राजस्व मारा कानुनी प्रावधान हटाउन आजपाको भन्सार विभाग घेराउ

मधेस ब्युरो । आम जनता पार्टी (आजपा)ले बुधबार भन्सार विभाग घेराउ गरेको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत रकम सूचकलाई दिइने प्रावधानविरुद्ध आजपाले चौथो चरणको आन्दोलनअन्तर्गत गर्दै बुधबार भन्सार विभाग घेराउ गरेको हो ।
प्रभु साह नेतृत्वको आजपाको भ्रातृ संगठन आम सम्पर्क मञ्चले गत वैशाख १२ गते भन्सार विभागमार्फत सरकारलाई बुझाएको सचेतनापत्रमा घोषित कार्यक्रमअनुसार भन्सार विभाग घेराउ गरेको हो ।

भन्सार कानुनमा रहेको प्रावधानले डिउटीमै रहेका प्रहरी, सशस्त्र प्रहरी र कर्मचारी मिलेर ४५ प्रतिशत राजस्व लिँदै आएको आजपाको आरोप छ । यही प्रावधानलाई आजपाले लुटकारी प्रावधान र राजस्व मारा कानुनी प्रावधान भन्दै आएको छ । कानुन हटाउँदा निकै ठूलो परिमाणमा राजस्वमा वृद्धि हुने आजपाको ठहर छ ।
चौथो चरणको छैटौँ दिनको कार्यक्रममा आजपा तथा मञ्चका कार्यकर्ताहरूले भन्सार विभाग घेराउ गरेका थिए । गत ६ महिनादेखि संघर्ष गरिरहेको आजपाको कुरा सरकारले सुनिरहेको छैन । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद प्रभु साहले संसद्मा पनि आवाज उठाउँदै आएका छन् ।

आजपाले राजस्व मारा कानुन हटाउँदा देशको समृद्धिमा योगदान पुग्ने तर्क दिँदै आएको छ । भदौ महिनामा ज्ञापनपत्र बुझाएर सुरू गरिएको चरणबद्ध आन्दोलनमा नियमावली जलाउने, भन्सार नाकाहरूमा प्रदर्शन गर्ने र काठमाडौँमा मोटरसाइकल ¥याली निकाल्नेजस्ता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बुधबार भन्सार विभाग घेराउ कार्यक्रमको समापन गर्दै संघर्ष समितिको संयोजक रन्जुकुमारी साहले भनिन्, ‘यदि सरकार सुस्तश्रवण झैँ कानमा तेल हालेर यसरी बसिराख्यो भने बिहीबारदेखि आन्दोलन सशक्त हुनेछ र यसको जवाफदेही सरकार स्वयं हुनेछ ।

प्रतिक्रिया