आयरल्याण्ड उल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं । काठमाडौंमा जारी टी– २० सिरिजअन्तर्गत आयरल्याण्ड ‘ए’ उल्भ्सले पहिलो खेलमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा नेपालले टस जितेर पहिला बलिङ गरेको थियो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ ले नेपाललाई जितका लागि २२३ रनको विशाल लक्ष्य दिएको थियो । आयरल्याण्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रन बनाएको हो ।

जितका लागि २२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।

लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९–३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औँ ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो । शेख अर्धशतक बनाउन चुके । देव खनाल, रासिद खान, कमल ऐरि, हेमन्त धामी शून्यमा पेभेलियन फर्किए।

त्यसअघि ओपनिङमा आएका कप्तान विनोद भण्डारी १६ रनमा बोल्ड आउट भए । अर्जुन घर्ती ३ रनमा पेभेलियन फर्किए । त्यसअघि आयरल्याण्डका लागि पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा चार चौका र दुई छक्कासहित ३४ रनमा आउट भए ।

निल रक २३ बलमा एक चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा दुई चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होइले ६ बलमा दुई छक्कासहित १८ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान एक–एक विकेट लिए । नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

यसअघि सिरिज बिहीबार सुरु हुने तालिका थियो । तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिका अनुसार नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्स ‘ए’ ले शुक्रबार पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

प्रतिक्रिया