विभिन्न ४२ विधामा ‘निम अवार्ड’ प्रदान र सम्मान

काठमाडौं । विभिन्न ४२ विधामा ‘सातौँ राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) प्रदान गरिएको छ । बिहीबार ललितपुरमा सम्पन्न भएको सो समारोहमा उक्त विधामा अवार्ड प्रदान गर्नुुका साथै यस वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोललाई सम्मानित गरिएको छ ।

पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डंगोललाई सो सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल ‘साउनको भेल जस्तो‘ प्रस्तुत गरिन् भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए ।

सोही समारोहमा संस्कृतिकर्मी चन्द्रकुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भएका छन् । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार राष्ट्रिय लाेक सञ्चारकर्मी नेपालका उपाध्यक्ष हरि दुलाललाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि एवं मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नुपर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रसंशनीय कार्य गर्दै आएको बताए । आयोजक पिम नेपालका अध्यक्ष माधवराज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै कार्यक्रममा भने,‘विगत ७ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलीने विभिन्न भाषाभाषिहरुमा बनेका गीत र गीतका भिडियोहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।’

यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो शृंखलादेखि नै आफू सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा स्वागत मन्तब्य शान्तिप्रिले व्यक्त गरेका थिए । कार्यक्रममा अवार्ड संयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डको बारेमा प्रकाश पारेकी थिइन् ।

सनम कठायतको व्यवस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माइला थिए । अवार्ड कार्यक्रममा नेपाल टेलिकम, नेपाल एयर लायन्स, कृषि विकास बैंक, एनएमवि बैक, टेन्सवर्क, गोकर्णेश्वर नगरपालिका लगायत संघ–संस्थाहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया