अध्यक्षले हतियार देखाएर किर्ते कागजमा हस्ताक्षर गराए : महन्त

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले हतियार देखाई डरत्रासका बिच मन्दिरको जग्ग्गा बलजफ्ती कागज बनाएर कब्जा गर्न खोजेको आरोप एक साधुले लगाएका छन् ।

जनकपुरधाम स्थित श्रीरामजानकी धनुषधारी मन्दिरको नगराइन नगरपालिका–५ गंगुली चौरीमा रहेको करिव साढे ८ विग्घा जग्गा गाउँपालिका अध्यक्ष यादवले तुल्सियाहीमा घेरेर मन्दिरका महन्थ अनिल दास वैष्णवलाई डरत्रास र धाकधम्की दिदै कागज बनाएर कब्जा गर्न खोजेको आरोप छ ।

मन्दिरका महन्थ अनिल दासले पत्रकार सम्मेलन आयोजना गरी आफू वैशाख १५ गते मटिहानी गइरहेको बेला तुल्सियाहीमा अध्यक्ष यादवसहित वडाध्यक्ष रामसागर महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रञ्जन खड्कासहितकाले बन्धक बनाएर कुटपिट गर्नुका साथै मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा भयो भन्दै हतियार देखाएर किर्ते सम्झौता पत्रमा सहीछाप गर्न लगाएको बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘आफूलाई अध्यक्ष जयकुमारले तुल्सियाहीस्थित दिनेश साहको निजी मन्दिरमा रामजानकी मन्दिरको भगवानको मूर्ति ल्याई पुजारी बनेर बस्न र रामजानकी मन्दिरको जग्गा तुल्सियाहीवासीको नाममा गरिदिन भनेपछि आफूले नमान्दा कुटपिट गरी गुण्डागर्दी शैलीमा हतियार देखाएर किर्ते सम्झौता पत्रमा हस्ताक्षर गराएका हुन्,’ उनले भने ।

पत्रकारको जिज्ञासामा महन्थ दासले भने, ‘आफूले घटना लगतै जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत जानकारी गराए । तर कुनै चासो लिइएन । न्यायका लागि अब जिल्ला प्रशासन कार्यालयमा लिखित रुपमै उजुरी दर्ता गराउनेछु ।’

गंगुलीस्थित सो जग्गामा मन्दिर बनाउने योजना तहत आफूले ४÷५ कट्ठामा पोखरी खनाएको बताउदै उनले यसै बिचमा गाउँपालिका अध्यक्ष यादवले गुण्डागर्दीशैलीमा जग्गा कब्जा गर्न खोजेको बताए ।

जनकपुरधामस्थित श्रीरामजानकी धनुषधारी भगवान मन्दिरको गंगुली चौरमा कि.नं. १५१ को ६ विग्घा ८ कट्ठा साढे १२ धुर र कि.नं. २२५ को १ विग्घा १३ कट्ठा २ धुर गरी दुई वटा टुक्रा रहेका ती जग्गामा गाउँपालिका अध्यक्ष यादवले मौखिक रुपमा मागेको र दिन नमान्दा कुटपिट गरी हतियार देखाएर किर्ते कागज बनाई कब्जा गर्न खोजेको महन्थ दासको आरोप छ ।

पत्रकार सम्मेलनमा उपलब्ध गराइएको सम्झौता पत्रमा ‘तुल्सियाही जब्दी ५ मा रहेको श्रीरामजानकी धनुषधारी मन्दिरको मूर्ति एक हप्ता भित्र ल्याएर तुल्सियाहीवासीलाई नै दिई सो मन्दिरको जग्गा र जग्गामा खनाएको पोखरी भरी पहिलाको अवस्थामा ल्याई तुल्सियाही जब्दीवासीलाई नै फिर्ता गरी दिनेछौं’ भनिएको छ ।

यतै ‘आजदेखि श्रीरामजानकी धनुषधारी मन्दिर र मन्दिर अन्तर्गत पर्ने जग्गामा मेरो कुनै प्रकारको हक हिस्सा दाबी गर्नेछैनौं । कहींकतै उजुरबाजुर गर्नेछैनौं, गरे भने यही सम्झौता आधारमा मेरो उजुरी बदर गरिदिनु होला भनी खुशीराजीसँग तपसिलका पदाधिकारीको रोहबरमा सम्झौतामा सही छाप गरेका छौं,’ भन्ने उल्लेख छ ।

सो सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष जयकुमार, वडाध्यक्ष रामसाग महतो, वडा सदस्य मुकेश ठाकुर र नगर प्रहरी रन्जन खड्कासहितको पदाधिकारीको रुपमा राखिएको छ ।
उता गाउँपालिका अध्यक्ष जयकुमार यादवले आफूले सम्झौता गराएको स्वीकार गरे । उनले भने, ‘आफूले सम्झौता गराएको हो, तर हतियार देखाएर होइन तुल्सीयाही जब्दीवासीको माग अनुसार तिनीहरुको उपस्थितिमा मन्दिरको मूर्ति फिर्ता दिई जग्गा तुल्सियाही जब्दीवासीलाई फिर्ता गर्नेभन्ने सम्झौता गराएको हो ।’

लालपुर्जामा तुल्सियाही जब्दी उल्लेख रहेको कारण त्यो जग्गामा यहाँका गाउँवासीको दाबी स्वभाविक रहेको उनले बताएका छन् । उनले आफू उपर महन्तले लगाएको आरोप नियोजित रहेको पनि बताए ।

यसैबीच महन्थ दासले जिल्ला प्रशासन कार्यालयमा गाउँपालिका अध्यक्ष यादव, वडाधयक्ष महतो, वडा सदस्य ठाकुर र नगर प्रहरी खड्का विरुद्ध जिउधनको सुरक्षा कायम गरी बलजफ्ती गराइएको कागज बदर गराई पाउँ भनी उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराए लगतै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बुझिएको छ ।

जग्गाका लालपूर्जा अनुसार जग्गाधनी मटिहानी गुठी संस्थान अन्तर्गत श्रीरामजानकी धनुषधारी भगवान मन्दिर रहेको छ । जग्गाधनीको बाजे तुल्सियाही मन्दिरका पुजारी र जग्गाधनीको बाजे÷ससुराको नाममा श्यामनारायण दास वैष्णव उल्लेख रहेको छ । कुनै समयमा तुल्सियाही जब्दीमा रहेको एक मन्दिर बाढीमा कटान भएको थियो । ती मन्दिरको पूजारी श्यामनारायण दास रहेको थियो । मन्दिर कटान भएपछि उनी जनकपुरधाम वडा नम्बर १ मा सोही नामको मन्दिर स्थापना गरी बसेको थियो । हाल ती मन्दिरका पूजारीका अनिल दास वैष्णव रहेका छन् ।

प्रतिक्रिया