समूह चरण अन्तिम खेलमा आज नेपाल र साउदीबीच प्रतिस्पर्धा

एसीसी प्रिमियर कप क्रिकेट

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरण ‘ए’ मा नेपालले आफ्नो अन्तिम खेल आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै छ । उक्त खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे ओमानको अल अमरेत क्रिकेट मैदान– २ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

कतार ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आज नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको सम्भावना बलियो छ । तर साउदीले नेपाललाई हराउन भने कठिन देखिएको छ ।

यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रनले र हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । आज नेपालले साउदीसँग समूह चरणको चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपालले टी– २० आईमा साउदी अरेबियासँग पहिलो पटक खेल्दैछ ।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह ‘बी’ मा ओमान ३ खेलमा अपराजित ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंकविहीन हुँदै पुछारमा छन् । आज ओमानले कुवेत र यूएईले कम्बोडियासँग खेल्दैछन् । ओमान र यूएई दुवै सहज रुपमा विजयी हुने सम्भावना छ । त्यसैले नेपाल र यूएई सेमिफाइनलमा भिड्ने समीकरण देखिएको हो ।

आज मलेसिया र हङकङबीच खेल हुँदैछ । ४ अंकका साथ सेमिफाइनल खेल्न दुवै टोलीले फराकिलो जित हात पार्नुपर्छ । सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी– २० एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया