नेपाल र साउदीबीचको खेल आठ ओभरको हुने, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र साउदी अरेबियाबीचको खेल आठ ओभरको हुने भएको छ ।

वर्षाले खेल मैदान भिजेको कारण ढिला गरी सुरु भएको खेल २० ओभरबाट १२ ओभर घटाई आठ ओभरमा झारिएको छ । भर्खरै सुरु भएको उक्त खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन सकेको थिएन । गएराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीनवटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने योजनामा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार व्यहोरेको छ ।

यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो । कतारसँग १५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया