फतेहीको बिहे गर्ने चाहना

नयाँ दिल्ली । बलिउडकी डान्सिङ गर्ल नोरा फतेही यतिबेला बिहे गर्ने सुर कसिरहेकी छन् । विवाहका लागि आफूले इमानदार र सुन्दर जीवनसाथी खोजिरहेको नोराले हालै एक अन्तर्वार्तामा भनेकी हुन् ।

अन्तर्वार्ताका क्रममा उनले आफ्नो व्यक्तिगत जीवन अनि विवाहप्रतिको धारणाबारे खुलेर कुरा गरेकी थिइन् । आफ्नो जीवनसाथीमा कुन–कुन गुण हेर्न चाहन्छिन् भनेर सोधिएको प्रश्नमा नोराले कैयौँ विषयमा आफ्नो सोच्ने तरिका पूर्णरूपमा बदलिएको भए पनि प्रेम र विवाहबारे धारणा पुरानो धारणा रहेको अनि बिहे गरेर घर बसाउन चाहेको बताएकी थिइन् ।

‘म भगवान्प्रति विश्वास गर्ने जीवनसाथीको खोजीमा छु’, उनले भनेकी छन् । अझ अगाडि नोरा भन्छिन्, ‘मेरो लागि पैसा पछिको कुरा हो । त्यो भन्दा पहिले व्यक्तिको मन राम्रो हुन जरुरी छ । साँच्चै भन्ने हो भने आजको संसारमा स्वार्थी मानिसहरू धेरै छन् । यिनीहरू अरूबाट फाइदा लिन खोज्छन्, फाइदा मिल्दासम्म केही वर्ष सँगै बस्छन् अनि जान्छन्’, नोराले भनेकी छन् ।
नोरा फतेही बिहे गरेर घरजम बसाउन तयार छिन् । नायिका भन्छिन्, ‘चार–पाँच वर्षअघि जीवनसाथीबारे मेरो विचार निकै सतही थिए । अहिले म धेरै फेरिएको छु । एक आदर्श व्यक्तिबारे फरक दृष्टिकोण विकास भएको छ ।’

पहिले आफूले गलत चीजहरू खोजिरहेको पनि उनले बताइन् । यतिबेलाचाहिँ उनी एउटा इमानदार जीवनसाथीको खोजीमा छिन्, जो सुन्दर पनि होस् । नोरा हालै कमेडी फिल्म ‘मडगाउँ एक्सप्रेस’मा देखिएकी थिइन् । यो फिल्ममा उनको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया