पक्राउ परेका एन्फा उपाध्यक्ष दावा लामा रिहा

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेका लामा बिहीबार रिहा भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेको प्रवक्ता रेग्मीको भनाई छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया