटाई तालिममा ११ जना महिलाहरुको सहभागिता रहेको थियो ।
बझाङ
प्रतिक्रिया