सुरुआती दिनका ती भारतीय फिल्म

नयाँ दिल्ली । भारतमा सिनेमाको सुरुवात सन् १९१३ बाट भएको मानिन्छ । ऐतिहासिक दस्ताबेज अनुसार दादा साहेब पाल्खेले बनाएको राजा हरिसचन्द्र नै भारतको पहिलो चलचित्र मानिन्छ । सत्यवादी राजा हरिसचन्द्रको कथामा सो चलचित्र आधारित थियो । त्यस समयमा फिल्म भन्दा बढी नाटक झैँ लाग्ने भारतीय चलचित्रमा पौराणिक कथाहरूको प्रयोग भएको हुन्थ्यो । त्यसको केही दशक पछि नै भारतमा सिने क्षेत्रले नयाँ बाटो लिएको थियो । बिस्तारै समाजको प्रभावमा मात्र सिनेमा बन्न थालेनन्, फिल्मले समाजलाई प्रभाव पार्न थाले । चर्चित कवि, नाटककार तथा नाट्य निर्देशक बार्टलोट ब्रेचले भन्ने गरेका थिए, ‘कला समाजको ऐना मात्र होइन । यो एउटा ह्यामर पनि हो, जसले यसलाई रूप दिन सकोस् ।’

उनकै विचारमा फिल्मले समाज सुधारका लागि चेतना पनि जगाउने काम गर्नै पर्छ । उनले भने जस्तै भारतीय सिनेमाको बाटो पनि समाजलाई पथ प्रदर्शन गर्ने बाटोमा लागेको थियो ।

सन् १९४० को दशक संसार नै राजनीतिक प्रभावमा थियो । समाचारका विषय र चासोको विषय राजनीति थियो । दोस्रो विश्व युद्धको प्रभाव संसार भरी थियो । त्यस पछि नै स्वतन्त्रता सङग्राम र आन्दोलन फिल्म उद्योगमा प्राथमिकताका विषय बनेका थिए । सन् १९४० मा राम दर्सायानीको हिन्दुस्तान हमाराबाट सुरु भएको क्रमलाई सैलेन घोषले ‘अमर आसा ’बनाएर निरन्तरता दिएका थिए । यसै गरी, सन् १९४३ मा नजबुल हसनको नयाँ तराना रिलिज भएको थियो ।
यस पछि नै प्रेम कथामा आधारित चलचित्र क्रम सुरु भएको थियो । सन् १९४२ मा अमिया चक्रवर्तीको वसन्त र सन् १९४४ मा रिलिज भएको एम सादीकको रतन यसैका उदाहरण हुन् । यो क्रमको सुरुवात हुने वित्तिकै सन् ४० को दशकको सबैभन्दा लोकप्रिय भारतीय चलचित्र किस्मत थियो ।

रमेश साइगलको सहिद पनि त्यस समयमा लोकप्रिय भएको थियो । स्वतन्त्रता पछिको वर्ष सन् १९४८ मा यो फिल्म रिलिज भएको हो । सन् १९५१ मा रिलिज भएको राज कपुरको आवारा र सन् १९५५ मा रिलिज भएको श्री ४२० दुवै ब्लकबस्टर भएका थिए । यी दुवै चलचित्रले भारतीय समाजका नकारात्मक पाटोलाई उजागर गर्दै सुधारको बाटोमा लाग्न प्रेरित गरेका थिए । गुरु दत्तको प्यासाले स्वतन्त्रताको पूर्ण उपयोग गरेको थियो । सोही चलचित्रको गीतमा भारतीय नेताहरूको व्यापक आलोचना भएको थियो ।

मेहबुबको मदर इन्डिया सन् १९५७ मा रिलिज भएको थियो । त्यसले पनि राष्ट्रवादी सोचलाई प्राथमिकता दिएको थियो । विमल रायको निर्देशनमा बनेको दो बिघा जमिन सन् १९५३ मा रिलिज भएको थियो । यस फिल्ममा भारतका सामान्य नागरिकले शासकबाट भोग्नु परेको पिडालाई सम्बोधन गरिएको थियो । केन्स फिल्म भेस्टीबलमा समेत यसलाई विशेष सम्बोधन भएको थियो ।

त्यस पछि भारतमा सामाजीक परिवेशमा आधारित फिल्मले प्रश्रय पाउन थालेका थिए । सन् १९५९ मा रिलिज भएको सुजाताले नयाँ तरंङ्ग ल्याएको थियो ।

भि सन्तरामको ‘ दो आँखे बराथ हाथ ’१९५७ मा रिलिज भएको थियो । अपराधीको पुन शुद्धीकरणको विषयमा त्यस चलचित्र बनेको हो । त्यस चलचित्र बर्लीन फिल्म फेस्टीबलमा बेस्ट पिक्चर अवार्ड तथा सामुयल गोल्डविन अन्तर्राष्ट्रिय फिल्म फेस्टीबलमा उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मका लागि मनोनयनमा पर्न सफल भयो । त्यो दशक नै भारतीय सिने उद्योग राजनीति केन्द्रित नभई समाज केन्द्रित भएको थियो ।

सन् १९६० को दशक भारतीय सिने उद्योग रोमान्स केन्द्रित थियो । के असीमको नाटक मुगल इ आजाम सन् १९६० मा फिल्मको रूपमा प्रस्तुत हुँदा ५ करोड रुपैयाँ कमाउन सफल भएको थियो । यस पछि लगातार लामो समय प्रेम कथामा आधारित चलचित्रले नै बजारमा प्रभाव जमाए । त्यसै दशकमा राजेश खन्ना स्टारको रुपमा उदाएका थिए ।

राजेश खन्नाले सन् ७० को दशकमा वर्षको पाँच वटाको दरले फिल्ममा काम गरेका थिए । यसै दशकमा अमिताभ बच्चन सुपर स्टारको रूपमा स्थापित भए । सुपर हिट फिल्म आनन्द सन् १९७१ मा रिलिज भएको थियो । यसै गरी, सन् १९७३ मा जन्जिर,१९७५ मा दिवार र सोले उत्तिकै सफल भए ।

सन् १९८० को दशकमा रगिंन टेलिभिजनको सुरुवात भए पछिको समय भारतीय फिल्म उद्योगका लागि सुखद बनेन । दर्शकको रुचि टेलिभिजनमा बढे पछि नयाँ ढंगले सोच्न निर्माता र निर्देशक बाध्य भएका थिए ।

सन् १९९० को दशकमा ठुलो लगानीको फिल्म बन्न सुरु गरे । धर्म प्रोडक्सनको कुछकुछ होता हे बाट सुरु भएको यो क्रम हम आपके हे कौनमा आइपुग्दा हलचल नै ल्याएको थियो । सन् १९९४ मा त्यस फिल्मको निर्माण मूल्य ६९ दशमलव ७५ करोड थियो ।

सन् २००० को दशकको ड्रामा खालको फिल्मले फेरी प्राथमिकता पाए भने पछिल्लो दशकमा ड्रामा र रोमान्सका साथै अत्याधुनिक प्रविधिको व्यापक प्रयोग भए । यो लामो युगमा धेरैले प्राचिन सभ्यता, सामाजी सामाजीक जीवन र स्वतन्त्रताको कथा बुनिएको समयको फिल्म नै मन पराउने् गरेका छन् ।

प्रतिक्रिया