‘डिग्री माइला’को कमाइ दुई दिनमै तीन करोड बढी

काठमाडौं । नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’ले सुरुआती दुई दिनमा सुखद् व्यापार गरेको छ । वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार ३ करोड ३ लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ ।

फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सीका फिल्म चलिरहेको निर्माण पक्षको दाबी छ ।

निर्माता मणिराम पोखरेल भन्छन्, ‘तेस्रो दिन पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया सिनेमाले पाइरहेको छ । सो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’

रामबाबु गुरुङकै लेखन र निर्देशन रहेको यस फिल्ममा डिग्रीको अहम्ता देखाउने युवाको कथालाई रोचक ढंगले देखाइएको छ । फिल्ममा दयाहाङ राई र आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको मुख्य अभिनय छ ।

बाँसुरी फिल्म्सले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मम्ससँग मिलेर निर्माण गरेको यस फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने क्रिश लामा हुन् ।

प्रतिक्रिया