प्रकाश दाहाल स्मृति भलिबलको तयारी तीव्र

काठमाडौं । प्रज्ञा प्रतिष्ठानको आयोजनामा २२ देखि २५ वैशाखसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक कमिटीकी संयोजक डोल्मामाया गोलेले जानकारी दिइन् ।


प्रतियोगितामा ११९ पालिकाका ४० भन्दा बढी टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । यस प्रतियोगिता नेपालमा भलिबलको खेलको विकासमा सहयोगी हुने अपेक्षा गरिएको छ । कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ तथा सेमिफाइनलिस्टलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक रहेको छ ।

प्रतियोगितामा नेपालको विभागीय टोलीबाट खेलिसकेका तथा राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीलाई सहभागी हुन दिइने छैन ।

प्रतिक्रिया