प्रकाश सपुतले बसन्त निर्माण गर्ने

काठमाडौँ । चर्चित गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापालगायतको उपस्थितमा फिल्म घोषणा भएको हो ।

फिल्ममा कथा, संगीत र निर्देशन प्रकाशकै रहनेछ । फिल्मको आगामी भदौदेखि सुटिङ थालिनेछ । प्रकाश आफैँ मुख्य भूमिकामा देखिनेछन् भने नायिकामा स्वस्तिमा खड्का हुनेछिन् । फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको समेत अभिनय रहनेछ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । फिल्म २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।

कार्यक्रममा कोर्ड अध्यक्ष केसीले प्रकाशले आगामी दिनमा फिल्म क्षेत्र हाँक्ने क्षमता आफूले देखेको बताए । उनले फिल्म निर्देशमा चुनौती धेरै भएको उल्लेख गर्दै डटेर सामना गर्न प्रकाशलाई सुझाए । भुवनले कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काको पनि तारिफ गरे । उनले खड्का आफ्नो मनपर्ने अभिनेत्री भएको बताए । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष थापाले प्रकाशलाई फिल्मी यात्राको शुभकामना दिइन् ।

प्रतिक्रिया