फतुवा विजयपुर नपाको शिक्षामा चरम बेथिति

आफ्नो मानिस हेरीहेरी शिक्षकको तलब पठाउँदै प्रमुख प्रशासकीय अधिकृत

मधेस ब्युरो । रौतहटको फतुवा विजयपुर नगरपालिकाको शिक्षामा चरम बेथिति देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो मान्छे हेरीहेरी शिक्षकलाई तलब पठाउन थालेपछि शिक्षकहरू आक्रोशित बनेका छन् । आक्रोशित शिक्षकले कार्यालय प्रमुख पालको विरोधमा नगरका सबै विद्यालय ठप्प पारेका छन् ।

पालिकाका पूर्वशिक्षा संयोजक बुनिलाल राय यादवले नगरका अधिकांश शिक्षकले तलब खाए पनि अनुदानमा सञ्चालित ३ विद्यालयका शिक्षकहरू, शैक्षिक सुदृढीकरणअन्तर्गत कार्यरत ७ जना शिक्षकका साथै राहत र करार सेवामा कार्यरत १२ जना शिक्षकको तलब नगरपालिकाले नपठाएको बताएका छन् ।

कमजोर शिक्षकसित केही पाउने लोभले कार्यालय प्रमुख पालले तलब भत्ता नपठाएको भन्दै आक्रोशित सम्पूर्ण शिक्षकले नगरका सम्पूर्ण विद्यालय ठप्प पारेका छन् । राहत, करार तथा अनुदानमा सञ्चालित विद्यालयका शिक्षकबाट कार्यालय प्रमुख पालले बार्गेनिङ गरेको आरोप शिक्षकहरूले लगाएका छन् ।

शैक्षिक सत्र सुरु भएको १ महिना बित्न लाग्दा पनि कार्यालय प्रमुख पालले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा दिएका छैनन् । पाठ्यपुस्तकको रकमवापत कार्यालय प्रमुख पालले प्रअहरूसित अनौपचारिक रूपमा कमिसनको माग गरेको बुझिएको छ । यसैगरी गत साउन महिनादेखि विद्यालय खाजाको रकम पनि विद्यालयहरूमा पुग्न सकेको छैन ।

कार्यालय प्रमुख पालको नियत खराब भएको महसुस गरेपछि शिक्षकहरूले विद्यालय ठप्प पारी विरोध प्रदर्शन गरेका छन् । हजारौँ विद्यार्थीको पढाइ रोकिएपछि बुधबार शिक्षक र कार्यालय प्रमुखबीच वार्ता भएको छ ।

अहिलेसम्म रोकिएका शिक्षकको तलब, पाठ्यपुस्तक वापतको रकम र विद्यालयमा दिवा खाजाको रकम सबै एकसाथ आउँदो आइतबारसम्म विद्यालयका खातामा पठाउने प्रतिबद्धता पालले व्यक्त गरेका छन् । कार्यालय प्रमुख पालको प्रतिबद्धता आएपछि बिहीबारदेखि नगरका सबै विद्यालय सञ्चालनमा आउने भएको पूर्व शिक्षा संयोजक यादवको भनाइ छ ।

लामो समयदेखि विवादमा रहेको फतुवा विजयपुर नगरपालिकामा देखिएको शैक्षिक बेथितिबारे जवाफ दिन कार्यालय प्रमुख डराएका छन् । कार्यालय प्रमुख पाललाई मोबाइलमा सम्पर्क गर्दा फोन काट्ने गरेका छन् ।

महिनौँदेखि उधारोमा बालबालिकालाई खाजा खुवाएको तथा उधारोमा पाठ्यपुस्तक लिएर विद्यार्थीलाई वितरण गरिसकेका विद्यालयलाई पनि रकम भुक्तानी गर्न आनाकानी गरिरहेका कार्यालय प्रमुख पालका कारण फतुवा विजयपरको शिक्षामा व्यापक बेथिति मौलाउँदै गएको छ । शिक्षामा सुधार गर्नुपर्नेमा कार्यालय प्रमुख पालले नगरको शिक्षालाई ध्वस्त बनाउँदै लगेको आरोप शिक्षकहरूको रहेको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया