गर्मीले अस्तव्यस्त तराई, हरिवनका विद्यालय बन्द

लालबन्दी । सर्लाहीसहित तराईका जिल्लामा बढेको गर्मीका कारण जनजीवन अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि चर्किने घाम र तातो हावाका कारण बाहिर निस्किनै नसकिने अवस्था सिर्जना भएको हो ।

बालबालिका र वृद्धवृद्धा गर्मीका कारण आजित बनेका छन् । दैनिक ज्याला मजदुरी गर्नेलाई झनै समस्या पर्न थालेको छ । विशेष गरी निर्माण क्षेत्रमा काम गर्नेहरू पीडित बनेका छन् । तराईमा गहुँ खेतीको काम र मकै थन्क्याउने बेला भएका कारण पनि गर्मीको विशेष प्रभाव परेको छ । गर्मीका कारण चोक, चौतारा र हाट बजारमा भिडभाड कम भएको छ ।

यता, गर्मी बढेर पठनपाठन गराउन र विद्यार्थीलाई आउनजानै समस्या भएपछि हरिवन नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै १९ गते (आज)देखि २२ गते शनिबारसम्म ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
सूचनामा हाल सञ्चालन भइरहेका परीक्षाहरू यथावत् रहने गरी सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिबारसम्म बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । अत्यधिक गर्मीसँगै चल्ने तातो हावाले आगलागीको समस्या समेत विकराल बनिरहेको छ । हावाकै कारण बस्तीमा आगो लागेपछि नियन्त्रणमा लिन सकस भइरहेको उद्धारमा खटिएकाहरूले बताउने गरेका छन् । जसका कारण आगलागीबाट बस्ती नै सखाप हुने खतरा हुने गरेको छ ।

जिल्लाको दक्षिण पश्चिम धनकौल गाउँपालिका–२ मा आगलागीबाट ७ घर जलेर नष्ट भएका छन् । स्थानीय सुरेश मण्डलको घरमा मंगलबार मध्याह्न विद्युत् सर्ट भइ सुरु भएको आगलागीले उनीसहित गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामप्रीत मण्डल र शिवजी मण्डलको घर जलेर नष्ट भएको बरहथवाका डिएसपी गौतम थापाले जानकारी दिए ।
तीव्र गतिमा हावा चलेका बेला भएको आगलागीले फुसको छानो भएका घर एकैछिनमा जलेर खरानी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यो समयमा विद्युत समेत पटक–पटक अवरुद्ध हुँदा थप समस्या भइरहेको स्थानीयको दुखेसो छ । कतै आगलागी भएका बेला मोटरबाट पानी तानेर आगो निभाउन समेत नसकिएको उनीहरू बताउँछन् ।

पछिल्ला केही दिनयता जिल्लामा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । जिल्लाका उत्तरी भेगमा वनजंगलबाट आगो सल्किएर घर, गोठ र पशु चौपाया जलिरहेका छन् भने दक्षिणी भेगमा विभिन्न कारणबाट आगलागीका घटना भइरहेका छन् । जसका कारण सिंगो बस्तीसमेत जलेर खरानी भएका छन् । तर, जिल्लामा आगलागीका बेला अत्यावश्यक दमकल भने एउटा मात्रै छ । हरिवन नगरपालिकासँग भएको एउटै दमकल अहिले जिल्लाभर दौडिरहेको छ । अर्को सदरमुकाम मलंगवा नगरपालिकाको दमकल बिग्रिएर मर्मतका लागि हेटौँडा पठाइएको नगरपालिकाले जनाएको छ ।

करोडौँ खर्च गरेर विलासी वस्तु खरिद गर्ने र संरचना निर्माण गर्ने पालिकाले अत्यावश्यक पर्ने दमकल खरिदमा भने बेवास्ता गर्दै आइरहेका छन् । लालबन्दी–५ का समीर बराइलीले २० वटा स्थानीय तह रहेको जिल्लामा एउटा मात्रै पालिकासँग दमकल हुनु दुःखद् भएको प्रतिक्रिया दिए । दमकल खरिद गर्नेतर्फ जनप्रतिनिधिले चासो नदिँदा आगलागीबाट जनधनको धेरै क्षति भइरहेको उनको भनाइ छ ।

सप्तरीमा डेढ सयभन्दा बढी घर जले

यसैबीच, सप्तरीको महादेवा गाउँपालिकामा भएको भीषण आगलागीमा परी डेढ सयभन्दा बढी घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा–१ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेका बेला आगलागी हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष जयकिशोर दासका अनुसार स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको हो । उनले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको यो बस्तीका अनुमानित १५० भन्दा बढी घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष दासले बताए ।

प्रतिक्रिया