हवाई उडान थपौँ, पर्यटक बढाऊँ !

चीन र भारतका प्रमुख सहरहरूमा दैनिक कम्तिामा चार, पाँचपटक हवाई उडान गर्न नसकेसम्म विदेशी पर्यटकको संख्या वार्षिक रूपमा १७–१८ लाख पुग्न पनि मुस्किल पर्ने देखिन्छ । त्यसैले साँच्चै र व्यवहारमै वार्षिक रूपमा २५, २६, ३० लाखदेखि ३५ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भित्र्याउने हो भने एउटा कुराको हेक्का राख्नै पर्छ । अर्थात कम्तिमा पनि मुख्य सिजनमा मासिक तीन लाख र अन्य सिजनमा मासिक दुई लाख पर्यटक भित्र्याउनै पर्ने हुन्छ । अहिलेको हवाई यातायातको अवस्था हेर्दा यो कुरा संभव हुने देखिँदैन ।

निनाम लोवात्ती

अहिले हाम्रो देशमा मुख्य पर्यटकीय सिजन सुरु भएको छ । किनभने नेपालमा मुख्य गरेर दुई सिजनमा विदेशी पर्यटकहरू अलि बढी संख्यामा आउने गरेका छन् । जस्तै चैत महिनाको पहिलो सातादेखि जेठको मध्यसम्म र असोज महिनाको मध्यदेखि मंसिर महिनाको अन्तिमसम्म नेपालमा विदेशी पर्यटकहरू अन्य महिनाहरूमा भन्दा बढी संख्यामा आउँछन् नेपाल भ्रमण गर्नका लागि । अझ सो समयमा नोपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूको संख्यामा पनि छुट्याएर हेर्दा पर्वतारोहण र पद यात्रा गर्नका लागि धेरैजसो पर्यटकहरू नेपाल आउने गरेका छन् ।

अहिलेसम्म नेपालमा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक आएको भनेको ‘सन् २०१९ र सन् २०१८’ मा हो । स्मरण रहोस्, सन् २०१९ मा हालसम्मकै धेरै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । तथ्यांकअनुसार सो वर्ष ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०१८ मा चाहिँ ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण आएका थिए । सन् २०१८ मा नेपाल भ्रमण गर्न आएका ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकहरूको संख्या भनेको अघिल्लो वर्ष अर्थात् सन् २०१७ को तुलनामा २४ दशमलव ८ प्रतिशतले बढी संख्या रहेको थियो । हुन त सन् २०२३ मा पनि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० नाघेको छ । याद रहोस् कि, सन् २०२३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या १० लाख १४ हजार ८७६ जना पुगेको छ । जुन संख्याले हामी नेपालीहको मनमा एककिसिमको खुसीको बहार ल्याएको छ । तथ्यांक हेर्दा सन् २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बर महिनामा भन्दा अलिक राम्रै संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरे । त्यसैले गर्दा सन् २०२३ मा सहज रूपमा १० लाखभन्दा बढी विदेशी पर्यटकको आगमन भयो ।

त्यस्तै गरेर सन् २०१७ मा ९ लाख ४० हजार २१८ जनाले विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन्् अघिल्लो वर्ष अर्थात् सन् २०१६ को तुलनामा २४ दशमलव ८ प्रतिशतले बढी संख्या रहेको थियो । रोचक के छ भने नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या वृद्धि दर सन् २०१७ र सन् २०१८ मा बराबर रहेको थियो । सन् २०१६ मा ७ लाख ५३ हजार दुई जना विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका थिए । त्यस्तै सन् २०१५ मा केबल ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए । त्यसको खास कारण नेपालमा भूकम्प जानु र भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाउनुरहेको थियो ।

हुन पनि सो वर्ष विदेशी पर्यटकको आगमन दर ठूलो पैमानामा कमी आयो । अर्थात् एकैचोटी लगभग एकतिहाइले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या घटेको थियो । हुन पनि तथ्यांककै आधारमा भन्नुपर्दा सन् २०१५ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१४ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तुलनामा माइनस ३१ प्रतिशतले कमी रहेको थियो । सन् २०१४ मा भने ७ लाख ९० हजार ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सो संख्या सन् २०१३ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्याको तुलनामा शून्य दशमलव नौ प्रतिशतले मात्रै कमी रहेको थियो । सन् २०१३ मा ७ लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकहरूले नेपालको भ्रमण गरेका थिए ।

यो तथ्यांक हेर्दा सन् २०१३ र सन् २०१४ मा (दुई वर्ष नै) लगभग हाराहारी संख्यामा विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको देखिन्छ । तर, सन् २०१२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यासँग तुलना गरेर हेर्दा शून्य दशमलव सात प्रतिशत कमी रहेको थियो । तथ्यांकअनुसार सन् २०१२ मा ८ लाख ३ हजार ९२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो भनेको सन् २०११ को तुलनामा ९ दशमलव १ प्रतिशतले बढोत्तरी हो ।

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्य–तथ्यांक विश्लेषण गर्दा सन् २०१३ देखि सन् २०२३ को ११ वर्ष लामो अवधिमा बल्ल ७२ लाख चानचुन पुगेको देखिन्छ भने उनीहरूको नेपाल बसाई अवधि खासै घटबढ भएको छैन । अर्थात् नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको प्रति दिनप्रति व्यक्ति बसाई अविध सन् २०१३ मा १२ दशमलव ६ दिन, सन् २०१४ मा १२ दशमलव ४४ दिन, सन् २०१५ मा १३ दशमलव १६ दिन, सन् २०१६ मा १३ दशमलव ४ दिन, सन् २०१७ मा १२ दशमलव ६ दिन, सन् २०१८ मा १२ दशमलव ४ दिन, सन् २०१९ मा १२ दशमलव ७ सन् २०२० मा १५ दशमलव १ दिन, सन् २०२१ मा १५ दशमलव ५ दिन र सन् २०२२ मा १३ दशमलव १ दिन रहेको देखिन्छ । तर, सन् २०२३ को भने प्रतिव्यक्ति प्रतिदिन कति दिन बसे ? भन्ने तथ्यांक आइसकेको छैन ।

सरकार र निजी क्षेत्रका पर्यटन उद्योगी–व्यवसायीहरूले विगत १०–११ वर्षदेखि वार्षिक रूपमा नेपालमा कम्तिमा पनि १०–१२ लाखदेखि १५ लाखसम्म विदेशी पर्यटक भित्र्याउने घोषणा गर्दै आएका थिए । त्यस्तै गरेर बितेको चार–पाँच वर्षदेखि त वार्षिक रूपमा २५, २६, ३० लाखदेखि ३५ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा हुन थालेको देखिन्छ । नेपालका निजी क्षेत्रका पर्यटन व्यवसायी तथा उद्योगीहरूले वार्षिक १२, १३, १४, १५ लाख होइन वार्षिक रूपमा २५, २६ ३०, ३५ लाख विदेशी पर्यटकहरू नेपाल भित्र्याउने घोषणा गर्न र लक्ष्य लिन थालेका छन् । यथार्थचाहिँ कस्तो छ भने नेपालले जतिसक्दो चाँडो धेरै देशहरूसँग अन्तर्राष्ट्रिय हवाई सेवा स्थापना नगरेसम्म, धेरैभन्दा धेरै देशहरूमा (जस्तै चीन र भारतका प्रमुख सहरहरूमा दैनिक कम्तिमा चार–पाँचपटक) हवाई उडान गर्न नसकेसम्म विदेशी पर्यटकको संख्या वार्षिक रूपमा १७–१८ लाख पुग्न पनि मुस्किल पर्ने देखिन्छ । त्यसैले साँच्चै र व्यवहारमै वार्षिक रूपमा २५, २६, ३० लाखदेखि ३५ लाखसम्म विदेशी पर्यटकहरू नेपाल भित्र्याउने हो भने एउटा कुराको हेक्का राख्नै पर्छ । अर्थात कम्तिमा पनि मुख्य सिजनमा मासिक तीन लाख र अन्य सिजनमा मासिक दुई लाख पर्यटक भित्र्याउनै पर्ने हुन्छ । अहिलेको हवाई यातायातको अवस्था हेर्दा यो कुरा संभव हुने देखिँदैन ।

त्यसैले नेपालले तत्कालै विदेशी हवाई उडानका लागि खास गरिकन युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, अफ्रिका विभिन्न देशहरूलगायत एसियाका जापान, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, बर्मा, चीन (हवाई उडान अरू थप्ने), भारत (हवाई उडान अरू थप्ने), रुस, साउदी अरब, कतार, कुवेत, बहराई, युनाइटेड अरब इमिरेट्स (युएई), श्रीलंका, किर्गिस्तान, अजरबैजान, हङकङ (हवाई उडान अरू थप्ने), मकाउ आदिमा हवाई उडान सञ्चालन गर्न सकेदेखि नेपालमा अवश्य नै वार्षिक रूपमा २१, २३ लाख विदेशी पर्यटक भित्र्याउन खासै गाह्रो पर्दैन । साथै नेपालका ग्रामीण सडक यातायातलाई पनि जतिसक्दो छिटो स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया