आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने : अर्थतन्त्रका सूचकांक सकारात्मक

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए । यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए । सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । उपभोक्ता मूल्यमा ३ दशमलव ८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३ दशमलव ५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ । कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक मार्फत उक्त तथ्यांक ल्याएको हो । अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १ दशमलव ९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आवमा केही सुधार भएको हो । लक्ष्यको तुलनामा भने न्युन हो ।

आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको कार्यालयको अनुमान छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३ दशमलव ०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १ दशमलव २ प्रतिशत र सेवा क्षेत्रको ४ दशमलव ५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।

निर्माण र उद्योग क्षेत्रमा संकुचन

चालु आर्थिक वर्षमा नेपालको निमार्ण र उद्योग क्षेत्रमा संकुचन देखिएको छ । तथ्यांक कार्यालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार उत्पादनमा संकुचन तथा निमार्ण क्षेत्रमा देखिएको मन्दीले उद्योग र निमार्णमा संकुचन देखिएको हो । निमार्ण क्षेत्रमा २ दशमलव ०७ प्रतिशतले संकुचन आउँदा उद्योगमा १ दशमलव ६० प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । घरजग्गा कारोबारमा मन्दीका बाबजुत पनि २ दशमलव ९८ प्रतिशतको वृद्धिदर हुने अनुमान कार्यालयले गरेको हो । औद्योगिक वर्गीकरण अनुसार कुल मूल्य अभिवृद्धि वृद्धिदर भने सबैभन्दा राम्रो आवास तथा भोजन सेवामा रहेको कार्यालयले जनाएको छ ।

पर्यटक आवागमनभा भएको सुधारले उक्त क्षेत्रको वृद्धिदर राम्रो देखिएको जनाएको छ । यस्तै जलविद्युत उत्पादन बढ्दा विद्युत्, ग्याँस क्षेत्रको वृद्धिदर १७ दशमलव ४४ प्रतिशत रहेको छ । त्यस्तै यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ११ दशमलव ८९ प्रतिशत रहेको छ । वित्तीय तथा बीमा सेवाको वृद्धिदर ७ दशमलव ८६ प्रतिशत रहेको कार्यायलले जनाएको छ । अर्थतन्त्रमा करिब एक चौथाइ योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ०५ प्रतिशत र दोस्रो ठूलो हिस्सा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धिदर ० दशमलव १६ प्रतिशतमा सीमित भएको कार्यालयले जनाएको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव ०९ प्रतिशत रहेको कार्यालयल जनाएको छ । कृषिपछि होलसेल तथा खुद्रा व्यापारको योगदान १३ दशमलव ८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

प्रतिव्यक्ति आय बढ्यो

नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

प्रतिक्रिया