आजदेखि मिस नेपाल २०२४ को अडिसन

काठमाडौं । मिस नेपाल २०२४ को यात्रा भरतपुरदेखि सुरु भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले क्षेत्रीय अडिसनको थालनी शुक्रबार भरतपुरबाट हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह पनि सहभागी थिए । निर्देशक क्षेत्रीले आवेदन खुला भएको जनाउँदै योग्य र इच्छुक युवतीलाई प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरे । व्यक्तित्व विकास र सशक्तीकरणका लागि मिस नेपालजस्ता प्लाटफर्मले भूमिका खेल्ने उनले बताए ।

मिस नेपाल सृच्छा र मिस इन्टरनेसनल प्रसिद्धिले अनुभव सुनाउँदै प्रतिस्पर्धामा आउन युवतीलाई आग्रह गरे । शुक्रबार अडिसन हुने र छुटेकाले मे १८ मा काठमाडौंमा हुने अडिसनमा सहभागी हुन पाउने हिडन ट्रेजरले जनाएको छ । १७ अप्रिलमा पोखरा, २२ अप्रिलमा नेपालगन्ज, २४ अप्रिलमा सुर्खेत, २८ अप्रिलमा वीरगन्ज, ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी, १२ मेमा भैरहवा र १८ मेमा काठमाडौंमा अडिसन हुँदैछन् । १४ मे (जेठ १ गतेसम्म) इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदै छ ।

प्रतिक्रिया